भाटभटेनीले सुरक्षा गार्ड पराजुलीलाई गर्यो पुरस्कृत, पाँच लाख नगद र पाँच ग्रेड बढुवा


काठमाडौं । भाटभटेनी सुपरमार्केटले गत चैत १५ गतेको लुटपाट घटनामा अद्भुत बहादुरी देखाएका सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई विशेष सम्मानका साथ पुरस्कृत गरेको छ । सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले एक कार्यक्रमबीच उनलाई ५ लाख १ हजार १ सय ११ रुपैयाँ नगद, एक फूली र पाँच ग्रेड बढुवा प्रदान गर्दै दुबोको माला लगाइदिएर सम्मान गरेका हुन् ।
पराजुलीले लुटपाट गर्ने दर्जनौँ व्यक्तिसँग एक्लै जुधेर सुपरमार्केट जोगाएका थिए । लिस्टीले लुटेराहरूलाई कुट्दै भगाएको उनको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनी सर्वत्र प्रशंसित बनेका छन् । २२ वर्षदेखि भाटभटेनीमा कार्यरत पराजुलीको साहसलाई ग्राहकदेखि सामाजिक सञ्जाल प्रयोगकर्तासम्मले खुलेर प्रशंसा गरिरहेका छन् ।
घटनाका क्रममा अन्य कर्मचारीहरूले पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए । सुरक्षा गार्ड सूर्य गिरी, दीपेश खड्का र सोमबहादुर भुजेललाई २५ हजार १ रुपैयाँ नगद र एक ग्रेड बढुवा प्रदान गरिएको छ भने ग्रोसरी सिनियर सुपरभाइजर सागर गुरुङले ५१ हजार १ सय ११ रुपैयाँको चेक र दुई ग्रेड बढुवा प्राप्त गरेका छन् ।
लुटपाट र तोडफोडका कारण सुपरमार्केटलाई करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको छ, जसमा ६४ लाख ८८ हजार रुपैयाँ बराबरको सामान लुटिएको बताइएको छ । तर, भाटभटेनी सुपरमार्केटले आफ्नो सेवा अवरुद्ध हुन दिएन । कर्मचारीहरू रातभर सरसफाइमा जुटेपछि भोलिपल्ट बिहानैदेखि सुपरमार्केट नियमित रूपमा सञ्चालनमा आएको थियो ।
