दुर्गा प्रसाईंलाई बुद्ध एयरको जहाजबाट काठमाडौँ ल्याइँदै


काठमाडौँ । भारत आसाममा पक्राउ परेका दुर्गा प्रसाईंलाई बुद्ध एयरको विमानबाट काठमाडौँ ल्याइँदै छ ।
उनलाई झापाको भद्रपुरस्थित बुद्ध एयरको विमानबाट काठमाडौँ ल्याउन लागिएको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यका अनुसार प्रसाईंलाई आज बिहानै काँकडभिट्टा नाकाबाट नेपाल ल्याई हतकडीसहित भद्रपुरको विमानस्थल पुर्याइएको हो ।
उनीसँगै उनका अंगरक्षक दीपक खड्कालाई पनि प्रहरीले नियन्त्रणमा लिइएको छ ।
तीनकुनेस्थित आन्दोलनलाई उत्तेजनात्मक ढंगले अगाडि बढाउँदै फरार रहेका प्रसाईँ हिजो भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा परेका थिए ।
भारतीय राज्य आसामको प्रहरीद्वारा नेपाल प्रहरीसँगको समन्वयमा पक्राउ परेका उनी शुक्रबार नेपाल–भारत सीमाबाट नेपाल प्रहरीलाई बुझाइएको हो ।
काठमाडौं ल्याइएपछि प्रहरीको अनुसन्धान प्रक्रिया अगाडि बढाइनेछ भने म्याद थपको कानुनी प्रक्रिया पनि सुरु गरिने जनाइएको छ ।
