खबर दिनभर : २५ करोड विदेशी मुद्राको मालिक पहिचानदेखि मिश्र र राणा थप ६ दिन हिरासतमासम्म

संविधानको व्यवस्था, मर्म र भावना कसैले भुल्न हुँदैन : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले नागरिकलाई आफ्नो विचार अभिव्यक्त गर्ने निर्बाध स्वतन्त्रता प्रदान गरे पनि स्वतन्त्रताका नाममा हिंसा, आगजनी, लुटपाट र तोडफोड गर्ने कार्य निषेधित भएको बताएका छन् ।

सार्वजनिक सेवा प्रसारण संस्था, रेडियो नेपालको हीरक महोत्सवलाई आज सम्बोधन गर्दै उनले लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठूलो हुने बताउँदै संविधानको व्यवस्था, मर्म र भावना कसैले भुल्न नहुने स्पष्ट पारे ।

राष्ट्रपति पौडेलले भने, ‘नेपालको संविधानले नागरिकलाई आफ्नो विचार अभिव्यक्त गर्ने निर्बाध स्वतन्त्रता प्रदान गरेको छ । स्वतन्त्रताको नाममा हिंसा, आगजनी, लुटपाट र तोडफोड गर्ने कार्य सर्वदा निषेधित छ । यस्ता प्रकृतिका घटना हुन नदिन सबै गम्भीर बन्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

राष्ट्रपति पौडेलले संविधान प्रदत्त अधिकार प्रयोग गर्दा त्यही संविधानले अपेक्षा गरेको लोकतान्त्रिक संस्कृति र संस्कार बसैले पनि बिर्सन नहुने धारणा राखे । उनले भने, ‘लामो सङ्घर्ष, त्याग र बलिदानबाट जनता आफैँले बनाएको संविधानले प्रत्येक नागरिकलाई आफ्नो असहमति राख्ने अधिकार प्रदान गरेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यो सर्वाधिक सुन्दर पक्ष हो । तर, संविधानले प्रदान गरेको यो अधिकार प्रयोग गरिरहँदा हामी राज्य, कानुन र जनताप्रति जिम्मेवार पनि हुनु जरुरी छ ।’

नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रकार र सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहेको जनाउँदै राष्ट्रपति पौडेलले सञ्चार जगत्को यो महत्त्वपूर्ण र गम्भीर जिम्मेवारीलाई बोध गरेर संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चित गरिएको बताए ।

उनले आफू र आफ्ना पुस्ता रेडियो नेपाल सुन्दै हुर्किएको जनाउँदै समाचार र कैयन शिक्षा, जनचेतना, मनोरञ्जनात्मकलगायत कार्यक्रम आफ्नो स्मृतिमा आज पनि मिठो सम्झना बनेर झञ्कृत भइरहेका उल्लेख गरे ।

राष्ट्रपति पौडेलले लोकतन्त्र स्थापनासँगै मुलुकमा आमसञ्चारमाध्यमको विकास र विस्तारले गति लिएको उल्लेख गर्दै संविधानले व्यवस्था गरेको नागरिकको सूचनाको हक प्रत्याभूत गर्न रेडियो नेपालले नेपाली समाजको समावेशी चरित्रको संरक्षण र प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए ।

उनले सबै जातजाति, भाषाभाषीको अधिकार संरक्षण गर्ने बहुलवादमा आधारित लोकतन्त्रको सुदृढीकरणलाई आफ्नो धर्म मानेर काम गर्दा संस्थाले लिएका लक्ष्य पूरा हुने उल्लेख गर्दै सञ्चारमाध्यम विपद्का बेला आमनागरिकको भरोसाको केन्द्र हुन्छ भन्ने प्रमाण २०७२ को भूकम्प, कोरोना महामारीलगायत विपद्का बेलामा रेडियो नेपालसहितका सञ्चारमाध्यमले पुर्‍याएको योगदानबाट पुष्टि भएको बताए ।

राष्ट्रपति पौडेलले २००७ सालको जनक्रान्ति र रेडियो नेपाल नेपालको इतिहासमा दुई जुम्ल्याहा घटना भएको उल्लेख गर्दै २००७ सालको जनक्रान्तिको युगान्तकारी सन्देशलाई गाउँ गाउँ र जनजनमा पुर्‍याउन रेडियो नेपालले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराए ।

उनले रेडियो नेपालका संस्थापक तारिणीप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै आजका दिन रेडियो नेपाल हुनुमा कोइरालाको लोकतान्त्रिक चेतना र मूल्यमान्यता मुख्य कारण भएको बताए ।

राष्ट्रपति पौडेलले भने, ‘अहिले आएर रेडियो नेपाल स्वतन्त्र, स्वायत्त संस्थाका रूपमा सार्वजनिक प्रसारण माध्यमका रूपमा विकास भएको छ । त्यसैले, लोकतान्त्रिक मूल्यमान्यता, स्वतन्त्र व्यावसायिक पत्रकारिताको धर्म अनुरूप स्वच्छ, निष्पक्ष र जनताप्रति उत्तरदायी भएर नागरिकलाई सुसूचित गर्न सार्वजनिक सेवा प्रसारणका सम्बन्धमा विश्वले स्वीकारेका आधारभूत मान्यतालाई आत्मसात गर्ने मैले विश्वास लिएको छु ।’

समारोहमा राष्ट्रपति पौडेलले जनगायक रामकृष्ण दुवाल र देउडा गायक नन्दकृष्ण जोशीलाई ‘रेडियो नेपाल राष्ट्रिय स्रष्टा सम्मान–२०८१’ बाट सम्मान गरे । साथै उनले वरिष्ठ सङ्गीतकर्मीहरूलाई पनि सम्मान प्रदान गरे ।

रेडियो नेपालको हीरक महोत्सवका अवसरमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उत्कृष्ट कर्मचारी, समाचारदाता र प्रदेश कार्यालय तथा २५ वर्ष अविछिन्न सेवा प्रवाह गरेका २२ जना कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरे ।

उनले रेडियो नेपालले प्रकाशन गरेको ‘झङ्कार’ र पूर्वनिर्देशक टीका भण्डारीको ‘रेडियो नेपाल ७५ वर्षः एक सय एक स्रष्टा’ पुस्तक विमोचन गरे ।

नेपालको पहिलो प्रसारण संस्था रेडियो नेपाल आजदेखि औपचारिक प्रसारणको ७५ औँ वर्षमा प्रवेश गरेको छ । वि।सं २००७ फागुन ७ गते प्रजातन्त्रको स्थापना भए लगत्तै वि।सं २००७ चैत २० गते रेडियो नेपालको स्थापना भएको थियो ।

समावेशी आवाज बनेको रेडियो नेपालबाट २५ भाषामा समाचार र २४ भाषामा कार्यक्रमसहित सातै दिन २४ सैँ घण्टा प्रसारण हुँदै आएको छ ।

सार्वजनिक सेवा प्रसारण संस्थाका रूपमा स्तरोन्नति भएको रेडियो नेपालले राष्ट्रिय एकता, विपद्मा नागरिकको रक्षा र समृद्धिमा केन्द्रित भएर विषयवस्तु र प्रस्तुतिलाई नयाँ स्वरूपमा लैजाने प्रयास गरिरहेको छ ।

क्रान्तिको नेतृत्व र रक्षा गर्ने महिलाले फेरि समाजवादी क्रान्तिको नेतृत्व गर्ने बेला आयो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीले केही समय स्थगित गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियान पुनः सुरू गरिएको बताएका छन् ।

बाँकेको कोहलपुरमा बुधबार अनेमसङ्घ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन उद्घाटन गर्दै उनले अभियान नवलपरासीबाट सुरू गर्नुपर्ने भए पनि महिलाको प्रदेश सम्मेलनसँगै लुम्बिनीबाट अभियान सुरू गरिएको जानकारी दिए ।

अध्यक्ष दाहालले जनयुद्धका क्रममा केन्द्रीय आधार इलाकाको भूमिका निर्वाह गरेको लुम्बिनीले सबैभन्दा धेरै बलिदान गरेको र त्यसमा महिला क्रान्तिकारीहरूले त्याग बलिदानका कयौँ कृतिमान कायम गरेको बताए ।

अध्यक्ष ‘प्रचण्ड’ ले नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र नभई विश्व राजनीतिमै प्रेरणाको स्रोत बनेको बताए । “हिजो जनयुद्धको बेलामा महिला सहभागिता बढाउन सकिएन भने क्रान्ति सफल हुँदैन भन्ने मान्यताका साथ महिला सहभागिता बढाइएको र नेतृत्वदायी भूमिकामा अघि बढाइएको थियो”, उनले भने,“नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र होइन, संसारभरिका महिलाका लागि प्रेरणा र ऊर्जाको स्रोत बनेको छ ।”

अध्यक्ष दाहालले हिजो क्रान्तिको नेतृत्व र रक्षा गर्ने महिलाले अब फेरि समाजवादी क्रान्तिको नेतृत्व गर्ने बेला आएको बताए ।

उनले जनयुद्धको रापतापबाट महिला, जनजाति, किसान, मजदुर, दलित, मधेसी, मुस्लिमलगायत उत्पीडित वर्गको मुक्तिका लागि ऐतिहासिक सफलता प्राप्त गरे पछिल्ला आठरदश वर्षमा पार्टीले आफ्नोक वर्ग र समुदायसँगको सम्बन्ध कायम राख्न केही कमजोरी गरेको बताए ।

कुलमान र हितेन्द्रदेवको रिट आज पनि ‘हेर्दाहेर्दै’ मा राखियो

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यको रिटमाथि आज ९बुधबार० पनि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाइ भएपनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । यसअघि मंगलबार रिट हेर्दाहेदैमा राखिएको थियो । घिसिङ र शाक्यको रिटमा आइतबार पनि पेशी तोकिएको थियो । तर, सुनुवाइ हुन सकेको थिएन ।

घिसिङले आफ्नो पदाधिकार बाँकी छँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै थमौतीको अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन् ।शाक्यले भने चार वर्षअघि आफूलाई निकालेर घिसिङको नियुक्ति नै गलत भएको भन्दै त्यतिबेला रिट दायर गरेका थिए ।

कुलमानलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएपछि सडक र सदनमा सरकारको विरोध समेत गरिएको थियो ।

ट्रकबाट बरामद २५ करोड विदेशी मुद्राको मालिक पहिचान

गत चैत्र ५ गते ट्रकबाट बरामद भएको २५ करोड बराबरको विदेशी मुद्राको मालिकको पहिचान भएको छ । २५ करोड रूपैयाँ बराबरको विदेशी मुद्राको मालिक सिन्धुपाल्चोकका नारायण पौडेल रहेको खुलेको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर ४ स्थायी घर भई टोखा नगरपालिका(१० बस्ने नारायण पौडेल २५ करोडको मालिक भएको प्रहरीले पुष्टि गरेको छ । उनको नाममा पक्राउ पुर्जी जारी भइसकेको छ ।

गत चैत्र ५ गते ना ७ ख १६५२ नम्बरको ट्रकमा फल्स बटम बनाएर रकम राखेका ४३ वर्षीय कुसान लामालाई केरुङतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार उनी यसअघि पनि सुन तस्करीमा समातिएका थिए ।

उनी ७ किलो सुन सहित कलंकीबाट समातिएका थिए । उनलाई रसुवाबाट गल्छी हुँदै काठमाडौं आइरहेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो सुनसहित प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि उनी २०७८ मा छुटेका थिए ।

भाटभटेनीले सुरक्षा गार्ड पराजुलीलाई गर्‍यो पुरस्कृत, पाँच लाख नगद र पाँच ग्रेड बढुवा

भाटभटेनी सुपरमार्केटले गत चैत १५ गतेको लुटपाट घटनामा अद्भुत बहादुरी देखाएका सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई विशेष सम्मानका साथ पुरस्कृत गरेको छ ।

सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले एक कार्यक्रमबीच उनलाई ५ लाख १ हजार १ सय ११ रुपैयाँ नगद, एक फूली र पाँच ग्रेड बढुवा प्रदान गर्दै दुबोको माला लगाइदिएर सम्मान गरेका हुन् ।

पराजुलीले लुटपाट गर्ने दर्जनौँ व्यक्तिसँग एक्लै जुधेर सुपरमार्केट जोगाएका थिए । लिस्टीले लुटेराहरूलाई कुट्दै भगाएको उनको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनी सर्वत्र प्रशंसित बनेका छन् । २२ वर्षदेखि भाटभटेनीमा कार्यरत पराजुलीको साहसलाई ग्राहकदेखि सामाजिक सञ्जाल प्रयोगकर्तासम्मले खुलेर प्रशंसा गरिरहेका छन् ।

घटनाका क्रममा अन्य कर्मचारीहरूले पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए । सुरक्षा गार्ड सूर्य गिरी, दीपेश खड्का र सोमबहादुर भुजेललाई २५ हजार १ रुपैयाँ नगद र एक ग्रेड बढुवा प्रदान गरिएको छ भने ग्रोसरी सिनियर सुपरभाइजर सागर गुरुङले ५१ हजार १ सय ११ रुपैयाँको चेक र दुई ग्रेड बढुवा प्राप्त गरेका छन् ।

लुटपाट र तोडफोडका कारण सुपरमार्केटलाई करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको छ, जसमा ६४ लाख ८८ हजार रुपैयाँ बराबरको सामान लुटिएको बताइएको छ । तर, भाटभटेनी सुपरमार्केटले आफ्नो सेवा अवरुद्ध हुन दिएन । कर्मचारीहरू रातभर सरसफाइमा जुटेपछि भोलिपल्ट बिहानैदेखि सुपरमार्केट नियमित रूपमा सञ्चालनमा आएको थियो ।

नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थिङ् शिनावात्को उपस्थितिमा आज ती समझदारी पत्रमा हस्ताक्षर भएका हुन् ।

नेपालमा तर्फबाट परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले ती समझदारी पत्रमा हस्ताक्षर गरेकी थिइन् । यसैगरी थाइल्याण्डका तर्फबाट संस्कृतिसम्बन्धी समझदारी पत्रमा संस्कृति मन्त्री सुदावान वाङसुफाकिजकोसोल र पर्यटन सहयोगसम्बन्धी सम्झौता पत्रमा पर्यटन तथा खेलकुद मन्त्री सोरावाङ तिनथोङले हस्ताक्षर गरेका हुन् ।

यसैगरी दुई देशका प्रधानमन्त्रीका उपस्थितिमा गैरसरकारी क्षेत्रसँग सम्बन्धित स्वास्थ्य, शिक्षा र व्यापार वाणिज्यसँग सम्बन्धित क्षेत्रमा विभिन्न समझदारी पत्रमा समेत हस्ताक्षर भएको थियो ।

थाइल्याण्ड सरकारको औपचारिक भ्रमण तथा छैटौँ ‘बिम्स्टेक’ सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही चैत १९ गते यहाँ आएका थिए ।

काठमाडौँमा शिक्षकहरूको नयाँ चरणको आन्दोलन सुरु

शिक्षकहरूले काठमाडौँका विभिन्न स्थानबाट र्‍याली निकालेका छन् ।

बुधवार विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको अगुवाइमा उक्त र्‍याली निकालिएको हो ।

र्‍याली माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत हुने महासंघले जनाएको छ । यस नयाँ चरणको आन्दोलनका लागि देशभरिका शिक्षकहरू बुधवार काठमाडौँ आएका हुन् ।

आन्दोलनलाई शान्तिपूर्ण बनाउन ८ सय स्वयंसेवक परिचालन गरिएको छ ।

महासंघ सहअध्यक्ष एवं आन्दोलन परिचालन समितिको संयोजक नानुमाया पराजुलीले आज डेढ लाख शिक्षक कर्मचारीको र्‍याली निस्केको र भोलि शिक्षक अझ कर्मचारी थपिने उनले बताइन् ।

रवीन्द्र मिश्र र धवलशमशेर राणा सहितलाई ६ दिन हिरासतमा राख्न म्याद थप

गत शुक्रबार राजावादी आन्दोलनमा हिंसात्मक प्रर्दशन गरेको आरोपमा पक्राउ परेकाहरुलाई दोस्रो पटक म्याद थप भएको छ । बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका ४१ जनालाई काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइएको थियो ।

उनीहरूलाई थप ६ दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप भएको अदालतले जनाएको छ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, सांसद तथा राप्रपाका महामन्त्री धवल शमशेर राणा लगायतलाई म्याद थप गरेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।

आपराधिक उपद्रव र संगठित अपराधमा ३० जना र राज्यविरुद्धको कसुरमा ११ जना गरी ४१ जनालाई पहिलोपटक आइतबार पाँच दिनको म्याद थप भएको थियो ।

भारतीय ग्याङस्टारका नाइके विश्नोईको नाम लिँदै ‘सोसल मिडिया’ बाट फिरौती माग्ने रामबहादुर पक्राउ

सामाजिक सञ्जालको प्रयोग गरी फिरौती उठाएको आरोपमा प्रहरीले बाँकेको कोहलपुरबाट एकजना युवकलाई पक्राउ गरेको छ ।

सुर्खेतको भेरीगङ्गा नगरपालिका–७ काठेघारी बस्ने ४१ वर्षीय रामबहादुर बिसी (बुढाक्षेत्री) लाई फिरौती माग गर्नुका साथै ठगीलगायत विभिन्न अरोपका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

कोहलपुर–५ मा डेरा गरी बस्दै आएका बिसी भारतीय ग्याङस्टारका नाइके लरेन्स विश्नोई र अनमोल विश्नोईको नाम लिँदै फिरौती माग गरेको, ठगीलगायत आरोपका आधारमा निजलाई पक्राउ गरिएको उनले बताए । विश्नोईको नाम लिँदै पाँच करोड भारु अर्थात् रु आठ करोड फिरौती माग गरेको पाइएको प्रनाउ भण्डारीले जानकारी दिए ।

सामाजिक सञ्जाल ह्वाट्सएप प्रयोग गरी बिसीले फिरौती माग गरेको जानकारी दिँदै प्रनाउ भण्डारीले विदेशी नम्बरको ह्वाट्सएपबाट फोन गरेर धम्क्याउनेसमेत गरेको उल्लेख गरे । “निजविरुद्ध इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट वि।सं। २०६१ साउन २७ मा जीउ मास्ने, बेच्ने उद्योगको कसुरमा मुद्दा चलेको थियो । त्यतिबेला एक नेपाली युवतीलाई ललाइँफकाइ विवाह गर्छु भन्दै काँकडभिट्टाबाट भारत लगेको आरोप छ”, उनले भने ।

वि.सं. २०६२ चैत ८ मा सर्वसाधारणलाई धम्की दिँदै चन्दा असुली गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाबाट बिसीविरुद्ध मुद्दा चलेको थियो । यसको दुई वर्षपछि फिरौती रकम असुलेको आरोपमा काठमाडौँबाटै निजविरुद्ध मुद्दा चलेको प्रहरीले जनाएको छ ।

वि.सं. २०६४ भदौ ९ मा महानगरीय प्रहरी परिसर काठमाडौँ (हाल जिल्ला प्रहरी परिसर)बाट उनीविरुद्ध फिरौती लिएको आरोपमा मुद्दा चलेको थियो । निजमाथि एक व्यक्तिलाई नियन्त्रणमा लिएर ट्याक्सीमा राख्दै धम्क्याएर फिरौती असुलेको आरोप रहेको प्रनाउ भण्डारीले उल्लेख गरे ।

“आरोपीलाई कर्तव्य कसुरमा पनि मुद्दा चलाइएको छ । विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनमा एक व्यक्तिलाई गोली हानी हत्या गरेको आरोप पनि उनलाई लागेको छ । विसं २०६४ चैत २७ मा संविधानसभाका उम्मेदवार ऋषि शर्मा प्रचारप्रसार सकेर आउँदै गर्दा सुर्खेतको मेहलकुना जहरेबजार नजिक लोदे भन्ने ठाउँमा शर्माको गोली हानी हत्या भएको थियो । त्यसबेला इलाका प्रहरी कार्यालय छिन्चुबाट बिसीविरुद्ध मुद्दा चलेको थियो”, उनले भने ।

वि।सं। २०६५ चैतमा द्वन्द्वपीडित सेना प्रहरीको आन्दोलनको क्रममा प्रहरीको हतियार खोसेको घटनामा उनीविरुद्ध काठमाडौँबाट मुद्दा चलेको प्रनाउ भण्डारीले जानकारी दिए । यसबाहेक पनि धेरै घटनामा उनीसंलग्न रहेको प्रहरीले जनाएको छ ।

राजावादी प्रदर्शनमा ज्यान गुमाएका दुई जनाको परिवारलाई सरकारले १०/१० लाख दिने

गत शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरिएको छ ।

गृह मन्त्रालयले उक्त रकम निकासाका लागि अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ।

यसअघि भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले पत्रकार सुरेश रजकका परिवारलाई ५ लाख र कीर्तिपुरका सविन महर्जनका परिवारलाई ३ लाख दिने घोषणा गरिसकेका छन् ।

राजसंस्था पुनस्स्थापनाको माग गर्दै दुर्गा प्रसाईं नेतृत्वको राजावादी समूहले काठमाडौंको तीनकुने सहित विभिन्न स्थानमा तोडफोड,आगजनी तथा लुटपाट समेत गरेको थियो ।

आपराधिक क्रियाकलापमा संलग्नहरुलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ । जनकमाण्डर प्रसाईं भने फरार छन् ।

प्रदर्शन स्थलबाट दुर्गा प्रसाईंलाई पक्राउ गर्न सम्भव भएन, अब चाँडै नै पक्राउ पर्छन् : प्रहरी

प्रहरीले यही चैत १५ गते तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनमा दुर्गा प्रसाईंलाई कार्यक्रम स्थलबाट पक्राउ गर्न सम्भव नभएको बताएको छ ।

तीनकुने घटनाबारे जानकारी दिन बुधबार पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता नायब महानिरीक्षक दिनेश आचार्यले ठुलो भिड भएका कारण दुर्गा प्रसाईँलाई कार्यक्रम स्थलबाट पक्राउ गर्न सम्भव नभएको बताए ।

उनले प्रसाईंको खोजी कार्य जारी रहेको र चाँडै नै पक्राउ पर्ने समेत बताए । राजावादी प्रदर्शनमा एक पत्रकार सहित दुई जनाको मृत्यु भएको थियो ।

प्राधिकरणका अध्यक्ष विरूद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

सर्वोच्च अदालतले नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरूद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश गरेको छ ।

न्यायाधीश डा।नहकुल सुवेदीको एकल इजलासले बुधबार प्राधिकरणका अध्यक्ष ओझो योग्यतामाथि प्रश्न उठाइएको उक्त विवादमा लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश गरेको हो ।

अधिवक्ता इन्दिरा धमलाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल बिमा प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिस समिति र प्राधिकरणका अध्यक्ष ओझालाई विपक्षी बनाइ चैत १७ गते दायर गरेको रिट निवेदनमा उहाँको नियुक्ति बदर गर्न माग गरिएको छ ।

मन्त्रिपरिषद्को गत फागुन १२ गतेको बैठकले ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो ।

अन्ततः स्काउटका निर्देशकमाथि छानविन हुने, शुद्धीकरण अभियानले स्थगित गर्‍यो आन्दोलन

नेपाल स्काउटभित्र देखिएको अनियमितता,अपारदर्शिता तथा अराजक गतिविधि विरुद्ध गठन भएको शुद्धीकरण अभियानले आन्दोलन स्थगित गरेको छ ।

नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराईमाथि छानविन हुने भएपछि शुद्धीकरण अभियानले स्काउट प्राङ्गणमै सुरु गरेको आमरण अनसन स्थगित गरेको हो ।

नेपाल स्काउटका निर्देशक भट्टराईमाथि छानविन माग गर्दै चैत्र १ गतेदेखी रिले अनसनमा बसेको शुद्धीकरण अभियानले चैत्र १३ गते आमरण अनसन थालेको थियो ।

निर्देशक भट्टराईमाथि छानविन माग गर्दै गत फागुन ६ गते युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई ज्ञापनपत्र समेत बुझाएको थियो । तर, यही चैत्र १७ गते शुद्धीकरण अभियान र युवा तथा खेलकुद मन्त्रालयबीच माग सम्बोधनका लागि सहमति जुटेपछि अभियानले आन्दोलन स्थगित गरेको हो ।

मन्त्रालयका सहसचिव सुवाशचन्द्र शिवाकोटीको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिमा मन्त्रालयका उपसचिव रमा भट्टराई,नेपाल स्काउटका प्रतिनिधि आशिक कार्की,तरुण रञ्जन दत्त र विदुर गिरी सदस्य छन् ।

समितिले छानविनको प्रक्रिया सम्पन्न हुने अवधिभरका लागि नेपालस्काउटका निर्देशक राम प्रसाद भट्टराईलाई जिम्मेवारीबाट अलग गर्ने र नेपाल स्काउटका बरिष्ठ कर्मचारीलाई निर्देशकको जिम्मेवारी दिने सहमति भएको छ ।

गत शुक्रबार (चैत्र १५) गठित पाँच सदस्यीय समितिलाई दिइएको टिओआर अनुसार(अध्ययन समितिलाई अध्ययन,छानविन तथा सिफारिस समितिमा रुपान्तरण गरिए अनुसार) अध्ययन,छानविन र सिफारिस गर्ने निर्णय गरिएको छ ।

उल्लेखित समितिमा स्काउटका अधिकृत स्तरका प्रतिनिधि एक जना र शुुद्धीकरण अभियानको तर्फबाट थप एक जना गरी समितिलाई सात सदस्यीय बनाउने निर्णय गरिएको छ ।

यस्तै आज(बुधबार) बाट शुद्धीकरण अभियानका सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गर्ने,स्काउटको सिद्धान्त अनुसार स्काउटको मूल मर्म स्थापित गर्न र नेपाल स्काउटलाई मर्यादित संस्थाको रुपमा स्थापित गर्न सबै सरोकारवाला समक्ष अपिल गर्ने सहमति समेत गरिएको छ ।

स्काउटका निर्देशक भट्टराईमाथि आर्थिक अनियमिततादेखि यौन दुव्र्यवहारसम्मका गम्भीर आरोपहरु लाग्दा समेत छानविन नभएको भन्दै शुद्धीकरण अभियान आन्दोलनमा होमिएको थियो ।

नेकपा एस सुदूरपश्चिम प्रदेशको अध्यक्षमा खड्का सर्वसम्मत चयन

माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेशको अध्यक्षमा लालबहादुर खड्का चयन भएका छन् ।

पार्टीको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनले खड्काको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ प्रदेश कमिटी चयन गरेको हो । अधिवेशनबाट धनबहादुर बोहरा र शिवबहादुर कुँवर उपाध्यक्षमा चयन भएका छन् ।

सुरेन्द्रमान कार्की सचिवमा चयन हुँदा उपसचिवमा गणेश साउँद, राधिका अवस्थी र गोरख सार्की चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष खड्काले पार्टीको चौतर्फी विकासमा कटिबद्ध भए लागिपर्ने बताएका छन् ।

तीनकुने घटनामा संलग्न थप ७ जना पक्राउ

गत शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूको प्रदर्शनका क्रममा आपराधिक क्रियाकलाप गर्ने थप ७ जना पक्राउ परेका छन् ।

उनीहरूलाई राज्यविरुद्धको कसुर र संगठित अपराधसम्बन्धी कसुर तथा आपराधिक उपद्रव कसुरअन्तर्गत पक्राउ गरिएको हो ।

सात जनालाई काठमाडौँको विभिन्न स्थानहरूबाट नियन्त्रणमा लिएर काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थपी अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

राज्य विरुद्धको कसुर र संगठित अपराध सम्बन्धी कसुर अन्तर्गतः रुपन्देही, देबदह नपा, घर भएका वर्ष ४७ को प्रेम थापा मगर रहेका छन् ।

यसैगरी आपराधिक उपद्रव कसुर अन्तर्गतः झापा, गौरादह नपा–१ गौरादह घर भएका वर्ष २१ को समिर मगर, रामेछाप, सुनापति गापा–१ घर भएका वर्ष २२ को सुरेश गौतम, ताप्लेजुङ, फुलुङ नपा–३ घर भएका वर्ष २३ को सुशिल बराल छन् ।

त्यस्तै नुवाकोट, बेलकोटगढी नपा–७ घर भएका वर्ष २७ को रमेश राई, अछाम, पंचदेवल नपा घर भएका वर्ष २० को गोकर्ण शाही र संखुवासभा, पाचखपन नपा–२ घर भई हाल काजि कागेश्वरी मनोहरा नपा–९ बस्ने वर्ष ३९ को मुकुन्द दहाल रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई आगजनी र तोडफोड गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

नेपाल सुपर लिग : ललितपुर सिटीको पहिलो जित

ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको खेलमा ललितपुरले पोखरा थन्डर्सलाई ३–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ज गराएको हो । पोखराको भने यो लगातार दोस्रो हार हो ।

ललितपरले खेलको ११औँ मिनेटमा अग्रता लिएको थियो । ललितपुरका लागि विदेशी खेलाडी जोनाथन इडवार्डोले गोल गरे । यस्तै खेलको ४२औँ मिनेटमा पोखराका समिर तामाङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पूर्याए । खेलको पहिलो हाफको अतिरिक्त समयमा ललितपुरका इमोह इजेकले गोल गर्दै आफ्नो टोलीको अग्रता बनाए ।

यसपछी खेलको ७५औँ मिनेटमा ललितपुरका लागि जोनाथन इडवार्डोले गोल गरे । खेलको दोस्रो हाफको अतिरिक्त समयमा जोए आइडोले गोल गरे । ललितपुरले ३–२ गोलअन्तरले जित निकाल्यो ।

ललितपुरले दुई खेलबाट चार अङ्क बनाएको छ । ललितपुरले पहिलो खेल काठमाडौँसँग २–२ गोलको बराबरी खेलेको थियो । पोखरा यसअघि पहिलो खेलमा चितवनसँग २–० गोलअन्तरले हारेको थियो ।

कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट

नेपाली बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने घटेको छ । पछिल्लो दिनयता लगातार बढेर कीर्तिमान कायम गरिरहेको सुनको मूल्य आज तोलामा ६ सय घटेको हो । चाँदीको मूल्य पनि तोलामा १५ ले घटेको छ ।

मंगलबार प्रतितोला १ लाख ७९ हजार ७ सय कायम भएको सुनको मूल्य आज तोलामा ६ सय घटेर १ लाख ७९ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी प्रतितोला २ हजार २० मा कारोबार भएरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ३ हजार १ सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

म्यान्मामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ८ सय ८६ पुग्यो

म्यान्मामा शुक्रबार ७।९ म्याग्निच्युडको भूकम्पपछि मृत्युको सङ्ख्या दुई हजार ८८६ पुगेको र चार हजार ६३९ जना घाइते भएका छन् । म्यान्मा रेड क्रस सोसाइटीका अध्यक्ष म्यो न्युन्टले भने,“प्राकृतिक प्रकोपको मूल्याङ्कन र आपतकालीन आपूर्ति वितरणमा रसद समन्वयको अभाव प्रमुख समस्या बनेको छ ।”

उद्धार टोलीहरूले प्रभावित क्षेत्रमा सुरक्षा चिन्ताहरूका कारण आपूर्ति वितरणमा ठूलो समस्या भोगिरहेका छन् । यसका साथै, भारी यन्त्रको अभावले उद्धार कार्यलाई थप कठिन बनाएको म्यो न्युन्टले बताए ।

यस भूकम्पले म्यान्माको पश्चिमी र दक्षिणी क्षेत्रलाई ठूलो प्रभाव परेको छ, जहाँ दर्जनौँ घर र इमारतहरू पूर्ण रूपमा ध्वस्त भएका छन् । भूकम्पको गहिराई र दुरगामी प्रभावका कारण उद्धार कार्यमा समय लागिरहेको छ । सरकारले आपतकालीन राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपील गरेको छ ।

राहत कार्यको लागि म्यान्माका प्रमुख शहर र ग्रामीण क्षेत्रहरूमा प्रभावित जनतासम्म खाना, पानी र स्वास्थ्य सहायता पुर्याउन प्रगति भइरहेको छ, तर हालको चिन्ता भनेको जीवितलाई उद्धार गर्न आवश्यक पर्ने थप स्रोत र उपकरणहरूको अभाव हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *