हावाहुरीले तानसेन महोत्सवमा करोडौँको क्षति (तस्बिरहरू)

काठमाडौँ । पाल्पा सदरमुकाम तानसेनमा जारी दोस्रो तानसेन महोत्सव हावाहुरी र वर्षाका कारण प्रभावित भएको छ ।

बुधवार रातिको हावाहुरीसहितको वर्षाका कारण महोत्सव प्रभावित बनेको हो ।

बुधवार कार्यक्रमको तयारी भइरहेको बेला अचानक वर्षा र हावाहुरी चलेपछि महोत्सवमा भाग दौड मच्चिएको थियो । असिनासहित वर्षा भएपछि महोत्सव हेर्न भेला भएका हजारौँ बाल बच्चादेखि बुढापाकाबिच भागदौड मच्चिएको थियो ।

वर्षाका कारण सांस्कृतिक कार्यक्रम स्थगित गरी आज सञ्चालन गर्ने तयारीमा आयोजक थिए । तर बुधवार राति १ बजेबाट चलेको ठुलो हावाहुरी र वर्षाका कारण महोत्सवस्थलमा बनाइएका स्टेज, स्टल, प्रवेशद्वार, घेरबार लगायत ढलेका छन् । जसले गर्दा महोत्सव नै अनिश्चित बनेको छ ।

महोत्सवस्थलमा राखिएका विभिन्न स्टलका सामान समेत हावाले उडाएको व्यापारीहरूको भनाई छ । हावाहुरीले करोडौँको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

वर्षा र हावाहुरीका कारण महोत्सवस्थलमा ठुलो क्षति पुगेकाले पुनः नयाँ संरचना निर्माण गरेर मात्र महोत्सव सञ्चालन गर्ने तयारी आयोजक तानसेन नगरपालिकाले गरेको छ । महोत्सव यही चैत २२ गतेदेखि सुरु भई वैशाख ३ गतेसम्मका लागि तय भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *