खबर दिनभर : काम गर्न नदिने मनोदशा भएमा विकासको गति रोकिने, ‘श्रीपेच’ चिह्नमा मत माग्न पूर्वराजालाई सुझाव


देशमा काम गर्न नदिने र छेक्ने मनोदशा भएमा विकासको गति रोकिन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको पहिलो औपचारिक भ्रमणबाट नेपालमा लगानी र सहकार्यवृद्धिका सम्भावनाका ढोकाहरु खुलेको बताएका छन् ।
आज गोकर्णमा आयोजना गरेको ‘एनसेल–बाह्रखरी गल्फ तथा आर्थिक सङ्गोष्ठी’ मा प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा नेपाली र थाइल्याण्डका व्यासायिक समुदायबीचको अनुभव आदानप्रदान र विभिन्न सम्झौता हुनु अन्त्यन्त फलदायी कार्य भएको बताएका हुन् ।
थाइल्याण्डको पहिलो औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्किएलगत्तै गोकर्णमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ४० प्रतिशतको हाराहारीमा युवा जनसङ्ख्या रहेको स्थितिमा भएका स्रोत साधनको प्रयोग गरे दक्ष जनशक्ति तयार गर्दै विकासको गति तीव्र बनाउनुपर्ने बताए ।
‘देशमा काम गर्न नदिने र छेक्ने मनोदशा भएमा विकासको गति रोकिन्छ । तीव्र रुपमा काम हुनका लागि सबैमा देशभक्ति हुनुपर्छ । हामीले राम्रा कानुन बनाइ ती कानुनको सही रुपमा कार्यान्वयन हुनुपर्छ’, प्रधानमन्त्री ओलीले भने ‘जनताको सरकारसँग भेट हुनेबित्तिकै बैरभाव हुने स्थिति अन्त्य गर्नुपर्छ । हामीले सुशासन र सेवा प्रवाहका क्षेत्रमा प्रयास गरिरहेका छौँ । सम्भावनाहरु धेरै राम्रा छन् । थाइल्याण्डको भ्रमणबाट पनि त्यो ढोकाहरु खुलेको छ ।’
प्रधानमन्त्री ओलीले आफूले डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयनमा ल्याएको स्मरण गर्दै यस क्षेत्रमा दक्ष र रोजगारमूलक जनशक्तिको सङ्ख्या वृद्धि गरेर सूचना प्रविधिको प्रयोगबाट आर्थिक लाभ लिनसक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सूचना प्रविधिको उपयोगबाट उत्पादन र उत्पादकत्व बढाउन संसद्बाट हालै पारित भएको विधेयकबाट आधार तय भएको उल्लेख गर्दै सूचना प्रविधिको व्यापकताबाट आर्थिक समृद्धिमा लाग्नुपर्नेमा जोड दिए ।
पूर्वराजा लक्षित गगनको टिप्पणी – नचाहिने, मिल्काइसकेको
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै विगतमा मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय नरहेको टिप्पणी गरेका छन् ।
शनिवार एक कार्यक्रममा आयोजना गरेको एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले २०८०—०९० दशक विगतमा फालिसकेको पात्र र विषयमा छलफल गरेर बस्ने समय नरहेको जिकिर गरेका हुन् ।
उनले राजतन्त्रलाई नचाहिने, थोत्रो भएको टिप्पणी गर्दै गइसकेको कुरामा छलफल गर्न जरुरी नरहेको बताए । उनले अबको एक दशक आइटीको एक्सपर्टलाई ५ गुणा कसरी बनाउने, तलब तीन गुणा कसरी बढाउने ? आइटीको एन्फास्ट्रक्चर कसरी बढाउने भन्ने कुरा बहसको विषय बन्नुपर्ने बताए ।
उनले अबको ८/१० वर्ष भित्रमा कीर्तिपुरको डाँडा मात्रै नभई अन्य ठाउँमा पनि दुईरचार लाख रुपैयाँ कमाएको स्थिति बनाउनसक्ने बताए ।
महामन्त्री थापाले भने ‘हामी अबको ८/१० वर्ष भित्रमा मलाई फेरि पनि मेरो विश्वास छ । कीर्तिपुरको डाँडा मात्रै होइन । त्यस्ता थुप्रै डाँडाहरूमा साथीहरूले दुई चार लाख रुपैयाँ कमाएको स्थिति हामी बनाउनसक्छौँ । त्यो पोर्टेन्सियल हामीसँग छ । तर त्यसका निम्ति सोच्नुपर्नेछ । त्यो डिरेक्शनमा काम गर्नुपर्नेछ । हाम्रो सुरुवात भइसक्यो । अलिकति गति बढाउनुपर्नेछ । हाम्रो गति पुगेको छैन । यो हाम्रो लागि एउटा अवसर हो । कानुनमा ल्याउनुपर्ने बदलाव पनि ल्याऔँ । अरु स्ट्रक्चरमा ल्याउनुपर्ने कुराहरू पनि ल्याऔँ । एकदम पोजेटिभ, ओपन माइण्डेट । सबै कोलाब्रेसनमा गर्ने, निजी, सरकारी भर्सेस केही पनि छैन । मिलेर गर्ने । हाम्रो भागमा परेको काम हामीले र तपाईंको भागमा परेको काम तपाईंले गर्ने हो । अबको ८/१० वर्ष भित्रमा यो २०८० देखि ०९० सालसम्मको यो १० वर्ष यो नचाहिने, थोत्रा, गइसकेको, हिजो लगेर एक ठाउँमा मिल्काइसकेको, थन्काइसकेको विषय र पात्रको बारेमा छलफल गरेर टाइम खेर फाल्ने होइन । हामीले अब गफ गर्नुपर्ने १० वर्षको विषय भनेको हाम्रो आइटीको एक्सपर्टलाई ५ गुणा कसरी बनाउने, तलब तीन गुणा कसरी बढाउने रु आइटीको एन्फास्ट्रक्चर कसरी बढाउने भन्ने कुरा बहसको विषय बन्नपर्छ ।’
विश्वप्रकाशले पुर्वराजालाई भने – ‘श्रीपेच’ चुनाव चिह्नमा जनतासंग मत माग्नुहोस्
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावबाट जनमत सावित गरेर चाहेजस्तो व्यवस्था ल्याउन पूर्वराजालाई चुनौती दिएका छन् ।
झापाको मेचीनगर, धुलाबारीमा पार्टीले आयोजित गरेको क्षेत्रीय प्रशिक्षण कार्यक्रममा आज उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफूसँग जनता छन् भन्ने लागेको भए २०८४ सालको चुनावमा ‘श्रीपेच चुनाव चिह्न’ लिएर दुई तिहाई जनमत ल्याएर व्यवस्था बदल्न चुनौती दिए ।
महामन्त्री शर्माले भने ‘चौरासी सालमा चुनाव हुँदैछ । यदि तपाईलाई आपूmसँग जनता छन् भन्ने लागेको छ भने श्रीपेच चुनाव चिह्नमा मत माग्नुहोस् । दुई तिहाई ल्याएर जनता आफूसँग भएको देखाउनुहोस्, अनि संविधान संशोधन गरेर चाहेको व्यवस्था गर्नुस् तर त्यसबाहेकका उपायद्वारा देशलाई अराजकतातिर लिने प्रयास स्वीकार्य हुँदैन ।’
संविधानसभाको पहिलो बैठकले विधिवत् रूपमा लोकतान्त्रिक गणतन्त्रको घोषणा गरेको स्मरण गर्दै उनले सडकमा केही समर्थक उतार्दैमा राजावादीले संविधानसभाको निर्णय उल्ट्याउन नसक्ने बताए ।
हराउँदै चैते दसैँ मेलाको मौलिकता
‘चैते दसैँ मेलैमा, माया बस्यो ख्याल ख्यालैमा’
‘बागलुङ बजार मेलैमा, झर्छ आँशु छुट्ने बेलैमा’
चैते दसैँको विषयलाई समेटेर गायक बिमराज क्षेत्री, टीका क्षत्री र र सर्मिला गुरुङले वर्षौँअघि गाएको गीत हो यो । बागलुङको चैतै दसैँ मेलाका रूपमा मात्रै नभई प्रेम र प्रेमिकाको भेट्ने मौकाको रूपमा रहेको पनि गीतले भाव बोकेको छ ।
चैते दसैँ मेलामा भेटिएका पुनःअर्को मेलामा भेट्ने बाचाका साथ छुटेको भावलाई गायक क्षेत्रीले धेरै पहिले गीतमा उतार्नुभएको थियो । गीतमा भनेजस्तै स्थानीय उत्पादनको खरिद बिक्रीसँगै माया पिरतीका लागिसमेत चैते दसैँ मेला प्रख्यात मानिन्छ । चैते दसैँमा गाइने लोकदोहरीमार्फत सयौँ कलाकारसमेत बागलुङले जन्माइसकेको छ ।
चैते दसैँको अवसरमा यस वर्ष पनि बागलुङ कालिका मन्दिर परिसरमा बुधबारदेखि मेला लागेको छ । यहाँको माहोल हेर्दा मेला फेरिएजस्तै यससँग सम्बन्धित मौलिक भाकासमेत फेरिएका छन् । यस वर्ष मात्रै होइन हुन त ऐतिहासिक मानिएको यो मेला हरेक वर्ष फेरिँदै गएको स्थानीयले आभाष गरिरहेका छन् । पछिल्ला वर्षमा चैते दसैँको अवसरमा गाइने मौलिक भाकासमेत हराएका छन् तर रमाइलो मेलामा आकर्षण बढेको छ । कालिका मन्दिर दर्शन गर्न आउने र वर्षभरिलाई आवश्यक सामग्री खरिद बिक्री गर्ने कार्यसमेत परिवर्तन भएको छ ।
चैते दसैँको अवसरमा गाइने ‘एउटो पैसो कहिलेलाई चैते दसैँलाई’ भन्ने गीत अचेल सुनिन छाडेको छ । यस्तै, ‘रेरे साइलो’, ‘यानीमया’, ‘ठाडो भाका’ र ‘सालैजो’जस्ता मौलिक भाका सुनिएका छैनन् । हाल मेलामा रामाइलोका लागि बजाउने आधुनिक गीत मात्रै सुनिने गरेका छन् । आयातित सामग्री खरिद बिक्री गर्ने र रेकर्ड गरिएका तिनै गीतमा नाँच गान गर्ने गरिन्छ । यसपटक पनि मेलामा हालिने लिङ्गे पिङ र चर्खेपिङ्को सट्टा रमाइलो झुला (आधुनिक पिङ) राखिएको छ । स्थानीय ८० वर्षीय दुर्गाबहादुर आचार्यलाई चैते दसैँ मेलाको मौलिकता पछिल्लो दशकदेखि नै फेरिँदै गएको आभाष हुन थालेको छ । त्यो क्रम हरेक वर्षजस्तै बढ्दै छ ।
स्थानीय बिमल श्रीसका अनुसार मेलामा प्लाष्टिकका सामग्रीको खरिद बिक्री भइरहेको तर ठेका तथा डालोको बिक्री हुन छोडेको छ । “चैते दसैँ मेला पहिले र अहिलेसँग तुलाना नै हुँदैन । पहिले मिठो मसिनो खान र राम्रो वस्तु खरिद गर्न चैते दसैँ आउनुपर्दथ्यो, अहिले त मेला आधुनिक बनिसक्यो । स्थानीय सामग्री डाला, नाङ्ला र ठेकीको व्यापार छैन”, उहाँले भन्नुभयो, “रातभरि रेरे साइलो, सालैजो गीत गाएर जाग्राम बसिन्थ्यो, अहिले त कलकारले बनावटी गीतमा लय भर्छन् । पहिला जस्तो मौलिकता छैन । गाउँ–गाउँमा मेला पर्वहरू लाग्न थाले, चैते दसैँ मेलाप्रतिको चाख घटेको छ ।”
चैते दसैँ मेला र यहाँको कालिका मन्दिरसँगै जोडिएर आउँछन् । जिल्लाको आर्थिक, सामाजिक र सांस्कृति विकासमा कालिका मन्दिरको छुट्टै महत्व छ । यो बागलुङ जिल्लालाई चिनाउने एउटा माध्यम पनि हो । चैते दसँैले त्यसमा थप रौनक थप्छ । त्यसैले यो मन्दिर र मेलालाई एक सिक्काका दुई पाटाका रूपमा प्रस्तुत गर्दै थुप्रै गीत पनि गाइएका छन् । “पहिला चैते दसँै लोकदोहोरी गाउँने चौतारी जस्तौ थियो, यहाँ गीत गाएर बागलुङका सयौ कलाकार राष्ट्रिय कलाकार बने”, स्थानीय राम शर्माले भने,“अहिले तिनै कलाकारले चैते दसैँ बिर्सेका छन्, जसले मेलाको महत्वसमेत घट्दै छ । पहिले चैते दशैको दोहोरीको देशभरि चर्चा हुन्थ्यो, अहिले दोहोरीभन्दा अन्य तयारी गीतमा जोड दिइएको छ ।”
कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले चैते दसैँ मेला बागलुङको मौलिक परम्पराजस्तै बनेपनि आधुनिकताको प्रभावले मौलिकता जोगाउन नसकिएको बताए । उनले दर्शकको स्वभाव र रचिअनुसार हाल मेलाको व्यवस्थापन गर्ने गरिएको बताउनुभयो । “ठेका, डालो र नाङ्लो जस्ता स्थानीय मौलिक उत्पादनका स्टलललाई निःशुल्क गरेका छौँ तर उनीहरूको भन्दा प्लाष्टिकजन्य सामाग्रीको खरिदबिक्री बढी हुन्छ”, उहाँले भन्नुभयो, “भजन, रत्यौली र यानीमयाजस्ता गीत प्रदर्शन गर्न थालेका छौँ तर पहिला जस्तो रातभर जाग्राम बसेर मौलिक गीत गाउँने चलन छैन ।”
मन्दिर वरपर पाल टाँगेर स्थानीय उत्पादनहरू कोदो, मकै, धान, चामल, भाँङ्गो, डाला, नाङ्ला, ठेका, आँसी, बाउसा, मान्द्रो, थुन्से, मादल, भाडाँकुडालगायत दैनिक उपभोग्य वस्तुहरू खरिद बिक्री हुने गरेकामा हाल खेलौनाजन्य सामग्री, मदिरा र खानाका परिकार मात्रै बिक्री वितरण हुने गरेकाले व्यापारीहरू पनि त्यसैमा लागेका छन् ।
दुईमहिने जनयात्रामा शान्तिपूर्ण रुपमा सहभागी हुन रास्वपाको अपिल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि दुईमहिने जनयात्रा कार्यक्रम शुभारम्भ गर्दैछ । चितवनको भरतपुर गेष्टहाउस चौरमा आज दिउँसो पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले यात्राको शुभारम्भ गर्ने जनाइएको छ ।
रास्वपाका केन्द्रीय सदस्य राजन गौतमले कार्यक्रमलाई मर्यादित बनाउन नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् । कार्यक्रममा सहभागी हुँदा कुनै उशृङ्खल गतिविधि नगर्न निर्देशन दिइएको उनले बताए ।
उनले भने ‘कार्यक्रम पूर्ण रुपमा शान्तिपूर्ण होस् भन्ने चाहन्छौँ, सोहीअनुसार निर्देशन भएको छ ।’
सबैका कुरा सबैले सुन्ने बानीको विकास गर्नसकेमा मात्रै समाजको विकास हुने उनको भनाइ छ । विचारमा विमति भए पनि देशको विकासका लागि सबै एकठाउँ हुन जरुरी रहेको भन्दै उनले अन्य दलहरु पनि राजनीतिक संस्कारमा रहने विश्वास व्यक्त गरे । चितवनबाट दिएको सन्देश देशभर छिटो प्रवाह हुने उनको भनाइ छ ।
नरेन्द्र मोदी सगरमाथा संवादमा नेपाल नआउने
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सगरमाथा संवादमा नेपाल नआउने बताएका छन् ।
सगरमाथा संवादको समयमा नै मोदीले युरोपको भ्रमण गर्ने कार्यक्रम तय भइसकेकाले नेपाल आउन नपाउने तर भारतबाट उच्चस्तरको प्रतिनिधि सहभागी हुने जानकारी गराएका हुन् ।
शनिवार थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा थाइल्याण्ड भ्रमणमा भारतीय प्रधानमन्त्री मोदीसँग आफ्नो भेट भएको र भेट सुमधुर भएको बताए ।
भारतीय एम्बुलेन्समा अवैध लागुऔषध बरामद, ४ जना पक्राउ
नेपाल प्रहरीले भारतीय एम्बुलेन्समा ठूलो परिणाममा अवैध लागुऔषध ट्रामाडोल क्याप्सुल बरामद गरेको छ ।
शनिवार बिहान १ बजेर ५५ मिनेटको समयमा ललितपुर जिल्लाको कान्ती लोकपथ सडक खण्डमा रहेको प्रहरी चौकी भट्टे डाँडाको चेकपोष्टमा खटिएको प्रहरी टोलीले भारतीय एम्बुलेन्समा ठूलो परिणाममा अवैध लागुऔषध ट्रामाडोल क्याप्सुल बरामद गरेको हो ।
एक पत्तामा १० क्याप्सुल भएको ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आइपी ट्रामाडोल लेखिएको ट्रामाडोल क्याप्सुल ५ हजार ४ सय पत्ता, एक पत्तामा १० क्याप्सुल भएको ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आइपी ५० एमजि ट्रामन लेखिएको ट्रामाडोल क्याप्सुल ४ हजार ८ पत्ता गरी जम्मा ९ हजार ४ सय ८ पत्ता, क्याप्सुल थान ९४ हजार ८० र बिआर ०५ पिए ०४२१ नम्बर भएको भारतीय एम्बुलेन्स एक थान र मोबाइल ३ थान बरामद गरेको पत्रकार सम्मेलनका क्रममा प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए ।
पक्राउ पर्नेमा भारत बिहार प्रान्त, पूर्वी चमपारण, मोतिहारी जिल्ला टुमरिया ग्राम पञ्चायत वार्ड नम्बर ५ स्थायी वतन भएका २० वर्षका समिर आलम, भारतकै मोतिहारी जिल्ला राजबजार नगर वार्ड नम्बर ३३ बताउने वर्ष ३३ का मोहम्मद मुन्ना अन्सारी, मोतिहारीको पलानवा ग्राम पञ्चायत वार्ड नम्बर ९ स्थायी वतन बताउने वर्ष ४५ का नोर्जान खातुन, मोतिहारी जिल्ला नगर वार्ड नम्बर ५ पछियाटोल स्थायी वतन भएका वर्ष २२ का मोहम्मद उमर सिद्धिकी (एम्बुलेन्स चालक) लाई पनि पक्राउ गरिएको बताए ।
सवारीसाधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट काठमाडौंतर्फ तीव्र गतिमा आइरहेको बिआर ०५ पिए ०४२१ नम्बर भएको भारतीय एम्बुलेन्समा चेकजाँच गर्दा लागुऔषध बरामद भएको जिल्ला प्रहरी परिसर ललितपुरले बताएको छ । उनकाअनुसार एम्बुलेन्स चालक भारतको बिहार प्रान्त पूर्वी चम्पारण मोतिहारी जिल्ला रक्सौल नगर वार्डनम्बर ५ पछियाटोल स्थायी वतन भएका वर्ष २२ का मोहम्मद उमर सिद्धिकी रहेका छन् ।
एम्बुलेन्सबाट बाहिर निस्किएर भाग्ने प्रयास गरेकाले उनलाई तत्काल नियन्त्रणमा लिई एम्बुलेन्सको तलासी लिँदा लागुऔषध भेटिएको हो । एम्बुलेन्सको बिरामी राख्ने ठाउँमा कालोमा सेतो धर्का भएको र कालोमा हरियो धर्का भएको समेत गरी दुई वटा छुट्टा छुट्टै झोलामा निम्न परिणामको अवैध लागुऔषध ट्रामाडोल क्याप्सुल लुकाइ छिपाइ ल्याएको अवस्थामा फेला पारिएको बताए ।
एम्बुलेन्समा एक बालक र एक बालिकासहित ६ जना रहेको प्रहरीले बताएको छ ।
हङकङमा हुने टी–२० आई सिरिज खेल्ने नेपाली टोलीको घोषणा, को-को परे ?
हङकङसँग हुने टी–२० सिरिजका लागि अन्तिम टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा सिरिज खेल्ने १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
नेपालले अप्रिल ९ देखि हङकङमा चारदेशीय टी–२०आई सिरिज खेल्नेछ । पहिलो खेल अप्रिल ९ मा कतार, अप्रिल १० मा कुवेत र अप्रिल १२ मा हङकङसँग खेल्नेछ । अप्रिल १३ मा फाइनल हुनेछ ।
नेपाली टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, सोमपाल कामी, करण केसी, शाहव आलम, नन्दन यादव, रिजन ढकाल र गुल्सन झा
राष्ट्रिय खुला टी-२० क्रिकेट : स्याङ्जा र काठमाडौंको विजयी सुरुवात
पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आज (शनिबार) देखि दोस्रो संस्करणको ‘केपी ओली कप’ राष्ट्रिय टी–२० खुला पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आज यहाँ एक कार्यक्रमकाबीच उद्घाटन गरे ।
पहिलो दिनको खेलमा स्याङ्जा र काठमाडौँले विजयी सुरुवात गरेका छन् । आजको पहिलो खेलमा स्याङ्जा क्रिकेट क्लबले पोखरा महानगर क्रिकेट क्लबलाई २३ रनले पराजित गर्दै विजय हासिल गर्यो ।
खेलमा पहिला टस जितेर ब्याटिङ गरेको स्याङ्जाले २० ओभरमा एक सय ६२ रन बनाएको थियो । पोखरा महानगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३८ रन बनाएको थियो ।
स्याङजाका अश्विन रानाले अविजित रहँदै सर्वाधिक ४६ रन जोडे । उनले ३० बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । किरण भट्टराई २३ रनमा अविजित रहे । पोखराका लागि समिर भुजेल र अन्जन केसीले समान दुई÷दुई विकेट लिए भने सुवाष बाँस्तोला र मार्सल बरालले समान एक/एक विकेट लिए ।
यसैगरी, दोस्रो खेलमा काठमाडौँले हेटौँडालाई ११ रनले पराजित ग¥यो । एक सय ५२ रनको विजयी लक्ष्य पाएको हेटौँडा २० ओभरमा एक सय ४० रनमा ‘अलआउट’ भयो । हेटौँडाका लागि शुभ कङ्शाकरले ५४ रनको अर्धशतकीय पारी खेलेपनि जितका लागि पर्याप्त भएन । उनले २४ बलमा नौ चौका र दुई छक्का प्रहार गरे ।
पहिला टस जितेर ब्याटिङ गरेको सिइसी काठमाडौँले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ५१ रन बनाएको थियो । काठमाडौँका लागि पृथु बाँस्कोटाले अविजित ५७ रनको अर्धशतकीय पारी खेले । उनले ३३ बलमा पाँच चौका र चार छक्का प्रहार गरे ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीले एकेडेमीका संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीको नाममा प्रतियोगिता आयोजना गरेको हो ।
आगामी वैशाख ५ गतेसम्म सञ्चालन हुनेप्रतियोगितामा १६ टोलीको सहभागिता रहेको एकेडेमीका अध्यक्ष धुव्र आचार्यले जनाएका छन् । प्रतियोगिताको विजेताले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसैगरी ‘म्यान अफ दि सिरिज’ले रु ३० हजार, वेष्ट बलर, वेष्ट ब्याटरले जनही रु १० हजार र ‘म्यान अफ दि म्याच’ले रु पाँच हजारका साथमा ट्रफी प्राप्त गर्ने एकेडेमीले जनाएको छ ।
म्यान्मामा भूकम्प : मृतकको सङ्ख्या ३३०० नाघ्यो
म्यान्मामा ठूलो भूकम्पबाट मर्नेहरूको सङ्ख्या तीन हजार तीन सयभन्दा माथि पुगेको सरकारी मिडियाले शनिबार बताएको छ । संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुखले विश्वसामु विपद्ग्रस्त राष्ट्रलाई सहयोग गर्न नयाँ आह्वान गरेका छन् ।
मार्च २८ को भूकम्पले देशभरका भवन र पूर्वाधारहरू ध्वस्त पारेको छ । यसको परिणामस्वरूप तीन हजार तीन सय ५४ जनाको मृत्यु र चार हजार पाँच सय आठ जना घाइते भएको तथा दुई सय २० जना बेपत्ता भएको सरकारी मिडियाले प्रकाशित गरेको नयाँ तथ्याङ्कले जनाएको छ ।
विपद् भएको एक हप्ताभन्दा बढी समयपछि पनि देशका धेरै मानिस अझै आश्रयविहीन छन्, या त तिनीहरूको घरहरू नष्ट भएका कारण या थप भत्किने डरले बाहिर सुत्न बाध्य छन् ।
संयुक्त राष्ट्रसङ्घको एक अनुमानअनुसार ७.७ म्याग्निच्युडको भूकम्पले ३० लाखभन्दा बढी मानिस प्रभावित भएको हुन सक्छ । यसले चार वर्षको गृहयुद्धले निम्त्याएको अघिल्लो चुनौतीहरूलाई थप जटिल बनाएको छ ।
संयुक्त राष्ट्रसङ्घका शीर्ष सहायता अधिकारीले शनिबार मध्य म्यान्माको मण्डाले सहरमा पीडितहरूसँग भेट गरे । मण्डाले भूकम्पको केन्द्र नजिकै अवस्थित छ र अहिले सहरभरि गम्भीर क्षति बेहोरेको छ ।
‘विनाश आश्चर्यजनक छ’, टम फ्लेचरले एक्समा एक पोस्टमा लेखेका छन् ‘विश्व म्यान्माका जनताको साथमा उभिनु पर्छ ।’
देशको सैन्य जुन्ता प्रमुख मिन आङ ह्लाइङ शुक्रबार बैंककमा क्षेत्रीय शिखर सम्मेलनमा एक दुर्लभ विदेश यात्राबाट फर्केपछि नयाँ मृत्यु सङ्ख्या घोषणा गरिएको थियो । बैंककमा जुन्ता प्रमुखले थाइल्यान्ड र भारतका प्रधानमन्त्रीहरू लगायत नेताहरूसँग भेट गरेका थिए ।
जनरलको शिखर सम्मेलनमा उपस्थितिले विवाद निम्त्याएको थियो । स्थलमा प्रदर्शनकारीहरूले उनलाई ‘हत्यारा’ भनेर ब्यानर प्रदर्शन गरेका थिए र जुन्ता विरोधी समूहहरूले उनको सहभागिताको निन्दा गरेका थिए ।
सन् २०२१ को विद्रोहमा आङ सान सुकीको नागरिक सरकारबाट सत्ता खोसेपछि उनको सशस्त्र सेनाले म्यान्मामा शासन गरेको छ । उक्त सैन्य कूले बहुपक्षीय द्वन्द्व निम्त्याएको छ र यो अझै समाधान हुन सकेको छैन ।
भूकम्पपछि जुन्ताले दर्जनौँ आक्रमण गरेको बताइएको छ । यसमा बुधबार अस्थायी युद्धविराम घोषणा भएदेखि कम्तीमा १६ वटा आक्रमण भएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ ।
वर्षौंको लडाइँले म्यान्माको अर्थव्यवस्था र पूर्वाधार तहसनहस पारेसँगै भूकम्पपछिको राहत प्रदान गर्न अन्तर्राष्ट्रिय प्रयासहरूलाई उल्लेखनीय रूपमा बाधा पुर्याएको छ ।
चीन, रूस र भारत उद्धार टोलीहरू म्यान्मा पठाएर बाँचेकाहरूलाई पत्ता लगाउन मद्दत गर्ने पहिलो देशहरू मध्ये थिए ।
संयुक्त राज्य अमेरिका परम्परागत रूपमा अन्तर्राष्ट्रिय विपद् राहतको अग्रणी रहेको छ तर राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको मानवीय सहायता एजेन्सीलाई विघटन गरेका छन ।
वासिङ्टनले शुक्रबार म्यान्मालाई पहिलेको २० लाख डलरको सहायतामाथि थप ७० लाख डलर थप्ने बताएको छ ।
