दिल्ली र लाहोरलाई उछिन्दै काठमाडौं बन्यो विश्वकै प्रदूषित राजधानी


काठमाडौँ । उपत्यका पछिल्ला दिनहरूमा फेरि वायु प्रदूषणको चपेटामा परेको छ । आज बिहान ७ः५५ बजेको मापन अनुसार, काठमाडौँको वायु गुणस्तर सूचकांक (AQI) २७० पुगेको छ, जसले गर्दा काठमाडौँ विश्वकै पहिलो प्रदूषित सहर बनेको हो ।
प्रदूषणको सूचिमा भारतको राजधानी दिल्ली २६५ एक्यूआईसहित दोस्रो स्थानमा छ भने, पाकिस्तानको लाहोर १९९ एक्यूआईसहित तेस्रो स्थानमा परेको छ । स्वास्थ्य विज्ञहरुका अनुसार हाल काठमाडौँको हावा मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक अवस्थामा पुगेको छ । केही दिनअघि चलेको हावाले प्रदूषण अलिकति घटाए पनि स्थिति अझै गम्भीर नै छ ।
विगत लामो समयदेखि पानी नपरेको र उपत्यका वरिपरिको जंगलमा लागेको डढेलोका कारण धुलो र धुँवाले आकाश ढाकिएको छ । यही कारणले वायु गुणस्तर अत्यधिक बिग्रिएको विज्ञहरुको निष्कर्ष छ । विश्व स्वास्थ्य संगठनका अनुसार, स्वास्थ्यका लागि एक्यूआई ३५ भन्दा कम हुनु उपयुक्त हो ।
- ५० सम्मको AQI सामान्य मानिन्छ
- ५१-१००: सजग रहनुपर्ने संकेत
- १०१-१५०: दम र मुटुका रोगीलाई असर
- १५१-२००: अस्वस्थकर
- २०१-३००: अत्यन्तै अस्वस्थ
- ३०१-४००: खतरनाक
- ४०१-४५०: अति खतरनाक
काठमाडौँको अहिलेको एक्यूआई (२७०) ‘अत्यन्तै अस्वस्थ’ स्तरमा पर्छ, जुन सबै उमेर समूहका मानिसहरूका लागि जोखिमपूर्ण मानिन्छ ।
स्वास्थ्य मन्त्रालयले आम नागरिकलाई सजग रहन आग्रह गर्दै सकेसम्म बिहान र साँझ घर बाहिर ननिस्कन सुझाव दिएको छ । विशेष गरी बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगीहरूलाई अत्यधिक सावधानी अपनाउन अनुरोध गरिएको छ । २०७६ सालमा बनाइएको वायुगुणस्तर व्यवस्थापन कार्ययोजना अनुसार, यदि काठमाडौँको एक्यूआई ३०० भन्दा माथि पुग्यो भने त्यसलाई विपद् को अवस्था मानेर आपतकालीन कदम चालिनुपर्ने व्यवस्था छ ।
