रित्तिँदै गाउँबस्ती, सहाराविहीन बन्दै बुढापाका (भिडिओ)

काठमाडौं । पुरानो शैलीमा निर्माण गरिएको ढुङ्गाले छाएका दुईतले लहरै घरहरू । जहाँ आधुनिक भौतिक पूर्वाधारको सुविधा छैन । लस्करै एकै डिजाइनमा बनाइएको घर हेर्दा सुन्दर देखिन्छ । तर, यहाँको जीवन भोगाइ भने घरहरुजस्तै सुन्दर छैन ।

अहिले भौगोलिक रुपमा दुर्गम र सुविधा युक्त नभएको गाउँको रुपमा चिनिने भानु नगरपालिकाको वडा नं.५ तनहुँको मैबल हटिया जुन अहिले रित्तिँदै गएको छ ।

कुनै दिन नेवारको बाक्लो बस्ती रहेको यस ठाउँमा पहिले ७ सय भन्दा बढी घरधुरी रहेका थिए । अहिले भने यस ठाउँमा ३ सय भन्दा पनि कम घरधुरी भएका छन् । बसाइसराइ र उच्चशिक्षा अनि रोजगारीका सिलसिलामा बाहिर जानाले यस गाउँ युवा विहीन हुन पुगेको छ ।

यातायातको सुविधा भएता पनि अन्य सुविधा भने नभए पछि यहाँका मानिसहरु गाउँ छाडि सुविधा खोज्न बसाइ सर्ने गरेका छन् । बिरामी हुँदा वा उच्च शिक्षा हासिल गर्न यहाँका मानिसहरु सहर नै जानु पर्ने हुन्छ ।

त्यसैले यहाँका मानिसहरु सुख र सुविधा खोज्न घर जग्गा बाँझै छाडेर सहर गएका छन् । विद्यार्थी नभए पछि यहाँको आधारभूत तहको स्कुल पनि पुर्णरुपमा बन्द भइसकेको छ ।

मानिस नभएका कारण यहाँका घरहरू भत्किएका छन् । यहाँका मानिसहरूलाई केही सामानहरू चाहिएमा पनि बजार झर्नु पर्ने हुन्छ । स्वास्थ्य सुविधा पनि छैन । बिरामी भईहालियो भने पनि सदरमुकाम दमौली जानु पर्छ । यस विषयमा यहाँका जनप्रतिनिधिहरूले भने खासै चासो राखेको छैनन् ।

सहाराविहीन बन्दै बुढाबुढी
छोराछोरी नातानातिनीको साथ चाहिने उमेरमा बूढाबूढीहरू सहाराविहीन बनेका छन् । पहिले एउटै घरको सदस्य ९-१० जना हुने गर्थ्यो अहिले भने दुई जना हुन पनि मुस्किल भएको स्थानीय ९० वर्षीय शम्भुलाल श्रेष्ठ बताउँछन् । उनको परिवारमा पनि कुनै समय ८ जना सदस्य हुने गर्थे ।

बिस्तारै छोराछोरीको विवाहपछि परिवार पनि घट्दै गएको उनी बताउँछन् । ‘छोरीहरूको विवाह पछि ३ भाई छोराहरू पनि विवाह पश्चात् छुटिएर सहरमा घरजम घरी बसेका छन् । नातिनातिनीहरू पनि विदेश पढ्न भनी गएका छन् । मलाई हेरचाह गर्न भने माइलो छोरा गाउँमै बसेको’ उनले भने । पहिलेका पलहरू उनी धेरै सम्झने गर्छन् ।

परम्परा रीतिरिवाज धर्म संस्कृति जगेर्ना गर्ने मान्छे र पूख्र्यौलि थलो सम्हाल्ने मान्छे समेत नभएको श्रेष्ठ बताउँछन् । उनले भने, ‘पहिले चाडपर्वमा विभिन्न कार्यक्रम गरिन्थ्यो धेरै मानिसहरु हुने गर्थे । टाढाटाढा गाउँका मानिसहरु पनि जात्रा हेर्न भनी आउने गर्थे । हरेक पर्वहरू रमाइलो गरी मनाइन्थ्यो । अहिले भने चाड पर्व मान्न मानिसहरु पनि कमै छन् । चाडपर्वमा पनि गाउँ सुनसान हुन्छ । आधारभूत सेवाहरू नभए पछि यहाँका मानिसहरु उतै कमाउने रमाउने घर बसाल्न थालेका छन् । असुविधाका कारण गाउँ सम्झिएर कोही फर्किन मान्दैनन् ।’

उनकाअनुसार अहिले जताततै सुनसान देखिन थालेको छ । ‘नागरिकता लिन पनि भिड हुने गर्थ्यो कुनै समय । अहिले बसाइसराई अन्यत्र भएपछि मान्छे नै देख्न छोडियो । दुख विराम हुँदा पनि हेरचाह गर्ने धेरै हुन्थे, छरछिमेकी पनि आपसमा सहयोगी भाव भएका थिए । अहिले नयाँ पुस्ताहरू यहाँ बस्न मान्दैनन् त्यसैले पैसा कमाउने बिहे गरेपछि सहर घरजम गरी बस्छन् । युवाहरू नभए पछि हामी बुढापाकाहरूले मात्र गाउँ कुरेका छौं । पहिले जस्तो अहिले छैन मानिसहरु गाउँ छोड्न थाले पछि यहाँको अवस्था अस्त व्यस्त छ,’ श्रेष्ठ भन्छन्, ‘पहिले एकै परिवारमा धेरै जान सदस्य हुने गर्थे अहिले दुई जना हुन पनि गाह्रो छ । धेरै जसो घर त रित्तो नै भएको छ । यहाँको असुविधा भनेको यहाँ उच्च मा।वि अस्पताल नभएर पनि हो । यहाँको मानिसहरु उच्च शिक्षाको लागि बाहिर जानु पर्ने हुन्छ । बिरामी परेमा पनि सदरमुकाम जानु पर्छ । यसले गर्दा गाउँमा मानिसहरु घट्दै गएका छन् । श्रीमान् विदेश गएका महिलाहरू पनि यहाँ बस्न मान्दैनन् । छोराछोरी पढाउने सिलसिलामा उनीहरु पनि सहर जाने गर्छन् ।’

यस क्षेत्रमा आफ्नो छुट्टै सांस्कृतिक परम्परा रहेको छ । घुम्नको लागि पर्यटकीय क्षेत्र कोट गाउँ जहाँबाट बन्दिपुर जस्ता सुन्दर दृश्य देख्न सकिन्छ । भौगोलिक क्षेत्रको असुविधा भएता पनि पर्यटन क्षेत्र रहेको यस ठाउँ धेरै चर्चित भने छैन । स्थानीय सरकारको पहल र सहयोगमा यस क्षेत्रको विकास भने गर्न सकिने स्थानीयवासीहरूकाे गुनासो छ ।

भिडियो :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *