प्रहरी प्रवक्ताको दाबी- दुर्गा प्रसाईँ पक्राउ परेका छैनन्, कहाँ छन् भन्ने पनि जानकारी छैन


काठमाडौं । राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं भारतमा पक्राउ गरिएको भन्नेबारे सूचना नभएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यकाअनुसार प्रसाईं अहिलेसम्म (बिहान साढे ७ बजे) पक्राउ परेका छैनन् ।
उनी कहाँ छन् भनेर प्रहरीलाई आधिकारिक जानकारी समेत नभएको उनले बताए । ‘विभिन्न माध्यमहरूमा आएका समाचार सूचना नियाली रहेका छौं । तर अहिलेसम्म प्रहरीलाई उनलाई (दुर्गा प्रसाईं) पक्राउ गरेका छैन,’ प्रहरी प्रवक्ता आचार्यले भने, ‘उनी कहाँ छन् भन्ने जानकारी छैन । हामी खोजीरहेका छौं । उनी प्रहरीको खोजीको सूचीमै छन् ।’
भारतमा आत्मसमर्पण गरेको भनिन्छ नि ! भन्ने प्रश्नमा उनले, ‘ नेपाल र भारतबीचमा सुपुर्दगी सन्धि नभएकाले एकअर्काको देशमा पक्राउ परेका आरोपितहरूलाई अनौपचारिक रूपमा लेनदेन गर्ने अभ्यास छ । अर्को देशमा पक्राउ परेमा त्यहाँको प्रहरीले सीमाक्षेत्रमा ल्याएर छोड्ने र लगत्तै सम्बन्धित देशको प्रहरीले जिम्मा लिएर गन्तव्यमा पुर्याउने अभ्यास छ । तर त्यो जानकारी हामीलाई आइसकेको छैन ।’
यसअघि बिहीबार राति विज्ञप्ति जारी गर्दै प्रहरीले ‘दुर्गा प्रसाईँ पक्राउ’ भन्ने शीर्षकमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएकामा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।
प्रहरी प्रवक्ता आचार्यले भनेका छन्, ‘विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाईं नेपाल प्रहरीको खोजीको सूचीमा रहेको जानकारी गराउँदै हालसम्म पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन/प्रशारण नगरिदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौं ।’
