नेपाल सुपर लिग : पोखरा थन्डर्सको पहिलो जित

काठमाडौँ । पोखरा थन्डर्सले पूर्वविजेता काठमाडौं रेजर्सलाई हराउँदै नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार भएको पहिलो खेलमा पोखराले काठमाडौं रेजर्समाथि २–० को जित निकालेको हो ।

पोखराको जितमा स्टेफन बिनोङ र सुदिल राईले गोल गरेका हुन् । तीन खेलबाट पोखराले पहिलो तीन अंक बटुलेको हो । काठमाडौंको भने तीन खेलसम्म जितविहीन भएको छ । काठमाडौं यसअघि पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसीसँग २–२ र झापा एफसीसँग गोलरहित बराबरीको नजिता सामना गरेको थियो । तेस्रो खेलमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको काठमाडौंको लक्ष्य पूरा भएन । यससँगै काठमाडौंले तीन खेलबाट दुई अंक मात्र जोडेको छ ।

सात टोली सहभागी तेस्रो संस्करणमा तेस्रो खेलसम्म जितविहीन रहँदा काठमाडौं दबाबमा पनि परेको छ । यता, पोखरा पनि यस खेलअगाडिसम्म अंकविहीन टोली हो । तर, तेस्रो खेलमा भने पोखराले जित निकाल्यो । पोखराले यसअघि दुवै खेल हारेको थियो । उसले पहिलो खेलमा एफसी चितवन २–० र दोस्रो खेलमा ललितपुर सिटी एफसीसँग २–१ ले हार बेहोरेको थियो । त्यसैले काठमाडौंविरुद्ध जित्नैपर्ने दबाबका साथ पोखरा मैदान उत्रिएको थियो । सोहीअनुरूप सफल पनि भयो र पोखराको तीन अंक जोड्यो ।

पोखराले खेलको दोस्रो मिनेटमा नै पोखराका सुदिल राईको गोल गर्ने प्रयास सफल भएन । करिव २० यार्ड टाढाबाट उनको सशक्त प्रहार क्रसबारमा लागेर फर्कियो । यससँगै पोखराले राम्रो अवसर गुमायो ।

सातौं मिनेटमा काठमाडौंले पनि अवसर सदुपयोग गर्न सकेन । जिलेस्पीजंग कार्कीको थ्रु पासमा भिनसेन्ट कोजिएलोले अफसाइड ट्य्राप बिट गर्दै दिएको पासमा मोहम्मद बुया टुरेको प्रहार पोखराका गोलकिपर प्रिसोले असफल बनाए । रिबाउन्डमा पनि अर्मान्डो डियोपको प्रहार पोखराका डिफेन्डरले गोललाइन नजिकैबाट बचाए । २२औं मिनेटमा पोखराको प्रयासमा गोलकिपर अभिषेक बराल बाधक भए ।

कप्तान आयुष घलानको पासमा मार्की खेलाडी समिर तामाङको प्रहारलाई गोलकिपर अभिषेकले उत्कृष्ट बचाउ गरे । तर, २५औं मिनेटमा भने स्टेफन बिनोङको गोलबाट पोखराले अग्रता लियो ।

साइडोस्टन जाफारोले दिएको क्रसमा बिनोङको डाइभिङ हेडर गोलमा परिणत भएको हो । ३३औं मिनेटमा पोखराले अग्रता दोब्बर बनाउने अवसर गुमायो । काठमाडौंका कप्तान कुलदीप कार्कीले स्टेफन बिनोङलाई बक्सभित्र तानेर लडाएपछि रेफ्री श्याम दनुवारले पोखरालाई पेनाल्टी अवसर दिए । तर, समिरको पेनाल्टी प्रहार काठमाडौंका गोलकिपर अभिषेकले डाइभ गर्दै रोके । पोखरा दोस्रो गोल गर्न चुक्यो । ३९औं मिनेटमा फेरि पोखराले अर्को अवसर गुमायो ।

आयुष घलानको सटिक क्रसमा बिनोङको ओपन हेडर फितलो बन्यो । यससँगै पहिलो हाफमा पोखराले १–० को अग्रता बनायो ।

काठमाडौं दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन । ५८औं मिनेटमा पोखराले अग्रता बढायो । आयुषले डिफेन्डर कुलदीप कार्कीलाई बिट गर्दे दिएको क्रसमा सुदिलको सामान्य टच काठमाडौंका अलिजोन अलिजोनोभलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको हो ।

ससँगै काठमाडौं २–० ले पछि पर्यो । काठमाडौंले ८५औं मिनेटमा गोल गर्ने मौका खेर फाल्यो । दिनेश हेन्जानको पासमा बुया टुरेको हेडर माथिल्लो बारमा लागेर फर्कियो । ८९ औं मिनेटमा जिलेस्पीजंग कार्कीको प्रहारमा पनि फेरि माथिको बारमा नै लागेर फर्किन पुग्यो । त्यसपछि पनि काठमाडौंले गोल गर्न सकेन र पोखरा २–० को जित निकाल्न सफल भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *