अन्तत: स्काउटका निर्देशकमाथि छानविन हुने, शुद्धीकरण अभियानले स्थगित गर्यो आन्दोलन


काठमाडौं । नेपाल स्काउटभित्र देखिएको अनियमितता,अपारदर्शिता तथा अराजक गतिविधि विरुद्ध गठन भएको शुद्धीकरण अभियानले आन्दोलन स्थगित गरेको छ ।
नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराईमाथि छानविन हुने भएपछि शुद्धीकरण अभियानले स्काउट प्राङ्गणमै सुरु गरेको आमरण अनसन स्थगित गरेको हो ।
नेपाल स्काउटका निर्देशक भट्टराईमाथि छानविन माग गर्दै चैत्र १ गतेदेखी रिले अनसनमा बसेको शुद्धीकरण अभियानले चैत्र १३ गते आमरण अनसन थालेको थियो ।
निर्देशक भट्टराईमाथि छानविन माग गर्दै गत फागुन ६ गते युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई ज्ञापनपत्र समेत बुझाएको थियो । तर, यही चैत्र १७ गते शुद्धीकरण अभियान र युवा तथा खेलकुद मन्त्रालयबीच माग सम्बोधनका लागि सहमति जुटेपछि अभियानले आन्दोलन स्थगित गरेको हो ।
मन्त्रालयका सहसचिव सुवाशचन्द्र शिवाकोटीको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिमा मन्त्रालयका उपसचिव रमा भट्टराई,नेपाल स्काउटका प्रतिनिधि आशिक कार्की,तरुण रञ्जन दत्त र विदुर गिरी सदस्य छन् ।
समितिले छानविनको प्रक्रिया सम्पन्न हुने अवधिभरका लागि नेपालस्काउटका निर्देशक राम प्रसाद भट्टराईलाई जिम्मेवारीबाट अलग गर्ने र नेपाल स्काउटका बरिष्ठ कर्मचारीलाई निर्देशकको जिम्मेवारी दिने सहमति भएको छ ।
गत शुक्रबार (चैत्र १५) गठित पाँच सदस्यीय समितिलाई दिइएको टिओआर अनुसार(अध्ययन समितिलाई अध्ययन,छानविन तथा सिफारिस समितिमा रुपान्तरण गरिए अनुसार) अध्ययन,छानविन र सिफारिस गर्ने निर्णय गरिएको छ ।
उल्लेखित समितिमा स्काउटका अधिकृत स्तरका प्रतिनिधि एक जना र शुुद्धीकरण अभियानको तर्फबाट थप एक जना गरी समितिलाई सात सदस्यीय बनाउने निर्णय गरिएको छ ।
यस्तै आज(बुधबार) बाट शुद्धीकरण अभियानका सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गर्ने,स्काउटको सिद्धान्त अनुसार स्काउटको मूल मर्म स्थापित गर्न र नेपाल स्काउटलाई मर्यादित संस्थाको रुपमा स्थापित गर्न सबै सरोकारवाला समक्ष अपिल गर्ने सहमति समेत गरिएको छ ।
स्काउटका निर्देशक भट्टराईमाथि आर्थिक अनियमिततादेखि यौन दुर्व्यवहारसम्मका गम्भीर आरोपहरु लाग्दा समेत छानविन नभएको भन्दै शुद्धीकरण अभियान आन्दोलनमा होमिएको थियो ।
