बिमस्टेकका सदस्य राष्ट्रका प्रमुखलाई सगरमाथा संवादको निम्तो

काठमाडौँ । प्रधानमन्त्री ओलीले आफ्नो थाइल्याण्ड भ्रमणका क्रममा दुई पक्षीय र बहुपक्षीय सहयोग र सहकार्यका सम्बन्धमा फलदायी वार्ता भएको बताएका छन् ।

थाइल्याण्ड भ्रमण पूरा गरी शनिवार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट जारी प्रेस विज्ञप्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव अमृतबहादुर राईले वाचन गर्दै भ्रमण सफल र फलदायी भएको बताएका हुन् ।

पराराष्ट्र सचिव राईले प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमण दुई देशबिचको सम्बन्ध विस्तार तथा दुई पक्षीय आर्थिक दायरा बिस्तार गर्दै निजी क्षेत्रको सहकार्यको अभिवृद्धि गर्नु लगायतका उद्देश्य रहेको बताए ।

उनले नेपालको तर्फबाट प्रधानमन्त्री स्तरको पहिलो थाइल्याण्ड भ्रमण भएको बताए । उनले थाइल्याण्डले नेपालको कृषि, पर्यटन तथा सूचना प्रविधिमा लगानी एवं प्रविधि हस्तान्तरण गर्ने सहमति भएको बताए । उनले नेपाल र थाइल्याण्डबीच दुई वटा र निजी क्षेत्रका व्यवसायीबिच आर्थिक लगानीका विषयमा सहकार्य गर्न ६ वटा सम्झौता भएको बताए ।

उनले भने ‘नेपालको तर्फबाट प्रधानमन्त्रीस्तरमा थाइल्याण्डको पहिलो औपचारिक भ्रमण भएको यहाँहरूलाई पहिला नै अवगत भइसकेको छ । मेरो भ्रमणको उद्देश्य नेपाल र थाइल्याण्डबीच सदियौँदेखि कायम रही आएको मित्रता र सद्भावमा थप अभिवृद्धि गर्ने, दुई देशबिचको सामाजिक सांस्कृतिक एवं जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने, दुई पक्षीय आर्थिक दायरालाई विस्तार गर्ने र राष्ट्रिय समृद्धिको राष्ट्रिय आकांक्षाको हासिल गर्न थाइ सरकार र निजी क्षेत्रको सहकार्यलाई अभिवृद्धि गर्नु रहेको थियो । यसका साथै नेपाली प्रतिनिधिको नेतृत्व गर्दै थाइल्याण्डको छैटौँ विमस्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्ने र घनिभूत क्षेत्रीय सहकार्यमार्फत सदस्य मुलुकका पारस्परिक हितका विषयमा छलफल गर्ने मेरो भ्रमणको अर्को उद्देश्य रहेको थियो ।

थाइल्याण्डमा रहँदा मैले थाइ प्रधानमन्त्रीसँग प्रतिनिधि मण्डलसँग दुई पक्षीय वार्ता गरेँ । उक्त अवसरमा नेपाल र थाइल्याण्डबीच व्यापार तथा लगानी कृषि पर्यटन शिक्षा मानव संसाधनलगायत दुई पक्षीय सम्बन्धका आपसी हित र बहुपक्षीय सहयोग र सहकार्यका बारेमा विस्तृत र फलदायी कुराकानी भएको छ । थाइ लगानी तथा प्रविधि हस्तान्तरण गर्न तयार रहेको थाइ प्रधानमन्त्रीले व्यक्त गर्नुभयो । थाइल्याण्डले दक्षता हासिल गरेको पर्यटन, कृषि तथा सूचना प्रविधिलगायतका क्षेत्रहरूमा थाइ लगानी तथा प्रविधि हस्तान्तरणमार्फत सहयोग गर्न थाइल्याण्ड सरकार तयार रहेको विचार प्रधानमन्त्री शिनाबात्रले व्यक्त गर्नुभयो ।

शिक्षा तथा मानव संसाधन विकासका लागि दुई पक्षीय सहयोग अभिवृद्धि गर्दै लैजाने विषयमा समेत महत्त्वपूर्ण र सार्थ कुराकानी भएका छन् । दुई देशका सम्बन्ध सुदृढीकरणका साथ साथै जलवायु परिवर्तन, दिगो विकास विश्व शान्तिलगायतका साझा चासोका विषयहरूमा क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा आपसी सहयोग र सहकार्य तप बलियो र प्रभावकारी बनाउने बारेमा दुई पक्षबिच सहमति भएको छ ।

भ्रमणका अवसरमा नेपाल सरकार र थाइल्याण्ड सरकारबिच आपसी सहयोग आदान प्रदान गर्न पर्यटन र सांस्कृतिक सहयोग सम्बन्धमा दुई छुट्टा छुट्टै सम्झौताहरू हस्ताक्षर भएका छन् । त्यस्तै दुई देशका निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूबिच आपसी सहकार्यका लागि ६ वटा भिन्दा भिन्दै सम्झौतामा हस्ताक्षर भएको छ ।’

प्रधानमन्त्री ओलीको तर्फबाट प्रेस वक्तव्य वाचन गर्दै सचिव राईले प्रधानमन्त्री ओलीले थाइल्याण्डको प्रख्यात सूचना प्रविधि संस्था एसियन इन्स्टिच्युट टेक्नोलोजी ९एआइटी० मा सम्बोधन गरेको बताए ।

उक्त संस्थाले हालसम्म १८ सय नेपाली विद्यार्थीलाई उच्च शिक्षा प्रदान गरेको बताउँदै उनले नेपाली विद्यार्थीलाई नेपाल फर्किएर आफूले जानेको प्रविधिमार्फत नेपालको विकासमा योगदान पुर्याउन प्रधानमन्त्री ओलीले प्रेरित गरेको बताए ।

प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रतिष्ठित व्यासायीहरुलाई नेपालमा वैदेशिक लगानी सरल, सुरक्षित र प्रतिफलमुखी बनाउन उपयुक्त वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

उनले भने ‘थाइल्याण्ड भ्रमणका अवसरमा नेपाली र थाइ प्रख्यात व्यवसायीहरूसँग गरेको अन्तरक्रियामा मैले नेपालमा वैदेशिक लगानीका लागि कानुनी, सामाजिक र आर्थिक वातावरण रहेको र वैदेशिक लगानीलाई सरल, सहज र सुरक्षित प्रतिफलमुखी बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको कुरा उल्लेख गरेको छु । नेपालमा लगानीको प्रचुर सम्भावनाको चर्चा गर्दै ठूलो संख्यामा त्यहाँ सहभागी सफल एवं प्रतिष्ठित थाइ व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आह्वान गरेको छु ।

थाइ लगानीकर्ताहरूले नेपालमा आफ्नो लगानी विस्तार गर्न इच्छा जाहेर गरेका छन् । थाइल्याण्ड भ्रमणकै क्रममा एसियन इन्स्टिच्युट टेक्नोलोजी एआइटीमा पनि सम्बोधन गरेको छु । त्यहाँको प्रमुख सञ्चालक समितिका अधिकारी, प्राध्यापक कर्मचारी एवं विद्यार्थीसँग भेट र अन्तरक्रिया गरेको छु । एआइटीले हालसम्म करिब १८सय नेपालीलाई उच्च शिक्षा प्रदान गरेको छ । त्यहाँ अध्ययनरत विद्यार्थीलाई नेपाल फर्की देश विकासमा योगदान पुर्याउन प्रेरित गरेको छु ।’

सचिव राईले प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विमस्टेक राष्ट्रका समकक्षीहरूसँग छुट्टाछुट्टै भेट गरी दुई पक्षीय आपसी सम्बन्ध र हितका विषयमा कुराकानी र छलफल भएको जानकारी दिए ।

त्यस्तै नेपालमा गर्न लागेको सगरमाथा संवादमा भाग लिन बिमस्टेक राष्ट्रका प्रधानमन्त्रीहरूलाई प्रधानमन्त्री ओलीले निमन्त्रणापत्र प्रदान गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *