दुर्गा प्रसाईं भागेको स्कोर्पियो इटहरीमा भेटियो

काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि फरार भएका दुर्गा प्रसाईं चढेको स्कोर्पियो इटहरीमा भेटिएको छ । बिएबी ४२०८ नम्बरको एसयूभी गाडी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले गाडीलाई काठमाडौं ल्याएर कार्यालय परिसरमा राखिएको जानकारी दिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआइजी टेक तामाङका अनुसार प्रसाईं भाग्न प्रयोग गरिएको गाडी इटहरीमा फेला परेको हो । ‘काठमाडौंबाट भाग्न प्रयोग गरिएको गाडी इटहरीमा फेला पारिएको छ, हाल गाडी काठमाडौं ल्याइसकिएको छ,’ उनले भने ।

प्रसाईं भाग्नुअघि एक सटरभित्र लुकेको र पछि उनका सहयोगीहरूले उनलाई गाडीमा पुर्‍याएको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । इटहरीमा गाडी भेटिएपछि प्रसाईं भारततर्फ गएको आशंका गरिएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकास्थित काँडाघारी घर भएका गाडी धनी मुकुन्द दाहाललाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । यद्यपि तीनकुनेबाट प्रसाईं सवार गाडी ईश्वर विकले हाँकेका थिए । प्रसाईंलाई झापास्थित बिएण्डसी अस्पतालमा लगेर छाडेको चालकले प्रहरीसँग बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *