अदालतको आदेशपछि रवि लामिछानेले भने – गिरफ्तारी दिदैछु

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले उच्च अदालत तुलसीपुर,बुटवल इजलासले गरेको आदेश बमोजिम आज (शुक्रबार) नै गिरफ्तारी दिने भएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सो जानकारी दिएका हुन् । उनले आफुमाथि ठूलो अन्याय भएको समेत बताए ।

उनले लेखेका छन्,‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिदैछु। साथै न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु । म माथि ठुलो अन्याय भएको छ ।’

साथै उनले भोलि (शनिबार) हुने चितवनको सभा नरोक्न समेत आग्रह गरेका छन् ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई रुपन्देही जिल्ला अदालतले एक करोड धरौटी रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि लामिछानेले बैंक ज्ञारेन्टीमार्फत उक्त धरौटी रकम बुझाएपछि रिहा भएका थिए ।

जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए ।

शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवलका न्यायाधीशद्धय रमेश ढकाल र स्वीकृती पराजुलीको इजलासले पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो ।

सहकारी ठगी सम्बन्धी कसूर र संगठित अपराध सम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *