अर्थतन्त्र बलियो बनाउन वार्षिक ५० लाख चिनियाँ पर्यटक भित्र्याउनेतर्फ लागौँ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले विश्वको स्थायित्व र राजनीतिक स्थिरताका लागि चीनको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित ‘नेपाल–चीन इकोनोमिक एण्ड बिजनेस समिट–२०२५’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले विश्वमा देखिएको राजनीतिक घटनाक्रमले राजनीतिक अर्डर नै फेरबदल हुनसक्ने अवस्था सिर्जना भएकाले चीनले सबैभन्दा बढी नजिकबाट नियालिरहेको बताए ।

उनले नेपालको कमजोर अर्थ प्रणालीलाई बलियो बनाउन चीनसँग पर्यटन आदानप्रदान गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए ।

वार्षिक ५० लाख चिनियाँ पर्यटक नेपाल भित्र्याउने वातावरण निर्माण गर्नसके छोटो समयमा नेपालको अर्थतन्त्र बलियो भई जिडिपीमा ठूलो परिवर्तन हुने उनको भनाइ छ ।

उनले नेपालमा भएका विभिन्न उत्पादनमार्फत लाभ लिएर अगाडि बढ्नुपर्ने बताए । उनले उत्पादनमुखी भएर आफ्नो अर्थतन्त्र बलियो बनाउने क्षमता नभइ दाताहरूको सहयोगले मात्रै केही गर्न नसकिने बताए ।

नयाँ परिवेशबाट गुज्रिरहेको विश्व परिवेशबाट नेपालमा पर्न सक्ने आर्थिक तथा राजनीतिक प्रभावबारे गम्भीरतापूर्वक सोच्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘नेपालको अहिलेको पछौटे स्थितिलाई अगाडि बढाउनका लागि हामीले उत्पादनमा केन्द्रित हुनुपर्छ । हाम्रा आफ्नै उत्पादनका क्षेत्र के हुन सक्छन् त्यसको छनोट गर्नुपर्छ र हाम्रो आर्थिक स्थितिलाई परिवर्तन गर्ने गरी लाग्नुपर्छ । त्यसको एउटा ठूलो सम्भावना टुरिजम होला । मान्नोस् चीन र नेपालमा वर्ष दिनमा ५० लाख मानिस आदानप्रदान गर्ने स्थिति बन्यो, चीनका ५० लाख पर्यटक नेपाल आउने स्थिति बन्यो भने र यो लगातार १० वर्ष यस्तो अवस्था बन्यो भने नेपालको जिडिपीमा ठूलो परिवर्तन आउँछ, नेपालको परक्यापिटा इन्कममा १० देखि १२ हजार डलर पुग्छ । हामी स्पेसिफिक भएर नेपालको विकास कसरी हुन सक्छ ? हामीसँग के उत्पादन छ र कसरी बेच्ने कसरी नेपाललाई लाभ हुन्छ यसतर्फ सोच्नु पर्ने छ । हामीसँग उत्पादन नभएसम्म हाम्रो अर्थतन्त्र हामीले नै निर्माण गर्ने अवस्था नभएसम्म दाताहरूले पनि केही गर्न सक्दैनन् । मित्रले सहयोग गर्दा पनि हामीसँग लिने क्षमता हुनुपर्छ, हाम्रो अहिलेको स्थिति दाताले दिँदा पनि लिन सक्ने क्षमता छैन । विश्वको परिस्थिति नै नयाँ ढंगले चेन्ज हुन्छ कि भन्ने ढंगले विश्व गुज्रिरहेको छ । त्यसको प्रभाव नेपालमा कस्तो पर्छ भन्ने हिसाबले हामीले पनि हेरिरहेका छौँ र यो विश्व घटनालाई चीनले सबै भन्दा नजिकबाट अध्ययन गरिरहेको छ र विश्वको ग्लोबल अर्डरमा नयाँ किसिमको फेरबदल आउने सक्ने पनि देखिन्छ । यस्तो अवस्थामा चीनको भूमिका नेपाल तथा एशिया र सिङ्गो विश्वको स्थायित्व र स्थिरताका लागि पनि महत्वपूर्ण हुन्छ भन्ने मैले ठान्दछु ।’

उपाध्यक्ष पाण्डेले नेपालको आर्थिकलगायत विभिन्न क्षेत्रको विकासमा चीनको महत्वपूर्ण भुमिका रहेको बताए । उनले नेपाल सधैँ एक चीन नीतिमा अडिग रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *