महानगरमा तनावपूर्ण दृश्य

नगर प्रहरीको अवरोधबीच कार्यालय प्रवेश गरे प्रशासकीय अधिकृत गुरागाईँ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा हाजिर भएका छन् । नगर प्रहरीको रोक्ने प्रयास असफल भएपछि गुरागाईं कार्यालयमा हाजिर भएका हुन् ।

महानगर प्रहरीले गेटमै उनलाई अवरोध गर्ने प्रयास गरे पनि कार्यालयका कर्मचारीहरूले समर्थन जनाउँदै गुरागाईंलाई भित्र प्रवेश गराएका छन् । गत पुस ७ गतेदेखि बिदामा रहेका गुरागाईंपछि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका गोविन्दप्रसाद शर्माले राजीनामा दिएपछि महानगर प्रशासन नेतृत्वविहीन अवस्थामा पुगेको छ ।

प्रमुख प्रशासकीय अधिकृतको अभावमा तलब नपाएको भन्दै महानगरका कर्मचारीहरू आक्रोशित बनेका छन् । उनीहरूले गुरागाईंलाई पुनः पदमा स्थापित गराउने अडान लिएका छन् ।

मेयर बालेन शाहले काठमाडौं टावरको नक्सा पासमा अनियमितता गरेको आरोपमा गुरागाईंलाई अघोषित निलम्बनमा राखेका थिए । उनलाई कार्यालय प्रवेश गर्न निषेध गरेका थिए । मेयर शाहले गुरागाईंलाई हटाएर नयाँ प्रमुख प्रशासकीय अधिकृत नियुक्त गर्न चाहेका थिए, तर कुनै पनि आरोप पुष्टि नहुँदा सरकारले उनलाई हटाउन इन्कार गर्‍यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *