दाउन्ने सडक हिलाम्य भएपछि १६ घण्टादेखि सवारी ठप्प, यात्रुहरू अलपत्र


काठमाडाैं । नवलपरासीको दाउन्ने क्षेत्रमा पर्ने पूर्व पश्चिम राजमार्गको एक खण्डमा सवारी साधन हिलोमा फसेपछि यातायात १६ घण्टादेखि ठप्प छ । दाउन्नेको विश्वकर्मा मन्दिर नजिकको सडक हिलोले भरिएपछि गाडीहरू अड्किएर बाटो बन्द भएको हो ।
इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक राजनप्रसाद तिमिल्सिनाका अनुसार, गाडीहरू हिलोमा चिप्लिएर अड्किएका छन् र निकाल्ने प्रयास जारी छ । उनी भन्छन्, ‘हामी यहीँ सडकमै छौं, ग्राभेल र बालुवा हालेर गाडी चलाउने प्रयास गर्दैछौं, तर सजिलो छैन ।’
समस्या भनेको केवल वर्षाले हैन, निर्माण जिम्मा पाएको चिनियाँ कम्पनी ‘चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन’ले समयमा ग्राभेल नहालेको कारणले पनि हो । करिब १४ किलोमिटर लामो दाउन्ने खण्डमा चार वर्षअघि पिच हटाइएको थियो, तर त्यसयता न ग्राभेल हालियो, न राम्रो मर्मत नै भयो ।
सडक सुक्खा हुँदा यात्रुहरू धुलोको सास्ती खेप्न बाध्य छन् भने सामान्य झरी परेपछि त्यो धुलो हिलोमा परिणत भएर सडक नै चल्न नसक्ने बनाउँछ । बिहीबार परेको सामान्य झरीपछि यही भयो- गाडीहरू फसे, मानिसहरू बाटोमै रोकिए, केही यात्रुहरूले पैदल यात्रा गर्न थाले ।
जिल्ला प्रहरी प्रमुख यादव ढकालका अनुसार, सडक खुलाउन तीन दर्जनभन्दा बढी प्रहरी परिचालन गरिएको छ । ठेकेदार कम्पनीलाई पनि तत्काल मर्मत गर्न भनिएको छ ।
