वर्डक्याम्प नेपाल-२०२५ को दोस्रो तथा अन्तिम दिन, प्रविधि विज्ञहरूद्वारा प्रेरणादायी प्रस्तुति

काठमाडौं । प्रविधिको महाकुम्भका रूपमा चिनिएको वर्डक्याम्प नेपाल २०२५ आज आफ्नो दोस्रो तथा अन्तिम दिनमा प्रवेश गरेको छ । राजधानीको चन्डोलस्थित कुन्डलिनी दरबारमा आयोजना गरिएको यो सम्मेलनले सूचना प्रविधिमा चासो राख्ने हजारौं सहभागीहरूलाई एकै थलोमा ल्याएको छ ।

समापन दिनमा पनि कार्यक्रम उत्साहजनक रूपमा अगाडि बढेको छ । वर्डप्रेस र कृत्रिम बुद्धिमत्ता (एआई) को समायोजनबारे अभिनाष कुन्डलियाले आज प्रस्तुति दिनेछन्, जसले वेबसाइट विकासलाई अझ प्रभावकारी बनाउने उपायहरूबारे सहभागीहरूलाई जानकारी दिनेछ ।

यस्तै, ५० प्रभावशाली महिला २०८१ सूचीमा पर्न सफल समाजसेवी सुभासिनी श्रेष्ठको प्रेरणादायी उपस्थिति आज पनि जारी रहनेछ । दृष्टिविहीन तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूका लागि डिजिटल पहुँचका क्षेत्रमा उनको योगदानबारे आजको सत्रमा विशेष चर्चा हुने बताइएको छ ।

कार्यक्रममा डिजिटल मार्केटिङ, एसइओ, ग्राफिक डिजाइन तथा वर्डप्रेस विकाससँग सम्बन्धित विविध सत्रहरू सञ्चालन भइरहेका छन् । आजको दिनमा एडलिन दाहाल, रामबाबु थापा, आशिका न्यौपाने, मिलन खनाल, नवीन जयसवाल, साकार उपाध्याय खतिवडा, सलोनी मेहता, सन्तोष कुँवर र शंकर सुब्बा जस्ता विशिष्ट वक्ताहरूका कार्यशालाहरू प्रमुख आकर्षण हुनेछन् ।

भारत, बंगलादेश, अमेरिका र युरोपेली देशहरूबाट आएका प्रविधि विज्ञहरूको अनुभव साटासाटले कार्यक्रममा अन्तर्राष्ट्रिय आयाम थपेको छ । सहभागीहरूलाई नेटवर्किङ, अन्तरक्रिया, तथा व्यावसायिक सहकार्यको अवसर मिलिरहेको आयोजकले जानकारी दिएको छ ।

सूचना प्रविधिमा चासो राख्ने विद्यार्थी, व्यवसायी, विकासकर्ता तथा प्राविधिकहरूको उल्लेख्य सहभागिताले वर्डक्याम्प नेपाल २०२५ लाई सफलताको अर्को उचाइमा पुर्‍याएको आयोजकको भनाइ छ । कार्यक्रम आज बेलुकी औपचारिक रूपमा समापन गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *