३९७ स्थानीय तहमा अझै पुगेन स्वास्थ्य बीमा बोर्डको प्रथम सेवा बिन्दु


काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न अहिलेसम्म देशभरका ३५६ स्थानीय तहमा प्रथम सेवा बिन्दु पुगेको जनाएको छ ।
आइतबार बोर्डको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिइएको हो ।
सम्मेलनमा बोल्दै बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले ४७.७ प्रतिशत स्थानीय तहमा बोर्डको आफ्नै प्रथम सेवा बिन्दु रहेको जानकारी दिए ।
उनले अहिलेसम्म पनि ३९७ स्थानीय तहमा प्रथम सेवा बिन्दु नपुगेको जानकारी दिँदै ती स्थानीय तहका विमित सेवाग्राहीहरूले नजिकैको अर्को स्थानीय तहमा गएर सेवा लिनुपर्ने बाध्यता रहेको बताए ।
तुलनात्मक रुपमा सहरी क्षेत्र सुगम क्षेत्रका स्थानीय तहहरूमा बीमा सेवाको प्रथम सेवा बिन्दु धेरै पुगेको जानकारी दिए ।
कार्यकारी निर्देशक काफ्लेले प्रत्येक वर्ष बीमा नवीकरण नगर्ने विमितहरुको संख्या समेत बढ्दै गएको बताए । उनकाअनुसार वि.स. २०७४/०७५ मा बीमा नवीकरण नगर्ने ५४ प्रतिशत, ०७८/७९ मा ६४ प्रतिशत तथा रहेकोमा चालु आर्थिक वर्षको हालसम्मको संख्या ५४ प्रतिशत रहेको छ ।
एकचोटी बीमा गरिसकेपछि किन बीमा नवीकरण गर्दैनन् भन्नबारे विश्लेषण गरेर समाधानको उपाय खोज्न जरुरी रहेको बताए ।
उनले भने, ‘देशका ३५६ स्थानीय तहमा प्रथम सेवा बिन्दु पुगेको छ । अर्थात् ४७.२ प्रतिशत स्थानमा बोर्डको आफ्नै सेवा बिन्दु छ । ३९७ स्थानीय तह अर्थात् ५२.७ प्रतिशत स्थानीय तहमा प्रथम सेवा बिन्दु पुग्न सकेको अवस्था छैन । ती स्थानीय तहमा रहेका विमितहरुले नजिकैको अर्को स्थानीय तहमा गएर प्रथम सेवा बिन्दु लिनुपर्ने स्थिति छ । त्यस कारण ती स्थानीय तहमा बीमामा आबद्धताको विषयमा प्रश्नको विषय बनेको छ । सुविधाको अवस्थालाई विश्लेषण गर्दाखेरि सुगम स्थानीय तहमा प्रथम सेवा बिन्दुहरू पुगेको र तुलनात्मक रूपले पिछडिएका स्थानीय तहमा प्रथम सेवा बिन्दु पुग्न बाँकी रहेको अवस्था देखिन्छ । स्वास्थ्य बीमा नवीकरण नगर्ने विमितहरु आर्थिक वर्ष २०७४/०७५ मा ५४ प्रतिशत थिए । यो संख्या ०७८/७९ मा ६४ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष ०८१/८२ मा त्यो संख्या ५४ प्रतिशत रहेको देखिन्छ । एकपटक विमित भइसकेपछि किन नवीकरण गरेरन ? भन्ने प्रश्न पेचिलो बन्दै गएको छ । छोड्नेहरूको दर उच्च हुनुको कारण पहिचान गरि त्यसको त्यसको समाधानमा विशेष ध्यान दिनु जरुरी देखिन्छ ।’
दोहोरोपनाको कारण विमितको यथार्थ विवरण प्राप्त गर्न समेत कठिन भएको उनको भनाइ छ । यद्यपि स्वास्थ्य बीमा गरेका विमितहरुले स्वास्थ्य उपचार सेवा लिने क्रम बढ्दै गएको समेत उनले जानकारी दिए ।
लक्षित वर्गभन्दा सहर र सुगम क्षेत्रका नागरिकले धेरै स्वास्थ्य उपचार सेवा लिने गरेको बोर्डको तथ्यांक छ ।
