पञ्जाबको अपराजित यात्रा जारी, लखनउको लगातार दोस्रो हार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ। मंगलबार राति सम्पन्न खेलमा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई आठ विकेटले पराजित गर्दै दोस्रो जित हात पार्‍यो। ओपनर प्रभसिमरन सिंह र कप्तान श्रेयस अय्यरको उत्कृष्ट प्रदर्शनले टिमलाई सहज जित दिलायो।

यो जितसँगै पञ्जाबले दुई खेलबाट चार अंक जोड्दै तालिकाको शीर्ष स्थानमा कब्जा जमाएको छ। पहिलो खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले पराजित गरेको थियो। यता, लखनउको भने लगातार दोस्रो हार दर्ता भएको छ। तीन खेल खेलिसकेको लखनउले दुई अंक मात्र बटुल्न सफल भएको छ।

लखनउले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्यो। भारतरत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियममा उसले २० ओभरमा सात विकेट गुमाउँदै १७१ रनको योगफल तयार गर्‍यो। टिमका लागि निकोलस पुरनले ४४ रन बनाउँदै सर्वाधिक योगदान दिए। आयुष बडानीले ४१ रन जोडे भने एडन माक्रराम (२८), अब्दुल समाद (२७) र डेभिड मिलर (१९) ले उल्लेखनीय योगदान दिए। अन्य ब्याटरले दोहोरो अंक पार गर्न सकेनन्।

पञ्जाबका बलर अर्शदीप सिंहले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिए। उनले चार ओभर बलिङ गर्दै ४३ रन खर्चिए। लोक्की फर्गुसन, ग्लेन म्याक्सवेल, मार्को जोन्सन र युजवेन्द्र चाहलले समान एकएक विकेट हात पारे।

१७२ रनको लक्ष्य पछ्याएको पञ्जाबले १६.२ ओभरमा मात्र दुई विकेटको क्षतिमा १७७ रन बनाउँदै सहज जित दर्ता गर्‍यो। टिमका ओपनर प्रभसिमरन सिंहले आक्रामक ब्याटिङ गर्दै ६९ रन जोडे। ३४ बलको सामना गरेका उनले नौ चौका र तीन छक्का प्रहार गरे।

कप्तान श्रेयस अय्यरले अन्तिम बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। लक्ष्य भेट्न मात्र एक रन बाँकी हुँदा उनले डट बल खेलेपछि अर्को बलमा छक्का प्रहार गर्दै नटआउट ५२ रन बनाए। उनले ३० बलमा तीन चौका र चार छक्का प्रहार गरे। अघिल्लो खेलमा उनी गुजरातविरुद्ध शतक बनाउन तीन रनले चुकेका थिए।

त्यस्तै, पञ्जाबका नेहाल भाधेराले ४३ रनको नटआउट योगदान दिए। उनले २५ बलमा तीन चौका र चार छक्का प्रहार गरे। प्रयान्स आर्य आठ रनमा आउट भए।

लखनउका बलर दिग्वेश राठीले चार ओभर बलिङ गर्दै दुई विकेट लिँदा ३० रन खर्चिए । तर, उनको प्रदर्शन टिमलाई जित दिलाउन पर्याप्त भएन । पञ्जाबको उत्कृष्ट प्रदर्शनले लिगमा उसको दबदबा कायमै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *