नेपाली श्रम बजारमा विदेशीहरू रोजगारीका निम्ति आउने परिस्थिति निर्माण गर्ने मिसनमा छौँ : अर्थमन्त्री पौडेल


काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली श्रम बजारमा विदेशीहरू रोजगारीका निम्ति आउने परिस्थिति निर्माण गर्ने बताएका छन् ।
शुक्रवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३० र ३१ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।
उनले देशभित्र रोजगारीका अवसरहरू सिर्जना गर्ने र देशका नागरिकहरूलाई खुशीसाथ स्वदेशमै राख्ने वातावरण निर्माण गर्न सरकार लागिरहेको बताए ।
उनले अहिले नेपालीहरू अन्तर्राष्ट्रिय श्रम बजारमा रोजगारीका लागि जाने गरेको भन्दै नेपाली श्रम बजारमा विदेशीहरूले रोजगारीका निम्ति आउने परिस्थिति निर्माण गर्ने मिसनमा अघि बढिरहेको बताए ।
अर्थमन्त्री पौडेलले अन्तर्राष्ट्रिय श्रम बजारमा पुगेका नेपालीहरू फुर्ति र सीप लिएर फर्किरहेको बताए । आफ्नो पुँजी र सीपलाई सदुपयोग गरेर राष्ट्र निर्माणमा योगदान गरिरहेको बताए ।
उपप्रधानमन्त्री पौडेलले भने, ‘बजेट निर्माणको पूर्व सन्ध्यामा रहेको अर्थमन्त्रीले म यो गर्छु, त्यो गर्छु भनेर बोल्नु त्यत्ति राम्रो हुँदैन । यसकारणले जे बोल्नुहुन्छ, श्रममन्त्रीले बोल्नुहुन्छ । वैदेशिक श्रकलाई मर्यादिन बनाउन चाहनुभएको छ । वैदेशिक रोजगार व्यवसायमा संलग्न संस्था र व्यक्तिहरूलाई मर्यादित बनाउन चाहिरहनुभएको छ । यहाँहरूको प्रयासमा सरकार सधैँ साथमा रहनेछ । हामी देशभित्र रोजगारीका अवसरहरू सिर्जना गर्ने र देशका नागरिकहरू मात्रै होइन, अन्तर्राष्ट्रिय श्रम बजारबाट हाम्रो श्रम बजारमा विदेशीहरूले रोजगारीका निम्ति आउने परिस्थिति निर्माण गर्ने हाम्रो मिसन छ ।’
उपप्रधानमन्त्री पौडेलले आज नेपालीहरू अन्तर्राष्ट्रिय श्रम बजारमा जाने अवस्था रहेको भन्दै सम्मानित र सुरक्षित ढंगले श्रम बजारमा उपस्थिति जनाउनसक्ने, आर्थिक उपार्जन गर्न सक्ने र सुरक्षित ढंगले आफ्नो देश फर्किनसक्ने परिस्थिति निर्माण गर्न सक्नुपर्ने बताए ।
