यति प्रयासले मात्रै अर्थतन्त्र सुधार हुँदैन : चन्द्रप्रसाद ढकाल


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधारका लागि सरकारले गरेको प्रयास सकारात्मक रहे पनि युवाहरूको चाहना पूरा गर्न पर्याप्त नरहेको बताएका छन् ।
बिहीबार महासंघको ५९ औँ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफू प्रतिकुलतामा अनुकूलता खोज्ने उद्यमी रहेको जिकिर गर्दै देशमै आशा जगाउनका लागि काम गरिरहेको बताए । उनले देशभित्रै मर्यादित र उच्च ज्याला सहितको रोजगारीका अवसरहरू सिर्जना गर्न नसकेसम्म निराशालाई आशामा बदल्न नसकिने बताए । उनले रोजगारी प्रदान गर्न सरकारको सीमितता रहेको भन्दै अहिले करिब पाँच लाख जनशक्तिलाई सरकारले रोजगारी दिएको उल्लेख गरे ।
निजी क्षेत्रले ८६ प्रतिशतलाई रोजगारी दिएको भएपनि हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने करिब पाँच लाख युवालाई रोजगारी दिनसक्ने क्षमता नेपालको निजी क्षेत्रमा पनि नरहेको जिकिर गरे ।
अध्यक्ष ढकालले भने ‘व्यक्तिगत रूपमा भन्ने हो भने म प्रतिकुलतामा अनुकूलता खोज्ने उद्यमी हुँ । म निराशा हैन आशा छर्न चाहन्छु । अवस्था सुधारोन्मुख छ । तर हाम्रा युवाहरूको चाहना पूरा गर्न अहिलेको सुधार पर्याप्त छैन । जबसम्म हामी देशभित्रै मर्यादित र उच्च ज्याला सहितको रोजगारीका अवसरहरू सिर्जना गर्न सक्दैनौ, निराशालाई आशामा बदल्न सकिँदैन । अहिले व्याप्त निराशा त्यसैको परिणाम हो । हामीलाई थाहा छ रोजगारी प्रदान गर्न सरकारको सीमितता छ । अहिले करिब पाँच लाख जनशक्तिलाई सरकारले रोजगारी दिएको छ । निजी क्षेत्रले ८६ प्रतिशतलाई रोजगारी दिएको छ । तर हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने करिब पाँच लाख युवालाई रोजगारी दिनसक्ने क्षमता नेपालको निजी क्षेत्रमा पनि छैन ।
त्यस कारण युवाहरू जुन अर्थतन्त्रले रोजगारी दिनसक्छ त्यही अर्थतन्त्रमा काम खोज्न जाने गरेका हुन् । नेपालीलाई काम दिने यी अर्थतन्त्रहरू र नेपालको अवस्था केही समय पहिले उस्तै थियो । सन् १९६० ताका नेपालको प्रतिव्यक्ति आय ५० र दक्षिण कोरियाको करिब सय डलर थियो । अहिले कोरियाको प्रतिव्यक्ति आय ४० हजार डलर हाराहारी छ भने नेपालको १४ सय डलर । यस अवधिमा कोरियाको आम्दानी चार सय गुणा बढेको देखिन्छ । नेपालको पनि २८ गुणा बढ्यो । तर ४० हजारको क्रय क्षमता र १४ सयको क्रय क्षमता तुलना हुँदैन । हामीकहाँ प्रगति भयो तर जति हुनुपर्ने थियो हुन सकेन ।’
अध्यक्ष ढकालले अर्थतन्त्र सुधार गर्नका लागि निजी क्षेत्रलाई निर्बाध काम गर्न दिनुपर्ने उल्लेख गरे । उनले वर्तमान सरकारको मुख्य एजेण्डा नै समृद्ध नेपाल, सुखी नेपाली भएको उल्लेख गर्दै मुलुकमा समृद्धि आउनु भनेको सबैले अवसर पाउनु रहेको जिकिर गरे । उनले त्यसका लागि पैसा, बुद्धि, विवेक र सीपको लगानी जरुरी हुने उल्लेख गरे ।
अध्यक्ष ढकालले भने ‘अन्य दुई सूचकका आधारमा हामी अगाडि बढेका हौ । फेरि पछाडि नफर्किने हो भने निजी क्षेत्रलाई निर्बाध काम गर्न दिनुपर्छ । अब म बुँदागत रूपमा यहाँहरूलाई हामीले के गर्नसक्छौँ ? त्यो कसरी सम्भव छ ? र सरकार लगायतका सरोकारवालाहरूको कस्तो सहयोग चाहिन्छ भन्ने विषयमा कुरा गर्न चाहन्छु । सम्माननीय प्रधानमन्त्रीज्यू र वर्तमान सरकारको मुख्य एजेण्डा नै समृद्ध नेपाल, सुखी नेपाली हो । मुलुकमा समृद्धि आउनु भनेको सबैले अवसर पाउनु हो । त्यसका लागि पैसा, बुद्धि, विवेक र सीपको लगानी गर्नुपर्यो । त्यो भन्दा पनि पहिले पैसाको लगानी हुनु आवश्यक छ । जसले पछि उत्पादन गर्दा श्रम र सीपको माग गर्नेछ । पैसा लगानी गर्ने मुख्य दुई निकाय हुन्छन्, एउटा सरकार र दोस्रो निजी क्षेत्र । सरकारले लगानीका लागि पैसा मुख्यतया राजश्वबाट नै ल्याउने हो । राजश्व उद्यमी, व्यवसायी र सर्वसाधारणबाट उठ्छ । सर्वसाधारणको आम्दानीको मुख्य स्रोत पनि निजी क्षेत्र हो किनभने अधिकांश रोजगारी निजी क्षेत्रले नै सिर्जना गरेको हुन्छ ।’
अध्यक्ष ढकालले अहिले अवस्था असहज छ तर सुधार असम्भव नरहेको बताए । अर्थतन्त्र, विकास र समृद्धि राजनीतिक दलहरूको साझा धारणा बनाउन सक्नुपर्ने बताए । निजी क्षेत्रको उद्यम व्यवसाय र सर्वसाधारणको जीविकामा प्रतिकुल असर पर्ने काम राजनीतिक नेतृत्वबाट हुनु नहुने बताए । अब आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने बताए ।
