खबर दिनभर : ओली-मोदी भेटवार्ता, रवि लामिछाने पक्राउ, कुलमान राजनीतिमा आउने संकेत


बर्दियाको समृद्धि विशेष प्राथमिकतामा : अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्दियाको समृद्धिका लागि विशेष प्राथमिकता दिइने बताएका छन् ।
मैनापोखरमा आयोजित जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गतको खबरदारी सभामा पूर्व प्रधानमन्त्री दाहालले बर्दियाको पर्यटन विकास, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा निरन्तर रुपमा अघि बढ्ने बताए ।
उनले हुलाकी राजमार्गको काम लामो समयदेखि अवरुद्ध रहेको उल्लेख गर्दै आफ्नै दोस्रो कार्यकालमा प्रधानमन्त्री हुँदा भारत सरकारको सहयोगमा गति ल्याइएको स्मरण गरे ।
उनले बेपत्ता तथा सहिद परिवारलाई प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गरिएको जानकारी दिँदै राज्यकै राजपत्रमा समेत अभिलेखीकरण गरिएको बताए ।
सत्य निरूपण तथा बेपत्ता छानबिनसम्बन्धी कार्य कानुनी रूपमा अब कुनै अवरोध नहुने उनले प्रस्ट पारे ।
अध्यक्ष दाहालले दुई महिनाभित्र सत्य निरूपण र बेपत्ता छानबिन आयोगको सिफारिस समितिले काम थाल्ने जानकारी दिँदै भने, ‘सहिद तथा बेपत्ता योद्धाहरूको सम्मानमा विभिन्न जिल्लामा ऐतिहासिक बलिदान स्थलहरूमा पार्क निर्माण गरिनेछ । पीडित परिवारलाई राहत दिइनेछ, एक सदस्यलाई रोजगारीको ग्यारेन्टी हुनेछ ।’
सामाजिक न्यायको क्षेत्रमा उल्लेखनीय प्रगति भएको भन्दै उनले १५ लाखभन्दा बढी वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको बताए । पार्टीको उक्त अभियान झापाबाट सुरु भई कञ्चनपुरसम्म पुग्ने छ ।
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार भेटवार्ता भएको छ । थाइल्याण्डको बैंककमा उनीहरुबीच भेटवार्ता भएको हो ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा दुई नेताबीच भेटवार्ता भएको हो ।
यसअघि प्रधानमन्त्री ओलीले म्यानमार, श्रीलंकाका,बङ्गलादेश, भुटान, लगायत देशका समकक्षीसंग भेटवार्ता गरेका थिए । यही चैत्र १९ गते थाइल्यान्ड प्रस्थान गरेका प्रधानमन्त्री ओली चैत्र २३ मा स्वदेश फर्किने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा।आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा। युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत छन् ।
रवि लामिछाने पक्राउ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । लामिछाने शुक्रबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढानिलकण्ठ स्थित हेपाली हाइटबाट पक्राउ परेका हुन् ।
शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याउँदै थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधिशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले सो आदेश गरेको थियो ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई रुपन्देही जिल्ला अदालतले एक करोड धरौटी रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि लामिछानेले बैंक ज्ञारेन्टीमार्फत उक्त धरौटी रकम बुझाएपछि रिहा भएका थिए ।
जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए ।
सहकारी ठगी सम्बन्धी कसूर र संगठित अपराध सम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो ।
राजनीतिमा आउने संकेत दिँदै कुलमानले भने – जुनसुकै जिम्मेवारी लिन तयार छु
नेपाल विद्युत् प्राधिकरणबाट हटाइएका कुलमान घिसिङले देशको हितका लागि जुनसुकै जिम्मेवारी लिन तयार रहेको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
राजनीतिमा आउने सम्भावनाबारे पत्रकारले सोधेको प्रश्नमा उनले आफू जिम्मेवार नागरिक भइसकेको भन्दै जिम्मेवार नागरिकको हैसियतले जुनसुकै जिम्मेवारी लिन तयार रहेको बताए ।
आफु सदैव देशको हित र सम्मृद्धिको लागि कुनै पनि जिम्मेवारी लिन तयार रहेको उनले बताए ।
सरकारले प्राधिकरणबाट घिसिङलाई हटाएपछि उनी पुनर्वहालीका लागि अदालत गएका थिए । तर अदालतले उनको माग अनुसार मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
मोदीसंगको भेटपछि ओलीले भने – आत्मीय र सौहार्दपूर्ण संवाद
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंगको भेटवार्ता आत्मीय र सौहार्दपूर्ण रहेको बताएका छन् ।
उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सो कुरा बताएका हुन् । उनले लेखेका छन्, ‘मेरा प्रिय मित्र, भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदी जीसँग आज बैंककमा आत्मीय र सौहार्दपूर्ण संवाद भयो। हाम्रो संवाद अत्यन्त सार्थक रह्यो। हामीले नेपाल९भारत सम्बन्धका विभिन्न पक्षमा छलफल गर्यौं। विम्स्टेक शिखर सम्मेलनले उठान गरेका मुद्दाका साथै दुई देशीय सम्बन्ध र क्षेत्रीय सहकार्यलाई अगाडि बढाउन नयाँ साझेदारीका लागि यो संवाद महत्त्वपूर्ण हुने छ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सामाजिक सञ्जाल एक्समा ट्वीट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसंगको भेटवार्ता फलदायी रहेको बताएका छन् ।
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच शुक्रबार थाइल्याण्डको बैंककमा भेटवार्ता भएको थियो ।
जाजरकोट केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प
जाजरकोट केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ । शुक्रबार साँझ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको थियो । भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस भएको थियो ।
उच्चले गर्यो जिल्ला अदालतको आदेश सदर, छविलाल जोशी थुनामा पठाइए
जिल्ला अदालत रुपन्देहीको आदेश सदर गर्दै उच्च अदालत तुलसीपुरको बुटबल इजलासले पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउने आदेश गरेको छ ।
न्यायाधीशद्धय रमेश ढकाल र स्वीकृती पराजुलीको इजलासले शुक्रबार गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक समेत रहेका जोशीलाई थुनामा पठाउने आदेश गरेको उच्च अदालत तुलसीपुर बुटवलका सुचना अधिकारी राम बहादुर कुँवरले मकालुखबरलाई बताए ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका जोशीलाई यसअघि जिल्ला अदालत रुपन्देहीले पनि थुनामा पठाउने आदेश गरेको थियो ।उक्त निर्णय विरुद्ध जोशी उच्च अदालत पुगेका थिए ।
ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहीबार नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज तोलामा ३ हजार ९ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन तोलामा १ लाख ८० हजार ३ सय रुपैयाँका कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि २५ रुपौयाँले घटेर १ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो ।
