मुना–जलजला–ढोरपाटन सडकको ‘ट्र्याक’ खुल्दै

म्याग्दी । मध्यपहाडी लोक मार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडकको ट्र्याक खुल्ने चरणमा पुगेको छ ।

चालु आवमा सङ्घीय सरकारले विनियोजन गरेको पाँच करोड बजेटबाट सडक डिभिजन कार्यालयले म्याग्दीको धौलागिरि गाउँपालिका–२ मरेनीदेखि ढोरपाटन जोड्ने सडकको ट्र्याक खुल्न लागेको हो ।

हालसम्म तीन किलोमिटर ‘ट्र्याक’ खुलेको र थप पाँच किलोमिटर खोलेपछि यो बाटो ढोरपाटनसँग जोडिने धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए ।

सडक डिभिजन कार्यालयले एक करोडको लागतमा मुना–खोरीया–मरेनी खण्डमा स्तरोन्नति जारी राखेको छ ।

बेनीबाट मुना–खोरीया–मरेनी हुँदै करिब ५६ किलोमिटर ट्र्याक खुलिसकेको र ढोरपाटनबाट जलजलासम्म पनि १० किलोमिटर कच्ची सडक बनेको धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए ।

‘बेनीबाट दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वीरुकुमको टकसेरा जोड्ने सडकको ट्र्याक खुलेपछि मध्यपहाडी लोक मार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर दूरी छोटिन्छ’, उनले भने, ‘पूर्वीरुकुमको टकसेराबाट ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडकले जोडिन बाँकी छ ।’

म्याग्दीको धौलागिरि गाउँपालिका–२ खोरियामा पाँच वर्षअघि पुगेको सडकलाई ढोरपाटनसँग जोड्न १९ किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन बनाएर गाउँपालिकाले सङ्घीय सरकारसँग योजना तथा बजेटको प्रस्ताव गरेको थियो ।

बेनी– तातोपानी–बाबियाचौर–तोलावाङसम्म २० किलोमिटर सडक प्रदेश सरकारको लगानीमा कालो पत्र भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *