वर्डक्याम्प नेपाल २०२५ सुरु, डिजिटल प्रविधि तथा नेटवर्किङका लागि सुनौलो अवसर


काठमाडौं । प्रविधिको महाकुम्भ मेलाको रूपमा हेरिएको वर्डक्याम्प नेपाल २०२५ आजदेखि काठमाडौंमा सुरु भएको छ । वर्डक्याम्प चन्डोलस्थित कुन्डलिनी दरबारमा सुरु भएको हो ।
भोलिसम्म चल्ने उक्त कार्यक्रममा सूचना प्रविधि क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी तथा विज्ञहरूको उपस्थिति रहनेछ । सम्मेलनमा वर्डप्रेसमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगबारे अभिनाष कुन्डलियाको प्रस्तुति रहनेछ । जसमा एआई प्रयोगले वेबसाइट कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने थाहा पाइने आयोजकले जनाएको छ ।
यस्तै, ५० प्रभावशाली महिला २०८१ को सूचीमा पर्न सफल समाजसेवी सुभासिनी श्रेष्ठ वक्ताको रूपमा उपस्थित भएकी छिन् । उनी दृष्टिविहीन तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूसम्म डिजिटल पहुँच पुर्याउन काम गर्दै आइरहेकी छिन् ।
एसइओ विशेषज्ञ एडलिन दाहाल, डिजिटल मार्केटिङ कन्सलटेन्ट रामबाबु थापा, ग्राफिक डिजाइनर आशिका न्यौपानेका साथै वर्डप्रेसमा लामो समय बिताइरहेका वर्डप्रेस विशेषज्ञहरू मिलन खनाल, नवीन जयसवाल, साकार उपाध्याय खतिवडा, सलोनी मेहता, सन्तोष कुँवर र शंकर सुब्बा लगायतको प्रस्तुति तथा वर्कसप सञ्चालन हुनेछ । नेपाल, भारत, बंगलादेश, अमेरिका तथा युरोपेली देशका प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ ।
उक्त सम्मेलनमा अन्तर्राष्ट्रिय स्तरका सूचना प्रविधि क्षेत्रका अनुभवी विज्ञ तथा वक्ताहरूको समेत उपस्थिति र प्रस्तुति हुनेछ । उनीहरूले प्रविधिका विभिन्न क्षेत्रको अनुभव, भोगाइदेखि प्राविधिक समस्या समाधानका उपायबारे आफ्ना अनुभव आदान प्रदान गर्नेछन् ।
सूचना प्रविधिमा चासो राख्ने सहभागीहरूका लागि सम्मेलनमा सहभागिताको अवसर समेत उपलब्ध गराइएको वर्डक्याम्प नेपालले जनाएको छ ।
सूचना प्रविधिसँग सम्बन्धित विभिन्न विषयबारे जानकारी दिने, प्रशिक्षण गराउने तथा आपसी सहयोग तथा सहकार्यलाई मजबुत बनाउन वर्डक्याम्पले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ । सम्मेलनमा अन्तरक्रियात्मक कार्यशालाहरू, प्रेरणादायी वक्ताहरूको प्रस्तुति, नेटवर्किङ अवसरहरू लगायत सत्रहरू सञ्चालन हुनेछन् ।
