खबर दिनभर : प्रधानमन्त्री थाइल्याण्ड भ्रमणमा, बालेनको टुकुचामा गाड्ने ‘अल्टिमेटम’ सकियो


प्रधानमन्त्री ओली थाइल्यान्ड प्रस्थान
प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्ड प्रस्थान गरेका छन् ।
औपचारिक भ्रमण र बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली आज थाइल्यान्डको बैंकक तर्फ प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री ओली थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा गएका हुन् ।
ओली थाइल्यान्डको औपचारिक भ्रमण गर्ने पहिलो प्रधानमन्त्री समेत हुन् । प्रधानमन्त्री ओली २३ चैतमा स्वदेश फर्किनेछ ।
राजावादी प्रदर्शनमा ज्यान गुमाएका महर्जनको गरियो अन्तिम दाहसंस्कार
काठमाडौंको तीनकुनेमा राजावादीले गरेको प्रदर्शनमा मृत्यु भएका सविन महर्जनको अन्तिम दाहसंस्कार गरिएको छ ।
त्रिवि शिक्षण अस्पतालमा कीर्तिपुर घर भएका महर्जनको शव मंगलबार पोस्टमार्टम गरिएको थियो । लगत्तै परिवारले उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरेको हो ।
पोस्टमार्टमको क्रममा उनको शरीरिमा गोली लागेको थियो ।
पोस्ट कोभिड पीडित सांसद दीपक बोहराको निधन
प्रतिनिधि सभा सदस्य दीपक बोहोराको निधन भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का वरिष्ठ नेता र पूर्वमन्त्री सांसद बोहरा काठमाडौंको ओम अस्पतालमा निधन भएका हुन् ।
स्वकीय सचिव तारामणि चन्दकाअनुसार उनको उपचारको क्रममा निधन भएको हो । दीपक बोहरा कोरोना महामारीको दोस्रो लहर ९जेठ २०७७०मा संक्रमित भएका थिए, जसको कारण उनले लामो समयदेखि पोष्ट कोभिड समस्याहरू भोगिरहेका थिए । संक्रमित भएसँगै उनका स्वरमा पनि परिवर्तन आएको थियो ।
पछि, उनी दिल्लीमा उपचारका लागि पुगेका थिए, जहाँ चिकित्सकहरूले उनलाई घाँटीको समस्याबारे जानकारी दिएका थिए । त्यसपछि, उनी न्यूयोर्कमा थप उपचारका लागि गएका थिए, र त्यहाँ स्पीच थेरापी गरिरहेका थिए । पोष्ट कोभिडका कारण उनका घाँटीमा क्यान्सरको समस्या उत्पन्न भएको थियो ।
जसकारण उनी बोल्न नसक्ने अवस्थामा थिए । चुनावको समयसमेत उनले नबोली केवल अरूका माध्यमबाट आफ्ना विचार राख्ने गरेका थिए । उनले रुपन्देही क्षेत्र नम्बर १ बाट ०६९ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणलाई पराजित गरेका थिए ।
कुलमान र हितेन्द्रदेवको रिटमा आएन आदेश, हेर्दाहेर्दैमा राखियो
कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट हेर्दाहेर्दैमा राखिएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको मंगलबारको इजलासमा दुवैका रिटमाथि सुनुवाइ भएको थियो ।तर, सुनुवाइ नसकिएपछि दुवै रिट हेर्दाहेर्दैमा राखिएको छ ।घिसिङ र शाक्यको रिटमा आइतबार पनि पेशी तोकिएको थियो । तर, सुनुवाइ हुन सकेको थिएन ।
घिसिङले आफ्नो पदाधिकार बाँकी छँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै थमौतीको अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन् ।शाक्यले भने चार वर्षअघि आफूलाई निकालेर घिसिङको नियुक्ति नै गलत भएको भन्दै त्यतिबेला रिट दायर गरेका थिए ।
कुलमानलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएपछि सडक र सदनमा सरकारको विरोध समेत गरिएको थियो ।
तीनकुने घटनामा संलग्न थप १८ जना पक्राउ, अनुसन्धान गर्न अदालतको अनुमति
गत शुक्रबार काठमाडौंको तीनकुने लगायत ठाउँहरुमा राजावादीले गरेको प्रदर्शनमा आपराधिक गतिविधि गर्ने थप १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार प्रहरीले पक्राउ पर्नेहरुको नामावली सार्वजनिक गरेको छ ।
काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गरी राज्य विरुद्दको कसूर, आपराधिक उपद्रव लगायतका अपराधमा संलग्न १८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले बताए ।
शिक्षकहरूद्धारा अनिश्चितकालीन आन्दोलन घोषणा
नेपाल शिक्षक महासंघले बुधबारदेखि अनिश्चितकालीन सडक आन्दोलन गर्ने भएका छन् । महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेको हो ।
महासंघ माघ २० गतेबाट आन्दोलनमा जाने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।
उनले स्थायी, राहत, साविक उमावि, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायीरकरार, प्राविधिक धार, विशेष शिक्षा तथा संस्थागत विद्यालय लगायत सबै प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीका सबै समस्या समाधान गरी गुणस्तरीय विद्यालय शिक्षाको प्रबन्धका पक्षमा स्पष्ट मार्ग निर्माण गर्न सक्ने नयाँ विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने समेत बताए ।
यसअघि नै क्षिकहरूले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण नगर्ने घोषणा गरिसकेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह ठूला व्यापारी हुन् : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाह नेपालका ठूला व्यापारी भएको बताएका छन् ।
मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरुसंग संवाद गर्दै गर्दै उनले ज्ञानेन्द्र शाह नेपालका ठूला व्यापारीमध्ये एक भएको बताए ।
पत्रकारहरुसंगको कुराकानीमा अध्यक्ष नेपालले भने, ‘उहाँ नेपालका व्यापारीमध्ये ठूला व्यापारी हुनुहुन्छ, अरू होइन । राजा भनेको त्याग, तपस्या र बलिदान गरेर आउने आदर्श व्यक्ति हुनुपर्छ । कुनै महात्मा वा साधु हुनुपर्छ ।’
ज्ञानेन्द्र शाहमा राजा हुने गुण नभएको समेत उनले बताए । अध्यक्ष नेपालले राजावादीको आन्दोलन ‘ग्रान्ड डिजाइन’ अनुसार भएको समेत बताए ।
सांसद बोहोराको निधनमा राप्रपाले तीन दिन शोक मनाउने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभा सदस्य दीपक बोहोराको निधनमा तीन दिन शोक मनाउने भएको छ ।
राप्रपा केन्द्रीय पदाधिकारीको मंगलबार बसेको आकस्मिक बैठकले बोहोराको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
बोहोराको निधनमा तीन दिन शोक मनाउने, शोक प्रकट गर्न तीन दिन पार्टीको केन्द्रीय कार्यालय, जिल्ला र कमिटीगत कार्यालयहरूमा पार्टीको झन्डा आधा झुकाउने, तीन दिन कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय बैठकले गरेको श्रेष्ठले जानकारी दिए ।
राप्रपाका वरिष्ठ नेता समेत रहेका बोहोराको निधनबाट राप्रपा र नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको जारी विज्ञप्तिमा उल्लेख छ ।
सरकारले भन्यो – राजावादीको अराजक प्रदर्शनमा सहभागि नहुनुस्
राजावादीहरुको अराजक प्रदर्शनमा सहभागि नहुन आम नागरिकलाई सरकारले आग्रह गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय मंगलबार सार्वजनिक गर्दै सुचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले सो आग्रह गरेका गरेका हुन् ।
सरकारका प्रवक्ता समेत रहेका गुरुङले राजावादीको अराजक प्रदर्शनमा सहभागी नहुन आम नागरिकलाई बैठकले आग्रह गरेको बताए ।
उनले तीनकुनेमा शुक्रबार राजावादीले गरेको हिंसात्मक प्रदर्शनको बैठकले निन्दा गरेको जानकारी दिँदै घाइतेको शीघ्र उपचार र दोषीलाई कडा कारबाही गर्ने निर्णय गरिसकेको छ ।
गत शुक्रबार काठमाडौंका विभिन्न स्थानमा राजावादीहरुले प्रदर्शन गरेपछि एक पत्रकार सहित दुई जनाको मृत्यु भएको थियो ।
बालेनको टुकुचामा गाड्ने ‘अल्टिमेटम’ सकियो, पाएनन् ‘हाकिम’
‘अबको हएक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडिदिन्छु’,काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले एक हप्ताअघि सरकारविरुद्ध लेखेको फेसबुक स्टाटस हो, यो । एक साताभित्र प्रमुख प्रशासकीय अधिकृत पठाउन बालेनले अल्टिमेटम दिएका थिए ।
‘महानगरपालिकाको सरसफाई कर्मचारीले विगत तीन महिना देखी तलब पाको छैन, सरकारको दम्भले,’उनले गत सोमबार फेसबुकमा लेखेका थिए ।
मेयर बालनको उक्त चेतावनीयुक्त स्टाटस पोष्ट भएको एक साता पुगेको छ । तर, हालसम्म सरकारले प्रमुख प्रशासकीय अधिकृत पठाएको छैन । महानगर प्रमुख बालेनका स्वकीय सचिव भूपदेव साहले यसबारे संघीय सरकारबाट पहल नै नभएको बताए ।
सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय नभई प्रमुख प्रशासकीय अधिकृतको सरुवा नहुने बताउँदै आएको छ । हाल महानगरका प्रमुख प्रशासकीय अधिकृत बिदामा भएकाले पठाउन नमिल्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बताएको छ ।
यी हुन् देउवासहित प्रतिनिधि सभामा धेरै गयल हुने सात सांसदहरू
संघीय संसदको गत माघ १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशन आजदेखि अन्त्य भएको छ ।
हिउँदे अधिवेशनको अन्तिम बैठकमा सभामुख घिमिरेले सभामा १० पटक वा सोभन्दा बढी पटक अनुपस्थित हुने सांसदहरूको नाम सार्वजनिक गरेका छन् ।
यसरी धेरै अनुपस्थित हुनेमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा समेत रहेका छन् ।
देउवासहित अधिवेशन अवधिभर विभिन्न कारणहरू देखाउँदै सात जना सांसदहरू १० भन्दा बढी बैठकमा अनुपस्थित भएका छन् । सबैभन्दा बढी अनुपस्थित हुनेमा नेपाली काँग्रेसकी सांसद मनोरमा शेरचन रहेका छन् ।
थेरापी चलिरहेको कारण देखाउँदै उहाँ २७ बैठकमा अनुपस्थित रहेको सभामुख देवराज घिमिरेले जानकारी गराए । सभामुख घिमिरेकाअनुसार प्रतिनिधि सभा सदस्यहरू लिलादेवी बोखिम लिम्बू १४ दिन, सरस्वती बजिमय ११ दिन, रमेश रिजाल १२ दिन, दीपक बोहरा २१ दिन, शेरबहादुर देउवा ११ दिन र गीता बस्नेत २७ दिन बैठकमा अनुपस्थित रहेका छन् ।
संसदमा गयल हुने सांसदहरूमध्ये कोही स्वास्थ्य उपचार गराइरहेको र केही विदेश भ्रमणमा रहेको सभामुखले उल्लेख गरे । प्रतिनिधि सभाको मङ्गलवारको बैठकले सांसदहरूको बिदा स्वीकृत गरेको छ ।
तीनकुने घटनाबारे अनर्गल सामग्री नफैलाउन प्रहरीको आग्रह
काठमाडौंको तीनकुने क्षेत्रमा भएको प्रदर्शनको क्रममा केही हिंसात्मक घटनाहरू भएका समाचार आएका छन् । यस्तै क्रममा सामाजिक सञ्जालमा विभिन्न भ्रामक तथा अतिरञ्जित फोटो तथा भिडियोहरू प्रसारित भइरहेको भन्दै प्रहरीले त्यस्ता गतिविधि रोक्न आग्रह गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिल बोहराले एक सूचना जारी गर्दै अनधिकृत र गलत जानकारी फैलाउने सामग्रीहरूले समाजमा अन्योल, भय र भ्रम सिर्जना गर्न सक्ने भन्दै सचेत रहन अनुरोध गरेका छन् ।
प्रहरीले घटनाबारे छानबिन भइरहेको जानकारी दिँदै, यदि कसैसँग वास्तविक सामग्री भएमा जिल्ला प्रहरी परिसर, काठमाडौंको आधिकारिक फेसबुक पेज वा इमेल ठेगानामा पठाउन आग्रह गरेको छ । साथै, प्रहरी प्रशासनले गलत सूचना फैलिएर गलत धारणा बनाउन नदिन सबै पक्षलाई जिम्मेवार बन्न अनुरोध गरेको छ ।
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । नेप्से परिसूचक १६ दशमलव ९५ अङ्कले घटेर दुई हजार ६७६ दशमलव १७ विन्दुमा कायम भएको हो ।
आज ३२० कम्पनीका एक करोड छ लाख ७० हजार ६४९ कित्ता शेयर ५६ हजार ५४८ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ७९ करोड ७७ लाख ९१ हजार ७०० बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा व्यापार समूह तीन दशमलव ८० प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ ।
बैङ्किङ समूह शून्य दशमलव ७४, विकास बैङ्क शून्य दशमलव ९५, वित्त एक दशमलव ८४, होटल तथा पर्यटन एक दशमलव ७४, जलविद्युत् शून्य दशमलव ९९ र लगानी शून्य दशमलव ४४ प्रतिशतले घटेको छ ।
त्यस्तै, जीवन बिमा शून्य दशमलव ६३, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५२, लघुवित्त एक दशमलव १०, म्युचुअल फन्ड शून्य दशमलव शून्य दशमलव दुई, निर्जीवन बिमा शून्य दशमलव ३८ र अन्य समूह एक दशमलव ३९ प्रतिशतले घटेको छ ।
गार्डियन माइक्रोलाइफ इन्सुरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सबैभन्दा धेरै घट्नेमा भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पाँच दशमलव ५६ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स लिमिटेडको ६४ करोड २५ लाख ६६ हजार ६२२ बराबरका छ लाख २७ हजार ३०९ कित्ता शेयर किनबेच भएका छन् ।
नेपाली बजारमा सुन तोलाकै १ लाख ८० हजार नजिक
नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १८ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो ।
आज छापावाल सुनको मूल्य तोलाको १ लाख ७९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो । अघिल्लो कारोबार दिन सोमबार सुन तोलामा १ लाख ७७ हजार ९ सय रुपैयाँका कारोबार भएको थियो ।
चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी दुई हजार ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार पनि चाँदीको सोही मूल्यमा कारोबार भएको थियो ।
