निषेधित क्षेत्र तोडेर फरार दुर्गा प्रसाईं अन्ततः औपचारिक रूपमा पक्राउ, काठमाडौंमा सार्वजनिक गरिने


काठमाडौं । राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं फरार भएको १३ दिनपछि पक्राउ परेका छन् । नेपाल प्रहरीले झापाको भद्रपुर क्षेत्रबाट उनलाई औपचारिक रूपमा आफ्नो नियन्त्रणमा लिएको हो ।
यसअघि प्रसाईंको सचिवालयले उनले बिहीबार आसाम प्रहरी समक्ष आत्ममसर्पण गरेको बताएको थियो । तर नेपाल प्रहरी पक्राउ वा आत्ममसर्पणको बारेमा केही बोलेन । नेपाल र भारतबीचमा सुपुर्दगी सन्धि नभएकाले एकअर्काको देशमा पक्राउ परेका आरोपितहरुलाई अनौपचारिक रूपमा लेनदेन गर्ने अभ्यास रहँदै आएको छ । सोहीअनुरुप प्रसाईंलाई काँकडभिट्टा नाकासम्म भारतीय सुरक्षा निकायले छोडेर र नेपाली भू भागबाट प्रहरीले नियन्त्रणामा लिएको हो ।
प्रहरीको केन्द्रिय विशेष ब्युरोबाट खटिएको टोलीले उनलाई झापाबाट नियन्त्रणमा लिएर चन्द्रगढी विमानस्थलमार्फत काठमाडौं ल्याउने तयारी छ । प्रहरी स्रोतका अनुसार, प्रसाईंलाई आजै काठमाडौं ल्याएर सार्वजनिक गरिने योजना छ । उनीसँगै थप अनुसन्धानका लागि आवश्यक कागजात र प्रमाणहरू समेत संकलन भइरहेको बताइएको छ।
गत चैत्र १५ गते राजधानीमा राजावादी समर्थकहरूले आयोजना गरेको प्रदर्शनको क्रममा दुर्गा प्रसाईंले निषेधित क्षेत्र तोड्दै सरकारी आदेशको अवज्ञा गर्दै गाडी चलाएका थिए । आन्दोलनको सो क्रममा झडपका कारण दुई जनाको ज्यान गएको थियो भने थुप्रै घाइते भएका थिए । आन्दोलनपछिको प्रहरीले गरेको अनुसन्धानमा प्रसाईंको नाम समेत संलग्न देखिएको थियो ।
त्यसयता उनी फरार थिए । अब उनका अभिव्यक्ति र गतिविधि विवादास्पद बन्दै गइरहेका बेला उनीमाथि कानुनी कारवाहीको प्रक्रिया अघि बढाइएको हो ।
उनलाई काठमाडौं ल्याएर सरकारी वकिलको कार्यालयमा पेश गरिने र त्यसपछि अदालतबाट म्याद लिएर थप अनुसन्धान अघि बढाइने योजना बनाइएको स्रोतले जनाएको छ ।
