आईपीएल : कोलकाताको शानदार जित, हैदराबाद संकटमा


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को एक रोमाञ्चक भिडन्तमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई ८० रनले पराजित गर्दै सशक्त पुनरागमन गरेको छ । मुम्बई इन्डियन्ससँगको अघिल्लो खेलमा खराब प्रदर्शन गरेपछि आलोचित बनेको कोलकाताले यस खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै हैदराबादलाई पराजित गर्यो ।
कोलकाताले पहिलो ब्याटिङ गर्दै २०० रनको प्रभावशाली योगफल तयार गर्यो । उपकप्तान वेंकटेश अय्यरले आक्रामक रूपमा २९ बलमा ६० रन प्रहार गरे । रिकु सिंह १७ बलमा ३२ रन अविजित रहँदै अन्त्यसम्म टिके । कप्तान अजिंक्य रहाणे (३८ रन) र अंगक्रिश रघुवंशी (५० रन) ले तेस्रो विकेटका लागि ८१ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याए ।
हैदराबादको लक्ष्य पछ्याउने यात्रा निकै निराशाजनक रह्यो। पहिलो १३ रनमै तीन विकेट गुमाएको टोली १२० रनमै अलआउट भयो । ट्राभिस हेड लगातार दोस्रो खेलमा वैभव अरोराको बलमा सस्तोमा आउट भए । इसान किशन र अभिषेक शर्माले पनि खास प्रदर्शन गर्न सकेनन् । हेनरिक क्लासेनले २१ बलमा ३३ रन बनाए भने कामिन्डु मेंडिसले २० बलमा २७ रन जोडे । नितिश रेड्डीले १९ रनको योगदान दिए तापनि हैदराबाद १६.४ ओभरमै समेटियो ।
कोलकाताका बलरहरूमध्ये वैभव अरोराले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए भने वरुण चक्रवर्तीले ४ ओभरमा २२ रन खर्ची ३ विकेट चट्काए । आन्द्रे रसेलले १.४ ओभर बलिङ गर्दै २ रन खर्चेर २ विकेट लिए ।
यस जितपछि कोलकाता ४ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ, लगातार तेस्रो हार बेहोरेको हैदराबाद २ अंकसहित तालिकाको पुछारमा पुगेको छ ।
