आरसिबीविरुद्ध गुजरात आठ विकेटले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो पहिलो खेलमा पराजित भएको गुजरात टाइटान्सले पुनः लय समात्दै लगातार दोस्रो जित हात पारेको छ। बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बंगलोरलाई ८ विकेटले पराजित गर्दै गुजरातले सानदार प्रदर्शन गर्यो।

बंगलोरले दिएको १७० रनको लक्ष्य पछ्याउँदै गुजरातले १३ बल बाँकी रहँदै मात्र २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। जोस बटलरले ३९ बलमा ७३ रनको विस्फोटक इनिङ्स खेले, जसमा ५ चौका र ६ छक्का सामेल थियो। सेरफान रुदरफोर्डले पनि १८ बलमा अविजित ३० रन बनाए। साइ सुदर्शन ४९ रनमा आउट हुँदा एक रनले अर्धशतक बनाउन चुके। बंगलोरका भुवनेश्वर कुमारले चार ओभरमा २३ रन खर्चेर एक विकेट लिए।

यसअघि टस गुमाएर पहिले ब्याटिङ गरेको बंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६९ रन बनायो। सुरुवातमै धराशायी बनेको बंगलोर ६.२ ओभरमै ४२ रनमा चार विकेट गुमाइसकेको थियो। मोहम्मद सिराजले घातक बलिङ गर्दै ४ ओभरमा १९ रन खर्चेर तीन विकेट झारे। साइ किशोरले पनि उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २२ रन खर्चेर दुई विकेट लिए, जबकि प्रसिद्ध कृष्णले ४ ओभरमा मात्र दुई रन दिएर एक विकेट लिए।

बंगलोरका लागि लियाम लिभिङस्टोनले ५४ रन बनाउँदा जितेस शर्माले ३३ रनको योगदान दिए। टिम डेभिडले १८ बलमा ३२ रन जोडे। उत्कृष्ट प्रदर्शन गरेबापत मोहम्मद सिराज प्लेयर अफ द म्याच घोषित भए।

यो हारपछि बंगलोर चार अंकसहित अंकतालिकाको तेस्रो स्थानमा झरेको छ भने समान चार अंक भए पनि गुजरात चौथो स्थानमा छ। पञ्जाब किंग्स शीर्ष स्थानमा रहँदा दिल्ली क्यापिटल्स दोस्रो स्थानमा छन्। पञ्जाब र दिल्लीले दुई खेल मात्र खेलेका छन् भने बाँकी टोलीले तीन खेल खेलिसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *