सरकारले सुशासन कायम गर्न नसक्दा लुटतन्त्र र विचौलियातन्त्रको बिगबिगि बढ्यो : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार पूर्णतः असफल भएको बताएका छन् ।

बिहीवार मधेसकेन्द्रित सात दलको संघीय लोकतान्त्रिक मोर्चा कार्यक्रमको घोषणा समारोहमा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । उनले वर्तमान सरकार गठन भएको ९ महिना बितिसक्दा समेत मुलुकमा सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र अर्थतन्त्रमा कुनै सुधार गर्न नसकेको टिप्पणी गरे ।

उनले सरकारले मुलुकमा सुशासन कायम गर्न नसक्दा लुटतन्त्र र विचौलियातन्त्रको बिगबिगि रहेको बताए । सरकारकै असफलताका कारण प्रतिगमनकारी शक्तिहरु व्यवस्था ढाल्ने दुस्साहस गरिरहेको उनको भनाइ छ ।

उनले भने, ‘सरकार गठन भएको आज झण्डै नौ महिना बितिसकेको भएपनि न सुशासन न भ्रष्टाचार नियन्त्रण न आर्थिक सुधार भयो । संविधान संशोधन गर्छौं भनेर आएको प्रधानमन्त्रीले ०८७ मा संविधान संशोधन गर्ने । जबकि यो सरकारको र संसदको दुई अढाई वर्ष मात्रै बाँकी छ । त्यसकारण सबै क्षेत्रबाट असफल भइसकेको कारणबाट सरकार झन कमजोर भएको छ, भ्रष्टाचार बढिरहेको छ । लुटतन्त्र र विचौलियातन्त्रको बिगबिगि छ । जसबाट जनता आक्रोशित छ । यस्तो अवस्थामा प्रतिगमनकारी शक्तिहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सिध्याउने प्रयासमा लागेका छन् ।’

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संस्थागत गर्न तथा राष्ट्रिय समस्याको समाधान गर्न सात दलीय मोर्चा गठन गरिएको उनको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *