पार्टी काममा फर्किएको पाँच दिनमै रविलाई अदालतको झड्का


काठमाडौं । हकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीबाटै पक्राउ परेको साढे पाँच महिनापछि पार्टी काममा फर्केका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउने आदेश गरेको छ ।
लामिछाने पार्टी काममा फर्किएको पाँच दिन मात्रै भएको थियो । अदालतमा सहकारी ठगीको मुद्दा विचाराधीन रहेको अवस्थामा लामिछाने भने पार्टी काममा फर्किएका थिए । उनी यही चैत्र १८ गतेदेखि पार्टी काममा थिए । यसबीचमा उनले निलम्बन फकुवा माग गर्दै सभामुख देवराज घिमिरेसँग पनि आग्रह गरेका थिए ।
सहकारी ठगी मुद्दा लागेपछि सक्रिय राजनीतिमा नदेखिएका लामिछाने यही चैत १८ गते तामझामकासाथ पार्टी कार्यालय पुगेका थिए । न्यायाधीशद्धय रमेश ढकाल र स्वीकृती पराजुलीको इजलासले शुक्रबार लामिछानेलाई थुनामा पठाउने आदेश गरेको उच्च अदालत तुलसीपुर बुटवलका सुचना अधिकारी राम बहादुर कुँवरले मकालुखबरलाई बताए ।
जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई रुपन्देही जिल्ला अदालतले एक करोड धरौटी रिहा गर्न आदेश दिएको थियो ।
सहकारी ठगी सम्बन्धी कसूर र संगठित अपराध सम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो ।
पार्टी काममा फर्किएको ५ दिनमै लामिछानेलाई झड्का लागेको हो । उच्च अदालतको आदेशपछि उनी पुर्पक्षका लागि थुनामा पठाइएका छन् ।
