‘माया के हो’ गीति श्रव्य दृश्य सार्वजनिक


काठमाडौं । गायक सुरेश लामा र गायिका त्रिशाला गुरुङले स्वर दिएको प्रेम भाव झल्काउने ‘माया के हो’ बोलको गीति श्रव्य दृश्य सार्वजनिक भएको छ ।
सो गीति श्रव्य दृश्य सार्वजनिक गर्ने उद्देश्यले आज आयोजित पत्रकार सम्मेलनमा सङ्गीतकार अर्जुन पोखरेलले धेरै समयपछि ‘रोमान्टिक शैली’ को गीत सार्वजनिक गरिएको बताए ।
उनले भने, ‘अहिले सामाजिक विषयका चलचित्र बढी निर्माण भएकाले प्रेम भाव व्यक्त गर्ने रोमान्टिक शैलीको गीत कम भएको आभाष भएको छ । यो गीत झैँ श्रव्य दृश्यले पनि भाव व्यक्त गरेको छ । श्रव्य दृश्य निर्माण समूहले निकै मेहनत गरेको छ ।’
प्रेमराज अधिकारीले लेख्नुभएको गीतमा आधारित भई मकवानपुरको कुलेखानी तथा आसपासका क्षेत्रलाई समेटेर श्रव्य दृश्य छायाङ्कन गरिएको निर्देशक निकेश खड्काले जानकारी दिए ।
दर्शकलाई नयाँ अनुभूति दिन अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री उगेन छोदेनलाई श्रव्य दृश्यमा प्रस्तुत गरिएको उनले बताए ।
‘गीतको मिठासलाई दृश्यमा व्यक्त गर्न सक्दो कोसिस गरेका छौँ । दुई जना प्रेमिल जोडीको प्रेम र एक अर्काप्रतिको सम्मानलाई श्रव्य दृश्यमा देखाइएको छ । गीत नै गुनगुनाइरहने शैलीको निर्माण भएको छ’, निर्देशक खड्काले भने ।
अभिनेता श्रेष्ठले गीत मन परेर आफू श्रव्य दृश्यमा काम गर्न इच्छुक भएको बताए । ‘म अहिले चलचित्रकै तयारीमा थिएँ, त्यही भएर पछिल्ला दिनमा निकै कम श्रव्य दृश्यमा काम गरेको छु । यो गीत मन परेर मैले काम गरेको हुँ, यो आँखालाई शीतलता दिने र कर्णप्रिय गीत बनेको छ’, उनले स्पष्ट गरे ।
यसै गरी, नेपाली चलचित्र ‘दुई नम्बरी’ मा काम गरेकी भूटानी अभिनेत्री उगेन छोदेनले नेपालमा काम गर्दा खुसी प्राप्त हुने अनुभव सुनाए । उनले चलचित्रपछि पहिलो पटक श्रव्य दृश्यमा काम गरेका हुन् ।
‘म नेपालमा काम गर्न पाउँदा खुसी हुन्छु, यो समूहले निकै सहज र सरल रुपमा काम गर्ने वातावरण दियो । मैले नेपालबाट पाएको मायालाई शब्दमा व्यक्त गर्न सक्दिनँ, त्यही भएर म चलचित्रपछि पुनः काम गर्न आएकी हुँ । मेरो अन्य भूमिका पनि आउँदो वर्ष दर्शकले हेर्न पाउनेछन्’, उनले भने ।
ङागस्तो दोर्जी योञ्जनले निर्माण गरेका श्रव्य दृश्यलाई हरि हुमागाईंले छायाङ्कन, सुवास तिमल्सेनाले शृङ्गार, कुसुम बुटिकले वेशभूषा र विकास धमलाले सम्पादन गरेका छन् ।
