संघीयता बोझिलो र खर्चिलो भयो : मन्त्री पौडेल


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीयता बोझिलो र खर्चिलो भएकाले छरितो बनाउन आवश्यक रहेको बताएका छन् ।
आईतवार नेपाली काँग्रेस पाल्पाले तानसेनमा आयोजना गरेको नव वर्ष २०८२ सालको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले संघीयता राज्यको क्षमताभन्दा बढी बोझिलो र खर्चिलो भएको संघीयताको पुनरावलोकन गर्न जरुरी रहेको बताए । उनले डिजिटल करेन्सी प्रयोग गर्ने स्थिति नभएसम्म मुलुकमा पारदर्शिता कायम नहुने भन्दै नेपाललाई डिजिटलाइजेसनमा लैजानुपर्ने आवश्यकता रहेको समेत बताए ।
उनले भने, ‘वास्तवमा जनतालाई अधिकार दिलाउने सन्दर्भमा संघीयता परिस्कृत स्वरूप हो । तर हाम्रो संघीयता बोझिलो छ । हाम्रो संघीयता राज्यको क्षमताभन्दा बढी बोझिलो, खर्चिलो बनेको स्थिति छ । डिजिटल करेन्सी प्रयोग गर्ने स्थिति नभएसम्म यो मुलुकमा पारदर्शिता कायम हुने स्थिति हुँदैन । त्यसैले अब हामीले नेपाललाई डिजिटलाइजेसनमा लिएर जानुपर्छ ।’
उनले खर्चिलो र बोझिलो भएको संघीयतालाई छरितो बनाउन सांसद, मन्त्रिमण्डल, प्रदेश र स्थानीय तहहरूको संख्या समेत घटाउनुपर्ने बताए ।
उनले सांसदको संख्या २७५ बाट २०१ मा झार्न प्रस्ताव गरे । त्यस्तै केन्द्रिय मन्त्रिमण्डल २५ बाट १५ मा झार्नुपर्ने उनको भनाइ छ ।
प्रदेश संख्या एक तिहाई घटाउँदै मुख्यमन्त्री, एउटा वित्त मन्त्री र एउटा प्रधानमन्त्री मात्र राख्नुपर्ने बताए ।
राजनीतिक संरचना छरितो भए मात्र प्रशासनिक संरचनाहरू छरितो हुने बाटो खुल्ने उनको भनाइ छ ।
उनले भने, ‘अब सांसदको संख्या २७५ होइन २०१ मा झारौं । केन्द्रिय मन्त्रिमण्डलको संख्या २५ बाट १५ मा झारौं । प्रदेशको संख्या एक तिहाई घटाउ । प्रदेशमा पनि एउटा मुख्यमन्त्री, एउटा वित्त मन्त्री र एउटा प्रधानमन्त्री मात्र राखौं । र पालिकाहरूको संख्या पनि घटाउ । बरु वडाको संख्या बढाउ । यसरी हामीले खर्चिलो बनेको संघीयतालाई छरितो बनाउन सक्छौं । राजनीतिक संरचनाहरू छरितो भइसकेपछि प्रशासनिक संरचनाहरू समेत छरितो बनाउने बाटो खुल्छ । सुरक्षा संरचना पनि छरितो बनाउने बाटो खुल्छ ।’
पाल्पा भ्रमणमा रहेका मन्त्री पौडेलले आईतवारदेखि शुरु भएको दोस्रो तानसेन महोत्सव एवं व्यापार मेलाको समेत उद्घाटन गरेका छन् ।
