भारतको सहयोगमा दुर्गा नेपाल सीमा नजिक ल्याइए : समिति

काठमाडौँ । भारतको आसाम राज्यको राजधानी गुवाहाटीबाट राजसंस्था पुनर्स्थापनाको अभियानमा सक्रिय दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले नेपालको सीमासम्म सुरक्षितरूपमा ल्याइपुर्‍याएको संयुक्त जनआन्दोलन परिचालन समितिले जनाएको छ ।

समितिका अनुसार, प्रसाईंले आफ्नो ज्यानको सुरक्षाको माग गर्दै भारतीय प्रहरीसँग सम्पर्क गरेका थिए । त्यसपछि भारतीय सुरक्षाकर्मीहरूले उनलाई सुरक्षित रूपमा नेपालको सीमासम्म ल्याइदिएको दाबी गरिएको छ । उक्त सहयोगप्रति समितिले आसाम प्रहरीले धन्यवाद समेत व्यक्त गरेको छ ।

संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रसाईं पक्राउ परेका वा आत्मसमर्पण गरेका होइनन् । उनी आफैंले ज्यानको सुरक्षा माग गर्दै प्रहरीकोमा पुगेका थिए ।’

विज्ञप्तिमा प्रसाईं क्यान्सरका बिरामी भएको र अदालतमा उपस्थित हुनुपर्ने म्यादसमेत रहेको उल्लेख गर्दै उनलाई अस्पताल र अदालतसम्म सुरक्षितरूपमा पुर्‍याउन सहयोग पुर्‍याउन राष्ट्रिय मानव अधिकार आयोग र सरकारसँग अपिल गरिएको छ ।

समितिले राज्यले तीनकुनेमा आयोजना गरिएको शान्तिपूर्ण कार्यक्रमपछि प्रसाईंलाई ‘लखेटेर’ देश छाड्न बाध्य बनाएको आरोप पनि लगाएको छ। हाल उनी नेपाल फर्कने क्रममा रहेकाले उनको सुरक्षाको गम्भीर चासो व्यक्त गर्दै समितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाहरू, सञ्चारकर्मीहरू, र नागरिक अगुवाहरूलाई प्रसाईंको सुरक्षामा सहयोग गर्न आह्वान गरेको छ ।

यस्तो छ विज्ञप्तिको पूर्ण पाठ:

दुर्गा प्रसाईंको ज्यानको सुरक्षाको लागि आह्वान

चैत्र २८, २०८१

राष्ट्र राष्ट्रियता धर्म संस्कृति बचाऔं महाअभियानका संयोजक दुर्गा प्रसाईंले भारतीय प्रहरी समक्ष आफ्नो ज्यानको सुरक्षा सहित नेपाल प्रवेश गर्न सहयोग गरिदिन अनुरोध गरेपछि इण्डियाको आसामको गुवाहाटीबाट नेपालको सीमासम्म ल्याईपुर्याउने कार्यमा भारतीय प्रहरीले सहयोग गरेकोमा राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त राष्ट्रिय जनआन्दोलन समिति धन्यबाद ज्ञापन गर्दछ।

उहाँले आत्मसमर्पण गर्नु भएको होइन, नेपालसम्म सुरक्षित पुर्याइदिन आफैँ अनुरोध गर्नु भएको हो । सरकारले काठमाडौंको तीनकुनेको शान्तिपूर्ण कार्यक्रमबाट आफै लखेटेर फरार रहेको बताइरहेको अवस्थामा नेपाल फर्कँदै गर्दा नेपाल प्रहरीले उहाँ नेपाल फर्कीरहेको आफूहरुलाई जानकारी नरहेको प्रतिक्रिया दिएको अवस्थामा उहाँको नेपाल प्रवेशसँगै ज्यान खतरामा रहेको र बेपत्ता समेत पारिन सक्ने स्थिति भएको हुँदा राष्ट्रिय अन्तराष्ट्रिय मानव अधिकारवादी संघ संस्था, सञ्चारकर्मी तथा नागरिक समाजका अगुवाहरुलाई उपस्थित भई उहाँको ज्यानको सुरक्षाको प्रत्याभूतिका लागि भूमिका निर्वाह गरिदिनु हुन हामी अपिल गर्दछौं ।

उहाँ क्यान्सरको बिरामी र अदालतको तारिकमा समेत रहेको हुँदा उहाँलाई सुरक्षित रुपमा अस्तालसम्म पुर्याउन र अदालतसम्म हाजिर हुनका लागि समेत सहयोग गर्न हामी राष्ट्रिय मानव अधिकार आयोग र सरकार समक्ष समेत अनुरोध गर्दछौं ।

स्वागत नेपाल
प्रवक्ता,
संयुक्त जनआन्दोलन परिचालन समिति

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *