सामुदायिक वनमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो, श्रीमान कोरियामा


काठमाडौँ । धरानको सामुदायिक वनमा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ ।
गत सोमबार धरान उपमहानगरपालिका–६ पाँचकन्या सामुदायिक वनमा एक महिलाको शव फेला परेको थियो ।
तत्काल पहिचान नखुलेको उनको बिहीबार मात्र पहिचान खुल्यो ।
सुनसरी प्रहरीका अनुसार उक्त महिला इटहरी उपमहानगरपालिका–२, हलगडामा बसोबास गर्दै आएकी ३४ वर्षीया चुनकुमारी दाहाल (बुढाथोकी) रहेकी छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार इटहरी घर भएकी ती महिलाको माइती धनकुटाको महालक्ष्मी नगरपालिका–१ मा रहेको खुलेको छ ।
उनका श्रीमान प्रेम बुढाथोकी वैदेशिक रोजगारीको क्रममा कोरियामा छन् ।
शव धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा रहेको प्रहरीले जानकारी दिएको छ । साथै पोस्टमार्टमको प्रक्रिया अघि बढाइएको छ । चुनकुमारीका भाइ लीलबहादुर दाहालले शवको सनाखत गरेका हुन् ।
चुनकुमारीको घाँटी कसेर हत्या गरेपछि लसुनेको रुखमुनि अडेसा लगाएर शव छाडेजस्तो देखिने प्रहरीको भनाइ छ ।
हाल यस घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
