सभामुख घिमिरे स्वदेश फिर्ता


काठमाडौँ । अन्तरव्यवस्थापिका संघको १५० औँ वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी भई सभामुख देवराज घिमिरे स्वदेश फिर्ता भएका छन् ।
उज्वेकिस्तानको तास्केन्टमा सम्पन्न अन्तरव्यवस्थापिका संघको १५० औँ वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी सभामुख घिमिरेसहितको नेपाली प्रतिनिधि मण्डल बिहीबार अपराह्न नेपाल आइपुगेका हुन् ।
नेपाल अवतरण गर्दै सभामुख घिमिरेले उज्वेकिस्तान भ्रमण फलदायी दाबी गरे । उनले अन्तरव्यवस्थापिका संघको सभामा सामाजिक विकास र न्यायमा संसदको पहलका विषयमा गम्भीर रूपमा छलफल भएको बताए । उनले समसामयिक विश्व राजनीति, यसले पारिरहेको प्रभाव र सामाजिक असमानताका विषयमा विचार विमर्श भएको बताए ।
सभालाई सम्बोधन गर्दै आफूले नेपालले भोगिरहेका समस्या र समावेशिताको अभ्यासबारे विश्व जगतलाई जानकारी गराएको समेत बताए । उनले अन्तरव्यवस्थापिका संघको वार्षिक सभाले मध्यपूर्व भइरहेको युद्धलाई शान्तिपूर्ण ढंगबाट समाधान गर्नुपर्ने निष्कर्ष निकालेको समेत उल्लेख गरे ।
उनले भने ‘समसामयिक विश्व राजनीति, यसले पारिरहेको प्रभाव र समाजमा अहिले पनि भइरहेका असमानताका कुराहरूमा विचार विमर्श प्रशस्त भयो । र नेपालको तर्फबाट पनि जेनेरल डिबेटमा यो प्रतिनिधि मण्डलको तर्फबाट मैले आफ्नो मन्तव्य राखे । र त्यो मन्तव्यमा हामीले भोगिरहेका समस्याका अतिरिक्त हामीले समानताका लागि विधायीकी ठाउँमा राम्रो कामहरु गर्न एक हदसम्म सकेको र समावेशीका हिसाबले सबै धर्म जाताजातिहरुलाई समावेश गर्न सकेको अनुभवहरू हामीले राख्यौँ । अर्कातिर विभिन्न समितिलेहरुले छलफल गरेर ल्याएको निष्कर्षमा पनि खासगरि मध्यपूर्वमा उत्पन्न भइरहेका समस्याहरू, इजरायल र प्यालेस्टाइनको बिचमा भइरहेको युद्धलाई अन्त्य गर्नको लागि दुई राष्ट्रको मान्यता दिएर र त्यहाँको युद्धलाई शान्तिपूर्ण ढंगबाट समाधान गर्नुपर्छ भन्ने निष्कर्षमा पनि गहनका साथ छलफलहरू भए ।’
उनले एसिया प्रशान्तको क्षेत्रीय दिगो विकास समितिमा नेपालको तर्फबाट राष्ट्रिय सभा सदस्य अञ्जान शाक्य र स्वास्थ्यसँग सम्बन्धित समितिमा प्रतिनिधि सभा सदस्य सोविता गौतम निर्वाचित भएको जानकारी दिए । भ्रमणको क्रममा जलवायु परिवर्तनको कारण पारिरहेको असरहरूको बारेमा समेत अन्य राष्ट्रहरूलाई जानकारी र सचेत गराइएको उनले बताए ।
