जैविक मल उत्पादन गर्दै ठोट्नेखोला सामुदायिक वन

गण्डकी । सामुदायिक वन समूहले काठको विकल्पका रूपमा अन्य वन पैदावारबाट रोजगार सिर्जनासँगै आयआर्जन गर्न सुरु गरेका छन् ।

वनभित्र थुप्रिएका ज्वलनशील पदार्थको उपयोग गर्दै वन समूह रोजगारीसँगै जैविक मल उत्पादनमा जुटेका हुन् ।

पोखरा महानगरपालिका–१८ सराङकोटस्थित ठोट्नेखोला सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रमा थुप्रिएको घाँस, पातपतिङ्गर र झाडीलाई सङ्कलन गरेर जैविक मल उद्यम सञ्चालन गरेको छ ।

वनमा कुहिएर, जलेर नष्ट हुने स्याउला सोत्तरबाट उत्पादित प्राङ्गारिक मल बजारमा बिक्री गर्ने लक्ष्यका साथ सुरु गरिएको मल उद्यमले रोजगारी सिर्जना गर्नुका साथै ’दिनेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार चैतको पहिलो सातादेखि सुरु गरिएको उक्त अभियानअन्तर्गत हालसम्म वन क्षेत्रको छुट्टाछुट्टै दुई स्थानमा गरी ५० हजार किलो कच्चापदार्थ सङ्कलन भएको छ ।

वन पैदावार सङ्कलन कार्यमा दैनिक २० जना श्रमिकले रोजगार प्राप्त गर्दै आएका उनले बताए ।

‘उपभोक्ताले सङ्कलन गरेको हरियो स्याउला, भुइँझारलाई सुरुमा प्रतिकिलो दुईका दरले खरिद गरिन्थ्यो । अहिले सुकेको पाँच र हरियो पातपतिङ्गरको तीनमा प्रतिकिलो खरिद गरिँदै आएका छौँ । उत्पादित मल बजारमा सुरुमा प्रतिकिलो २५ मा बिक्री दर कायम गरिएको छ, उनले भने, ‘जैविक मल उत्पादनका लागि अहिलेसम्म समूहको दुई लाखभन्दा बढी नगद लगानी भइसकेको छ ।’

वनजङ्लबाट सङ्लन गरिएको स्याउला तथा घाँसपात जम्मा गरेपछि आधुनिक मेसिनद्वारा काटेर सानो आकारको बनाएसँगै जैविक मल उत्पादन गर्न ९० दिन लाग्ने बताउँदै उत्पादन प्रक्रिया पूर्णरूपमा व्यवस्थित र वातावरणमैत्री रहने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

अँधेरीकुनाबाट सुरु गरिएको सङ्कलन कार्य विस्तार गर्दै अहिले देउराली क्षेत्रमा पुगेको बताउँदै उनले भने, ‘डिभिजन वन कार्यालय कास्कीबाट ज्वलनशील पदार्थ व्यवस्थापन शीर्षकमा १० हजार सहयोग प्राप्त भएको छ । समूहले नवलपुर जिल्लाको विनय त्रिवेणी गाउँपालिकास्थित विनयी सामुदायिक वन समूहले उत्पादन गरेको जैविक मल उद्यमको स्थलगत अध्ययन पश्चात् मल उत्पादन कार्यलाई अघि बढाएको हो ।’

अँधेरीकुनामा सङ्कलित वन पैदावार जोख्न विद्युतीय तुलोको प्रयोग गरिएको छ । पातपतिङ्गर जोख्दै व्यक्तिगत रिपोर्ट बनाउन व्यस्त भइरहेको अवस्थामा भेटिएकी समूहकी सदस्य विष्णु कुमालका अनुसार दिनभरि काम गर्नेले एक हजार पाँच सयसम्म र फुर्सदको समयमा आउने गृहणीले पाँच सय आयआर्जन गर्दै आएका छन् । समूहले गँड्यौलाबाट पनि मल उत्पादन गर्ने योजना बनाएको उनको भनाइ छ ।

जिल्लास्थित डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेका अनुसार ठोट्नेखोला सामुदायिक वन समूह जस्तै कार्य गर्न मुलुकका सम्पूर्ण वन समूहले अनुसरण गर्नुपर्नेमा जोड दिँदै यस कार्यबाट मुलुकमा प्रत्येक वर्ष बढ्दै गएको वन डढेलो न्यूनीकरणमासमेत महत्त्वपूर्ण सहयोग पुग्ने बताए ।

दाउरोको प्रयोग कम हुनु, वस्तु भाउ पाल्नेको सङ्ख्यामा कमी आउनुलगायत कारणले वन क्षेत्रमा थुप्रिएको ज्वलनशील पदार्थमा आगो लागेर वन डढेलो बढेको बताउँदै उनले त्यसका लागि वन समूहलाई जैविक मल उत्पादनमा प्रेरित गर्नुपर्ने आवश्यकता औँल्याए ।

यस्ता गतिविधिले मानव–वन्यजन्तु द्वन्दलाईसमेत केही हदसम्म कम गर्ने उनको भनाइ छ । जैविक मल प्रयोगबाट माटोको उर्वराशक्ति बढ्नुका साथै विदेशबाट प्रत्येक वर्ष आयात गरिने खर्बाैं रुपैयाँका रासायनिक मल लाईसमेत विस्थापित गर्दै प्राकृतिक स्रोतलाई स्थानीयको आयआर्जनसँगै मुलुकको समृद्धिसँग जोड्नेतर्फ सबै सरोकार भएकाको ध्यान जानुपर्नेमा काफ्लेले जोड दिए ।

गण्डकी प्रदेश नवलपुर जिल्लास्थित विनय त्रिवेणी गाउँपालिकाको विनयी सामुदायिक वन समूहले विगतदेखि जैविक मल उत्पादन गर्दै आएको छ ।

पछिल्लो समय गाउँपालिकाले अपनत्व लिएको सो उद्योगमा ८० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् ।

वन समूहको अधिकारका लागि पैरवी गर्दै आएको छाता सङ्गठन सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले विभिन्न दातृराष्ट्रको सहयोगमा सञ्चालित परियोजनाहरू यस्ता उद्यमसँग जोडिनुपर्ने यस क्षेत्रसँग सम्बन्धित विज्ञको धारणा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *