दक्षिण कोरियाका राष्ट्रपति युन सुक यओल पदमुक्त


काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक यओल पदमुक्त भएका छन् । संवैधानिक अदालतले शुक्रबार सुनाएको फैसलामा उनलाई पदबाट हटाउने निर्णय सुनाएको हो ।
संसद्ले गत डिसेम्बरमा उन विरुद्ध महाभियोग पारित गरेपछि उनी निलम्बित भएका थिए । संवैधानिक अदालतका कार्यवाहक प्रमुख न्यायाधीश मुन ह्युङ-बाईले अदालतको निर्णय सुनाउँदै भने, ‘राष्ट्रपति युनले संवैधानिक संस्थाहरूको अवहेलना गरेका छन् र जनताको मौलिक अधिकार उल्लंघन गरेका छन् । यसले उनको संवैधानिक जिम्मेवारीलाई कमजोर पार्न मात्रै होइन, कोरियाली जनताको विश्वासलाई गम्भीर रूपमा धोका दिएको छ ।’
अदालतको निर्णय सर्वसम्मत रूपमा आएको हो । न्यायाधीश मुनका अनुसार युनका क्रियाकलाप कानुनी तथा संवैधानिक दृष्टिकोणबाट अस्वीकार्य थिए, जसले लोकतान्त्रिक व्यवस्थामा गम्भीर असर पार्न सक्थ्यो । ‘संवैधानिक व्यवस्थाको पुनःस्थापनाका लागि उनलाई पदबाट हटाउनु अपरिहार्य थियो,’ मुनले थपे ।
यो निर्णयसँगै दक्षिण कोरियामा अब ६० दिन भित्र नयाँ राष्ट्रपति चयन गर्न निर्वाचन गरिनेछ । युनले गत ३ डिसेम्बरमा अप्रत्यासित रूपमा सैनिक शासनको घोषणा गरेका थिए । उनले यो कदम राज्यविरोधी तथा उत्तर कोरियाली शक्तिहरूबाट देशलाई जोगाउन आवश्यक रहेको दाबी गरेका थिए । तर, यो निर्णयलाई संसद र अदालत दुवैले अस्वीकार गरेका छन्, जसका कारण उनी पदमुक्त भएका हुन् ।
