माधव नेपालको प्रश्न- के चिजले गर्दा राजतन्त्र चाहियो ?


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोईराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्रै माओवादी जनयुद्ध छोडेर आएको बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) बागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले माओवादी जनयुद्धबाट तीन नेताले बसेर सहमति गरिसकेपछि मात्रै मिसिएको बताए । उनले तत्कालीन नेकपा एमालेमा रहँदा आफ्नो पार्टीले साउन महिनामा नै गणतन्त्र ल्याउने निर्णय गरेको दाबी गरे ।
कोईराला र आफूले नै सबै सहमति गरेको र तत्कालीन राजा ज्ञानेन्द्रले सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको बताए । उनले पछिल्ला घटनाक्रमहरूप्रति लक्षित गर्दै अध्यक्ष नेपालले पूर्वराजा शाहका सचिवले अहिले राजा फर्काउने कुरा नभएको र राजाको इच्छा पनि नरहेको कुरा भनेको आफूले सुनेको भन्दै धन्यवाद ज्ञापन गरे ।
पूर्वराजाको इच्छा नगरेको कुरापछि बाहिर हल्ला मात्रै रहेको र त्यसले मन शान्त भएको उनको भनाइ छ । पूर्वराजाको नाम लिएर अरुले फाइदा उठाउन खोजेको भन्दै राजनीति गर्ने भए पार्टी खोलेर चुनावमा आउन पूर्वराजालाई चुनौती दिए ।
अध्यक्ष नेपालले भने ‘एउटा राम्रो कुरा मैले सुनेँ । राम्रो कुरा के हो भने त्यो उनको पूर्वराजाको सचिव एक जनाले बोलेको कुरा सही हो भने, मलाई थाहा छैन । अहिले राजा फर्काउने कुरा छैन, राजाको इच्छा पनि होइन । पूर्वराजाको इच्छा पनि होइन । बाहिरको हल्ला मात्रै हो भनेपनि अलिकति मन शान्त भएको छ । अरुले पनि फाइदा उठाउन खोजेका रहेछन् । यदि त्यो हो भने म पूर्वराजा ज्ञानेन्द्रलाई धन्यवाद दिन चाहन्छु । राजनीति गर्नु छ भने पार्टी खोल्नुस् । राजनीतिक मैदानमा आउनुस् । जनताको बिचमा जानुस् । चुनावमा जितेर बहुमत ल्याउनुस् । देश र जनताको कल्याण गर्नुहुन्छ भने खुसीकै कुरो ।
हामीले त केपी ओलीलाई राम्रो बन्नुस् भनिरहेका छौँ । हाम्रो सासै गन्हाउने मान्छे, अनुहार नै मन नपराउने मान्छे त्यही पनि राम्रो गरिदिनुस् भनिरहेका छौँ । कसैसँग आग्रह पाल्ने, पूर्वाग्रह राखेका छैनौँ । ज्ञानेन्द्रले पनि उहिले छोडिसकेको हो । यी जम्मै कुराहरू गर्ने हामी तीन जना नेता हौँ । एउटा गिरिजाप्रसाद कोईराला, दोस्रो म र त्यसपछि ज्ञानेन्द्र । पछि मात्रै हुन् प्रचण्ड जी । पछि मात्रै हो उहाँहरू आएको भनेको त जनयुद्धको जुन इलाकाबाट पछि आएको मात्रै हो । मंसिर महिनामा हामीले सहमति गरिसकेपछि मात्रै आएको हो । हाम्रो पार्टीले गणतन्त्र ल्याउने निर्णय हामीले गरेको साउन महिनामा हो । बसेर सहमति गरेको २०६३ सालको वैशाखको ११ गते हो । ११ गते बस्दा म र गिरिजाबाबु थियौँ । हामीले सबै सहमति गरेर कागज तयार गरेका हौँ । सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको हो ।’
अध्यक्ष नेपालले राजाहरूले विगतमा के काम गरेर अहिले राजा फर्काउने भन्दै प्रश्न गरे । उनले जनताले रोजेको व्यक्ति भन्दा वंशको शासनले देशको भलो गर्न नसक्ने बताए । वंशको शासन कहिले पनि राम्रो नहुने उनको भनाइ छ । पूर्वराजालाई फर्काउनुको पछाडि कुनै देश बनाउने, विकास गर्ने योजना छ ? भन्दै प्रश्न गरे ।
राजा र उनका नजिककाहरुले देश लुट्न खोजिरहेको आरोप लगाए । गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने पनि बताए ।
अध्यक्ष नेपालले भने ‘राजालाई फर्काउने कोसिस गरिरहेका छन् । राजतन्त्रलाई फेरि नेपालमा फर्काउने कुरा गरिरहेका छन् । राजा आएर हुन्छ के रु राजाहरूले हिजो के काम गरेका थिए र उनलाई ल्याउनुपर्यो रु उनले देशको विकासलाई कुन नयाँ बाटोमा लिएर गएका थिए रु जनताले रोज्नु भन्दा र रोजेको भन्दा कुनै वंशको शासनले देशको भलो गर्नसक्छ । कुनै तथ्य, तर्कले पुष्टि गर्दैन । फेरि राजा फर्काउने कुरा भनेको इतिहासको पाङ्ग्रालाई पछाडि धकेल्ने हो । वंशको शासन कहिले पनि राम्रो हुँदैन । उनका सन्तानहरू कस्ता छन्, हामीले देखेका छौँ । तिनीहरू देशका मुख्य भए भने के हुन्छ ? जनतालाई के फाइदा हुन्छ, किन चाहियो ? जनताको भलो कसरी गर्दछ । यसको खुबी, क्षमता, योजनाले । के चिजले गर्दा राजतन्त्र चाहियो ? देश बनाउने कुनै योजना छ त्यहाँ, देशलाई परिवर्तन गर्ने कुनै योजना छ ? देश विकासको कुनै सोच छ, उद्योग विकासको कुनै सोच छ, शिक्षा, स्वास्थ्य र सीप विकासका कुनै विशाल खाकाहरू छन् त्यहाँ ? केही पनि छैन । कुरो यत्ति मात्रै हो । राजा र उसका आसेपासेले यो देश लुट्न खोजिरहेका छन् । अरुले लुटे हामी लुट्दैनौँ भनेर होइन । अरुले लुटे हामी पनि लुट्छौँ भनेर । होइन भने त्यही माया छ भने राम्रो पार्टी बनाएर आउनुस् । जनताको सेवा गर्ने पार्टी बनाउनुस् । चुनावमा भाग लिए हुन्छ । चुनावमा जितेर आए भयो । जितेर बहुमत ल्याएर सरकार चलाए पनि भयो । त्यसैले हामी भनिरहेका छौँ । गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन । अवश्य पनि यो व्यवस्था अझै समुन्नत बनाउनु पर्छ । व्यवस्था बदलियो, अवस्था बदलिएन भन्ने छ । बदलिँदै बदलिएन भन्नेकुरा पनि सही होइन, बाटाघाटा, जनताको आर्थिक अवस्था, शिक्षा स्वास्थ्यको कुरा हेर्ने हो भने धेरै कुरा भएको छ । भ्रष्टाचारका कारणले निराश भएको छ ।’
अध्यक्ष नेपालले राजावादीहरूले मच्चाइरहेको हल्लामा कुनै सत्यता नरहेको बताए । उनले राजावादी नेताहरू पनि सरकारमा रहेको उल्लेख गर्दै अरूलाई दोष दिएर मात्रै नहुने जिकिर गरे । उनले एमाले—काँग्रेस—नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा सुरक्षा दिएपनि आफ्नो पार्टी कार्यालयमा सुरक्षा नदिएको भन्दै सरकारको आलोचना गरे । आफ्नो पार्टीलाई तत्काल क्षतिपूर्ति दिन माग गरे ।
