डा. शेखर कोइरालाको आग्रह- संविधानभित्र रहेर समाधान खोजौं


मोरङ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान संविधानभित्र रहेर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । मोरङको बूढीगङ्गा गाउँपालिका-१ मा निर्माण गर्न लागिएको ‘बूढगङ्गा पार्क’को बिहीबार शिलान्यास गर्दै उनले संविधानभित्र रहेर शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई रहेको धारणा राखे ।
उनले समस्याको समाधानका नाममा गरिने कुनै पनि प्रकारको हिंसा आतङ्क, तोडफोड, आगजनी स्वीकार्य नहुने विचार राखे । कांग्रेस केन्द्रीय सदस्य डा कोइरालाले यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनाका निष्पक्ष छानबिन गर्न समिति गठन गर्नुपर्ने बताए ।
उनले लोकतान्त्रिक सङ्घीय गणतन्त्रलाई बलियो र दिगो बनाउन राजनीतिक दलहरुभित्र सुधार हुनु आवश्यक रहेको धारणा राखे । नेता कोइरालाले भने, ‘दुई ठूला दल कांग्रेस र नेकपा एमाले मिलेर बनेको वर्तमान सरकारले संविधान संशोधन, आर्थिक विकास, सुशासन तथा रोजगारी सिर्जना गर्नतर्फ संवेदनशील हुनु जरुरी छ ।’
बूढीगङ्गा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले यसक्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न पार्क निर्माण गर्न लागिएको बताए । सिङ्गिया खोलाको किनारका चार विघा क्षेत्रफलमा रु २१ करोड पार्क निर्माण गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष मगरले जानकारी दिए ।
