नेपाल सुपर लिग : काठमाडौं र झापाले अंक बाँडे

काठमाडौं । काठमाडौं रेजर्स र झापा एफसीले नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणको लगातार दुई खेलमा बराबरीको नतिजा सामना गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा काठमाडौं र झापाले गोलरहित खेलेका हुन् । दुवै टिम पहिलो जित निकाल्ने लक्ष्यमा थिए । पहिलो खेलमा काठमाडौं ललितपुर सिटी एफसीसँग २–२ गोलको बराबरीमा रोकिएको थियो ।

झापाले पनि बुटवल लुम्बिनीसँग गोलरहित बराबरी खेलेको थियो । त्यसैले दुवै टोली तीन अंक ल्याउने लक्ष्यसहित बिहीवार मैदान उत्रिएका थिए । तर सफल हुन सकेन । पहिलो हाफमा काठमाडौंले र दोस्रो हाफमा भने झापा आक्रमणमा हाबी भएको थियो । खेलको पाँचौं मिनेटमा काठमाडौंको अग्रता लिने प्रयासमा माथिल्लो बारमा लागेर बाहिरिँदा असफल भयो ।

मध्यभागबाट बल लिएरअगाडि बढेका मोहमेद बुया टुरेले पेनाल्टी बक्सभित्रबाट गरेको सशक्त प्रहार बारमा लागेर बाहिरिएको हो । २७औं मिनेटमा नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकरसमेत रहेका जिलेस्पीजंग कार्कीको प्रहार आकासिँदा काठमाडौंले अर्को अवसर गुमाउन पुग्यो । अमान्डो डियोपले कट ब्याकमा दिएको पासमा उनको प्रहार सफल भएन ।

पहिलो हाफमा खासै राम्रा अवसर बन्न सकेन । झापाको भने कुनै पनि आक्रमण सफल देखिएन । दोस्रो हाफको सुरुमा नै झापाले उत्कृष्ट अवसर बुन्यो । ४६औं मिनेटमा झापका आर्सिक लाजेको आक्रमण पनि सफल भएन ।

१८ यार्डबाट उनले गरेका सशक्त प्रहार काठमाडौंका गोलकिपर अभिशेक बरालले पन्च गर्दै बाहिर पठाए । काठमाडौंका डियोपले ६६औं मिनेटमा वान टचमार्पm गोल गर्ने सुन्दर अवसर खेर फाले । लेफ्ट साइडबाट जिलेस्पीले दिएको क्रसलाई पेनाल्टी बक्समा अनमार्क डियोपले भेट्टाउन नै सकेनन् ।

७० औं मिनेटमा झापाका अलहाजी गेरोले पनि अवसर गुमाए । करिब २५ यार्डबाट ड्रिब्लिङ गर्दै उनले पेनाल्टी बक्सबाट गरेको प्रहार पोस्टको दिशामा रहन सकेन । झापाका अर्सिकले ८३औं मिनेटमा गरेको फ्रिकिक दोस्रो बारनजिकैबाट बाहिरिन पुग्यो । चार मिनेटपछि नै उनको अर्को आक्रमणलाई काठमाडौंका गोलकिपर अभिशेकलाई खासै चुनौती भएन ।

८०औं मिनेटमा एरोन थापाको उत्कृष्ट सट पनि बारमा लागेर फर्किंदा झापाले अग्रता लिने अवसर गुमायो । राइट साइडबाट आरोनले ड्रिब्लिङ गर्दै नजिकैबाट गरेको प्रहार बारमा लागेको हो । खेलको अन्तिम समयमा लाकेन लिम्बूले गरेको लामो दूरीबाट गरेको प्रयास पनि सफल हुन सकेन । यससँगै खेल बराबरीमा नै सकियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *