नेपाल आउने विदेशी नागरिकलाई समेत स्वास्थ्य बीमामा अनिवार्य आबद्ध हुने व्यवस्था गरिँदै


काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले वित्तीय जोखिम कम गर्न नेपाल आउने विदेशी नागरिकलाई समेत स्वास्थ्य बिमामा अनिवार्य आबद्ध हुने व्यवस्था गर्ने भएको छ ।
आइतबारको बोर्डको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा बोल्दै बोर्डका कार्यकारी निर्देशक डा। रघुराज काफ्लेले सबै तहका जनप्रतिनिधि, कर्मचारी, वैदेशिक रोजगारीमा जाने श्रमिक, आम नागरिक र नेपालमा आउने विदेशी नागरिकलाई समेत स्वास्थ्य बीमामा अनिवार्य आबद्ध हुने व्यवस्था मिलाइने बताए ।
यसले ‘युनिभर्सल हेल्थ कभरेज’ भन्ने सरकारको नाराले पूर्णता पाउनुका साथै स्वास्थ्य बीमा बोर्डको वित्तीय जोखिम कम गर्न कोशेढुङ्गा साबित विश्वास व्यक्त गरे । उनले छरिएर रहेका स्वास्थ्य सहायता तथा अनुदानका कार्यक्रमहरू समेत एकीकरण गर्दै लैजाने बताए । स्थानीय तहहरूले दिँदै आएको उपचार सहायता तथा स्वास्थ्य सेवाका कार्यक्रमहरूलाई समेत बोर्डअन्तर्गत ल्याइने उनको भनाइ छ ।
उनले भने ‘सबै तहका जनप्रतिनिधि, नेपाल सरकारका विभिन्न निकायमा कार्यरत कर्मचारी, संगठनिक संस्थामा कार्यरत व्यक्तिहरू, वैदेशिक रोजगारमा जाने व्यक्ति र तिनका परिवार, आम नागरिक र नेपालमा आउने विदेशी नागरिकलाई समेतलाई स्वास्थ्य बीमामा अनिवार्य आबद्ध हुने व्यक्त मिलाइनेछ । जसले गर्दा युनिभर्सल हेल्थ कभरेजको सरकारको नाराले पूर्णता प्राप्त गर्नेछ । र स्वास्थ्य बीमा बोर्डको वित्तीय जोखिम कम गर्नलाई यो कोशेढुङ्गा साबित हुने हामीले ठानेका छौं । त्यस्तै छरिएर रहेका स्वास्थ्य सहायता तथा अनुदानका कार्यक्रमहरूको एकीकरण, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल सरकारका विभिन्न निकायबाट स्वास्थ्य सेवाका धेरै कार्यक्रमहरू समानान्तर रुपमा सञ्चालनमा छन् । यसैगरी प्रदेश सरकार, स्थानीय तहले पनि नागरिकलाई सहज उपचारका लागि सहयोग तथा अनुदान प्रदान गर्दै आएका छन् । यसरी छरिएर रहेका कार्यक्रमहरूलाई एकीकृत गरी स्वास्थ्य बिमा बोर्ड अन्तर्गत ल्याइनेछ ।’
सबै तहका स्वास्थ्य अनुदानका सेवाहरू एकीकरण गर्न बोर्ड र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबिच कुरा अगाडि बढाइसकिएको समेत कार्यकारी निर्देशक काफ्लेले बताए ।
