बौद्धमा तेमाल जात्राको रौनक : बत्तीको उज्यालोमा पितृको सम्झना (तस्बिरहरु)


काठमाडौं । तामाङ समुदायको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व तेमाल जात्रा आज शुक्रबारदेखि सुरु भएको छ । चैत्र शुक्ल चतुर्दशीका दिन प्रारम्भ हुने यो जात्रा दिवङ्गत पितृहरूको चीरशान्तिका लागि श्रद्धा र भक्ति भावले मनाइन्छ ।
बौद्ध महास्तुप क्षेत्रलाई केन्द्रमा राखेर मनाइने यो जात्रामा मकवानपुर, ललितपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र काठमाडौं उपत्यकाका तामाङ श्रद्धालुहरू ठूलो संख्यामा सहभागी हुन्छन् । जात्राका अवसरमा भक्तजनहरूले दिवङ्गत पितृको सम्झनामा ‘छ्योमी’ कबत्ती बाल्ने, लामा गुरुहरूबाट पूजापाठ तथा ‘ङोपा-मोन्लम’ जस्ता धार्मिक विधिहरू गर्ने परम्परा छ ।
विशेष धार्मिक अनुशासनअनुसार, चतुर्दशीको रातभर बत्ती बालेर जाग्राम बसेका श्रद्धालुहरू पूर्णिमाको बिहान बालाजुस्थित बाइसधारामा स्नान गर्छन् । स्नानपछि स्वयम्भू महाचैत्यमा पूजा गरी जात्राको समापन गरिन्छ ।
एक पुरानो किम्बदन्ती अनुसार, तेमालका अन्तिम राजा रिन्जन दोर्जे बलले बौद्ध स्तुपको पुनर्निर्माण सम्पन्न गराएपछि यो जात्रालाई राजकीय चाडको मान्यता दिएका थिए । आजको दिनसम्म पनि उक्त ऐतिहासिक योगदानको स्मरणमा तेमाल जात्राको गरिमा झन् बढ्दै गएको छ ।
