चलचित्र ‘हे माया’ निर्माण हुने, नाम चलेकै कलाकारहरू रहने


काठमाडौँ । चलचित्र ‘हे माया’ निर्माण हुने भएको छ । आगामी जेठबाट छायांकनको तयारी सहित आज यस चलचित्रको निर्माण घोषणा गरिएको हो ।
चलचित्रमा नाम चलेका कलाकारहरुकै अभिनय रहने निर्माता दीपक लम्सालले जानकारी दिए ।
चलचित्रका लागि अहिलेसम्म धेरै कलाकारसँग मौखिक सहमती भैसकेपनि लिखित सम्झौता हुन बाँकी रहेको छ ।
केही समयपछि सार्वजनिक गर्ने तयारी भैरहेको निर्माता लम्सालले जानकारी दिए । निर्माता दीपक लम्साल लामो समयदेखि भारतको मुम्बईमा बसेर बलिउड र दक्षिण भारतीय सिनेमाको नेपाल रिलिजको चाँजोपाजो मिलाउँदै आइरहेका छन् ।
उनले बलिउड सिनेमा नेपाल रिलिजमा लामो समय काम गरेपछि पहिलो पटक नेपाली सिनेमा निर्माणमा हात हाल्न लागेका हुन् ।
रियल इन्टरटेनमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने चलचित्रलाई जुनिम गहतराजले निर्देशन गर्ने भएका छन् । उनले निर्माण तथा निर्देशन गरेको सिनेमा ‘ताण्डवम्’ हालै प्रदर्शनमा आएको थियो ।
‘ताण्डवम्’ मा जुनिमको निर्देशकिय क्षमता हेरेर नै आफ्नो सिनेमा निर्देशनमा जिम्मेवारी सुम्पेको निर्माता लम्सालले बताए । सिनेमाको पटकथा तथा संवाद चक्रपाणी सांखीले लेखिरहेका छन् । नेपाली नयाँ वर्ष सुरु भएसँगै चलचित्रको कास्ट एण्ड क्रिउ सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ ।
