गण्डकी प्रदेश लोक साहित्य र संस्कृतिको उर्वरभूमि : पृथ्वीसुब्बा गुरुङ

कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश लोक साहित्य, संस्कृति र लोक नृत्यको उर्वरभूमि रहेको बताएका छन् । उनले समाज रुपान्तरणका लागि गीत सङ्गीत शक्तिशाली रहेको बताए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा पोखरा सभागृहमा आज वरिष्ठ लोकगायक पुरुषोत्तम न्यौपानेको साङ्गीतिक साँझको शुभारम्भ गर्दै उहाँले नेपालको लोक साहित्यमा गण्डकी प्रदेश र यहाँका कलाकारको योगदानलाई सदैव जीवित राख्नुपर्नेमा जोड दिए ।

“गण्डकी प्रदेशले नेपालको लोक साहित्य र सङ्गीतका क्षेत्रमा गरेको योगदानको सन्देश सधैँ दिनुपर्छ । गण्डकी लोक साहित्य र नृत्यको उर्वरभूमि हो, यो अहिले पनि जीवित छ”, सञ्चारमन्त्री गुरुङले भने ।

गीत गाउने, नाच्ने तथा रमाउनेजस्ता स्वतन्त्रता लोकतन्त्र र गणतन्त्रका कारण सम्भव भएको बताउँदै उनले सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थामा मात्र स्वतन्त्रताको उपभोग सम्भव रहने बताए ।

उनले भने,“स्वतन्त्रताबिना नेपाली समाज समृद्ध बन्न सक्दैन । मानिस गीत–सङ्गीतले खुसी हुन्छ । गीत–सङ्गीतको अधिकार लोकतन्त्रको कारण सम्भव भएको हो ।”

लोकदोहोरी गायक तथा सर्जक न्यौपानेका ‘सरर पानीघट्टामा’, ‘ऐना हेरेर’, ‘रुन्छ नि मन किन रुँदैन’जस्ता दर्जनौँ गीत चर्चित छन् । साढे तीन दशकदेखि निरन्तर नेपाली लोकसङ्गीतमा रहनुभएका न्यौपानेका हजार बढी गीत रेकर्डेड छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *