देशको नेतृत्व गर्नेहरू विचौलियाको खेलमा सहभागी छन् : शेखर कोईराला

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले देशको नेतृत्व गर्नेहरू विचौलियाको खेलमा सहभागी बनेको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंमा सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सांसद कोईरालाले नेतृत्व तह नै बिचौलियाहरूसँग मिल्दा देश विकासमा समस्या आइरहेको जिकिर गरे । उनले नेपाललाई समृद्ध बनाउन र नेपालमै गर्न सकिने भन्दै त्यसको लागि बिचौलियाहरूबाट सचेत र शतर्क रहन जरुरी रहेको बताए ।

उनले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिबाट केशरजंग बरालले केही दिनअघि दिएका राजीनामाको बारेमा प्रसंग निकाल्दै उनले बिचौलियाकै कारण काम गर्न नसकेर राजीनामा दिनुपरेको बताए ।

उनले भने, ‘आज हेर्नुस् केही दिन पहिला नेपालको सबैभन्दा ठूलो र पुरानो त्रिभुवन युनिभर्सिटीमा भिसीले रिजाइन गर्नुभयो । किनभने मलाई धेरै प्रेसर पर्‍यो । मैले सकिनँ भनेर भन्नुभयो । हामी सक्छौँ तर पटक पटक म एउटै शब्द प्रयोग गर्दै छु । विचौलियाहरु । हाम्रा नेतृत्वहरू विचौलियाहरुको खेलमा इन्भल्व हुनुहुन्छ । त्यो कारणले यो समस्या आइरहेको छ । नेपाललाई विकास गर्ने हो भने, नेपाललाई समृद्ध बनाउने हो भने तीन, चार वटा कुरामा हामीले ध्यान दिनुपर्छ । त्यसो गर्न सके नेपाललाई समृद्ध बनाउन सकिन्छ ।’

सांसद कोईरालाले संविधानमा सुधार गर्न जरुरी रहेको बताए । उनले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउँदाताका नै संविधानमा सुधार गर्ने कुरा उल्लेख गरिएको र प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बनेपछि संसदको रोष्ट्रममा उभिएर संविधान संशोधनको कुरा गरेको स्मरण गराउँदै आवश्यक परिवर्तन जरुरी रहेको बताए ।

काँग्रेस—एमालेको सरकार बनेको ९ महिना बितिसक्दासमेत संविधान संशोधनतर्फ केन्द्रित नहुनु दुःखद् भएको बताए ।

देशको आर्थिक अवस्था नाजुक रहेको भन्दै सरकारले अर्थतन्त्र सुधारका लागि अध्यादेशमार्फत ऐन ल्याएको र सुधार हुने आशा रहेको बताए । उनले त्यहाँ पनि विचौलियाको खेल हुनसक्ने आशंका व्यक्त गरे ।

राष्ट्र बैंकको गभर्नर बनाउन पनि विचौलियाहरु चलखेल गर्दै छन् भन्ने कुरा आइरहेको भन्दै त्यस्तो भएको हो भने देशकै लागि दुर्भाग्य हुने बताए । देशको अर्थतन्त्रसँग खेल्ने कुचेष्टा कसैले गर्न नहुने बताए ।

सुशासन दिन्छौँ भनेर सरकारले भनिरहे पनि औचित्य साबित हुन नसकेको बताए । नेतृत्वमा राजनीतिक इच्छाशक्ति भए देश विकास गर्न सकिने उनको भनाइ छ ।

सांसद कोईरालाले भने, ‘संविधानमा सुधार गर्ने भनेका छौँ । संविधान पुनर्लेखन त भनेका छैनौँ । त्यसलाई हेरिदिने । केके परिवर्तन गर्न सकिन्छ त्यतातिर जाने भनिएको थियो । आज नौ महिना बितिसक्यो हामीले त्यतातिर ध्यान दिन सकेका छैनौँ । के—केमा संशोधन गर्ने हो त्यो हामी हेरौँ, गरौँ । गर्नैपर्छ । किनभने यो त प्रधानमन्त्रीजीले रोष्ट्रममा उभिएर बोलेको कुरा हो । यो मैले त्यसै भनेको कुरा होइन । नेपाली काँग्रेस र एमालेको सहमतिको डकुमेण्ट हो यो । दोस्रो कुरा छ, आर्थिक अवस्था एकदम नाजुक छ देशको । त्यसलाई सुधार गर्दै अघि लैजाने । सुधार गर्ने प्रक्रियाहरू अघि बढे भनेर अध्यादेशमार्फत ऐन पनि आयो । हुन्छ की भन्ने आशा छ । कत्तिको हुन्छ हेरौँ । कि त्यहाँ पनि फेरि बिचौलियाहरूकै खेल छ की ? र अहिले तपाईँहरूले हामी सबैले सुन्दै छौँ एउटा कुरा । हुँदा हुँदा राष्ट्र बैंकको गभर्नर बनाउन पनि विचौलियाहरु चलखेल गर्दै छन् भन्ने कुरा आइरहेको छ । अगर त्यो हो भने म त वार्न गर्दछु सरकारलाई । अगर त्यो हो भने नेपालको लागि दुर्भाग्य हुन्छ । सरकारको लागि त दुर्भाग्य हुन्छ नै । नेपालको लागि नै दुर्भाग्य हुन्छ । यो अत्यन्त गम्भीर विषय हो । देशको अर्थतन्त्रसँग यसरी खेल्ने, मजाक गर्ने अधिकार उहाँहरू कसैलाई पनि छैन । त्यसपछि उहाँहरुले के भन्नुभयो भने हामी सुशासन दिन्छौँ, भ्रष्टाचार न्यूनीकरण गर्छौं भन्नुभयो । सुशासन कस्तो अवस्थामा छ, मैले भनिरहनु पर्दैन । औचित्य हामीले साबित गर्न सकिरहेका छैनौँ । उपायहरू छ । त्यसको लागि राजनीतिक इच्छाशक्ति नेताहरूमा, नेतृत्वमा हुनुपर्छ । राजनीतिक इच्छाशक्ति भयो भने गर्न सकिन्छ, हामी सक्छौँ । के नेपाललाई बनाउन सकिँदैन, नेपाललाई बनाउन सकिन्छ । अहिले युवाहरू पलायन भइरहेका छन् ।’

सांसद कोईरालाले हाइड्रोपावर, कृषि, ग्रिन इण्डस्ट्रीलाइजेसन, डिजिटलाइजेसन क्षेत्रमा बढी जोड दिनसके नेपाल समृद्ध बन्ने बताए । उनले सबै प्रधानमन्त्रीहरुले आफ्नो कार्यकालमा भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन नसकिरहेको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *