नक्कली सवारी चालक अनुमति पत्र वितरण गरेर मासिक ३ करोड भन्दा बढी कलेक्सन, ४ जना पक्राउ


काठमाडौँ । नक्कली सवारी चालक अनुमति पत्र वितरण गरेर मासिक ३ करोड बढी कलेक्सन गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।
जिल्ला बाँके, यातायात व्यवस्था कार्यालय नेपालगन्जका कर्मचारीहरूले नक्कली सवारी चालक अनुमति पत्र वितरण गरी मासिक ३ करोड भन्दा बढी रकम कलेक्सन गर्ने गरेको भन्ने उजुरीका आधारमा अख्तियारले बुधवार उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा यातायात व्यवस्था कार्यालय नेपालगन्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेट (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्ज, बाँकेका नायब सुब्बा मुकुन्दराज के।सी। र मामा भान्जा मोटर ड्राइभिङ सेन्टर नेपालगन्जका प्रोप्राइटर शरद कुमार गोराथोकी रहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टंगाल र आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय, नेपालगन्जबाट संयुक्त रुपमा खटेको टोलीले बाँके जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई आज नियन्त्रणमा लिएको हो ।
आयोगले हाल निजले प्रयोग गर्ने गरेका विद्युतीय उपकरणसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
