तीनकुने घटनाको न्यायिक छानबिन गर्न माग

काठमाडौं । तीनकुने घटनाको न्यायिक छानबिन गरी जबाफदेहिता सुनिश्चित गर्न र त्यस्तो हिंसात्मक घटना पुनः नदोहोरिने सुनिश्चित गर्न माग गरिएको छ ।

जबाफदेहिता निगरानी समितिका संयोजक राजुप्रसाद चापागाईं, एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलिया, एड्भोकेसी फोरम नेपालका निर्देशक विकास बस्नेत र न्याय तथा अधिकार संस्था (जुरी–नेपाल) अध्यक्ष रुकमणि महर्जनले आज संयुक्त विज्ञप्ति जारी गर्दै उक्त आह्वान गरेका हुन् ।

यही चैत १५ गते तीनकुनेमा घटेको हिंसात्मक घटनामा बल प्रयोग र मानवीय क्षति सम्बन्धमा नेपाल प्रहरीले चैत २० गते सार्वजनिक गरेको विवरणलाई लिएर चिन्तित बनाएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा विद्यमान दण्डहीनताको संस्कृति अन्त्यका लागि आवश्यक सिफारिस गर्ने तथा बल प्रयोगको सन्दर्भमा विद्यमान कानुन, अभ्यास तथा व्यवहारको विश्लेषण गरी अन्तर्राष्ट्रिय मानवअधिकार कानुन, सिद्धान्त र अभ्यासअनुरूपको आवश्यक सुधारका लागि सिफारिस समेत गर्ने कार्यदिशा उक्त संयन्त्रलाई तोक्न आग्रह गर्दछौँ ।’

प्रदर्शनको क्रममा भएका आगजनी, तोडफोड, लुटपाटलगायतका आपराधिक क्रियाकलापको निष्पक्ष अनुसन्धानबाट जिम्मेवार देखिएकाउपर कानुनबमोजिम अभियोजन गरिनुपर्नेमा कुनै विवाद नभएको र यही घटनालाई बहाना बनाएर राजनीतिक आस्थाको आधारमा अस्वभाविक रूपमा राज्यद्रोह वा सङ्गठित अपराधको अभियोजनमा तान्ने कार्य किमार्थ जायज नहुने विज्ञप्तिमा उल्लेख छ ।

साथै, अनुसन्धान र अभियोजनलाई राजनीतिक आग्रह, पूर्वाग्रह, दबाब र प्रभावबाट मुक्त राख्न माग गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *