पदमार्गले जोडियो प्रसिद्ध जलजला र माटे

पर्वत । जिल्लाको सबैभन्दा उच्च स्थानमा अवस्थित प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल जलजलादेखि माटेको लेक पुग्ने पदमार्ग निर्माण सम्पन्न भएको छ ।
विश्वकै दश उत्कृष्ट पदमार्गमा सूचीकृत अन्नपूर्ण चक्रीय पदमार्गको वैकल्पिक गन्तव्यका रूपमा विकास भएको ताङ्ले–भमरकोट–डाँडाकमेरे–माटे–जलजला–मोहोरेडाँडा–कोखेडाँडा–घोडेपानी जोड्ने पदमार्गअन्तर्गत माटेको लेकबाट जलजलासम्मको पदमार्ग निर्माणले पूर्णता पाएको हो ।
गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा यस वर्ष झन्डै दुई किलोमिटर लामो पदमार्ग निर्माण गरिएको छ ।
पर्वत–भमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष मनबहादुर खड्काका अनुसार ३० लाखको लागतमा उक्त पदमार्ग निर्माण गरिएको हो ।
गत मङ्सिरदेखि सुरु भएको पदमार्ग निर्माण कार्य यसै साता सकिएको उनले बताए ।
कास्कीको नयाँ पुलबाट पर्वतको मोदी गाउँपालिकाको ताङ्ले–भमरकोट–डाँडाकमेरे–माटे–जलजला–मोहोरेडाँडा–घोडेपानी जोड्ने पदमार्गअन्तर्गत माटेको लेकसम्म १६ किलोमिटर लामो पदमार्ग यसअघि नै निर्माण भइसकेको थियो ।
बाँकी रहेको क्षेत्रमध्ये यस वर्ष दुई किलोमिटर पदमार्ग निर्माण भएपछि अब जलजलासम्म नै सहज रूपमा पर्यटक यात्रा गर्न सक्ने पर्यटन व्यवसायी टीका पुनले जानकारी दिए ।
योसँगै थप एक किलोमिटर पदमार्ग निर्माण गर्न सकेमा म्याग्दीको पर्यटकीय स्थल मोहोरेडाँडासम्म जोड्न सकिने उनको भनाइ छ ।
नयाँ पुलदेखि पर्वतको मोदी र जलजला गाउँपालिका हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीय स्थल घोडेपानी जोड्ने नयाँ पदमार्ग तयार भएपछि पछिल्लो समय पर्यटकको आकर्षण बढ्दै गएको छ ।
माटेको लेकबाट जलजलासम्म पदमार्ग नहुँदा पर्यटक घाँसेभिर र झाडीको बाटो पार गर्दै कष्टपूर्ण यात्रा गर्न बाध्य भएकामा अहिले सहज रूपमा यात्रा गर्न थालेको पर्यटन व्यवसायी पुनले बताए ।
पदमार्ग सहज भएसँगै अहिले हम्पाल र जलजला क्षेत्रमा लालीगुँरास हेर्न र टिप्न जानेको घुइँचो लागेको छ । जलजलामै होटल सञ्चालन गर्दै आएका पुनले दैनिक जसो होटल बुकिङ हुन थालेको बताए ।
हम्पाल र जलजला क्षेत्रमा विभिन्न रङका १२ थरी लालीगुँरास पाइने गर्छन् । फागुनदेखि जेठसम्म लालीगुँरास रहने भएकाले यो सिजनमा यहाँ पर्यटकको सहभागिता उल्लेख्य मात्रामा बढेको पुनले बताए ।
पदमार्ग सहज भएपछि आन्तरिक मात्र नभएर विदेशी पर्यटकको उल्लेख्य सहभागिता हुने गरेको छ ।
विगत १३ वर्षअघि पहिचान भएको नयाँ पुल–मोहरिया–ताङले–भमरकोट–फलाटे–डाँडाकेटेरी–थामाको डिल–हम्पाल–जलजला–कोखेडाँडा–मोहरेडाँडा–फूलबारी–पुनहिल हुँदै घोडेपानी जोड्ने पदमार्ग सञ्चालनमा आए पनि हम्पाल क्षेत्रमा व्यवस्थित पदमार्ग निर्माण कार्य बल्ल सुरु भएको होटल व्यवसायी पुनले जानकारी दिए ।
पदमार्ग निर्माण भएपछि राति वा दिउँसो जुनसुकै समयमा पनि पदयात्रा गर्न सहज हुने उनले बताए ।
जलजला गाउँपालिका र मोदी गाउँपालिकाको सहयोगमा गत मङ्सिरमा जलजला र वाइफाइडाँडासम्म विद्युत् सुविधासमेत विस्तार गरिसकिएको छ ।
अब पदमार्गमा पनि रातिको समयमा हिँडडुल गर्न मिल्नेगरी विद्युतीकरण गर्नुपर्ने आवश्यकता रहेको पुनले बताए ।
यो पदमार्गमा आश्रय स्थल र खानेबस्ने ठाउँको व्यवस्थापन भएपछि गत कात्तिकदेखि नियमित रूपमा सञ्चालनमा ल्याइएको हो ।
पुनले भने, ‘कल्चर, नेचर र एडभेन्चर यो पदमार्गको आकर्षण हो ।’ मनोरम हिमशृङ्खला, सुन्दर जङ्गल, हावापानी, सूर्योदय र सूर्यास्त दृश्यावलोकन गर्नुका साथै तनाव व्यवस्थापनका लागि यो पदमार्ग निकै आकर्षक मानिएको छ ।
वि.सं २०६८ मा स्थापना भएको संस्थामार्फत तत्कालीन जिल्ला विकास समिति, सङ्घीयतापछि गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारको गरी हालसम्म एक करोड ६० लाख सहयोगमा नयाँ पुलबाट पर्वतको सबैभन्दा उच्च स्थानमा रहेको माटेसम्मको १६ किलोमिटर पदमार्ग निर्माण भएको हो ।
ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको हो । साथै पदमार्गमा १० वटा विश्राम स्थल निर्माण गरिएका छन् ।
यो पदमार्गले पर्वतको मोदीका वडा नं १, २, ३ र ५, जलजलाका ५ र ६ तथा म्याग्दीको अन्नपूर्णका ६, ७ र ८ नं वडालाई समेटेको छ ।
हिमाल र पहाडी भूगोल अवलोकन गर्दै यात्रा गर्न सकिने यो पदमार्गमा पर्ने लौसीबोट, भुक र ताङ्ले तथा लेसपार्कमा घरबास (होमस्टे) सञ्चालन भएको छभने मगर, गुरुङ, दलित, क्षेत्री र ब्राह्मण समुदायको विविधतायुक्त संस्कार, संस्कृति, रहनसहन र जनजीवन यो पदमार्गको आकर्षण हो ।
दुई रात तीन दिनमा यात्रा गर्न सकिने यो पदमार्गमा पर्ने वनजङ्गलमा विभिन्न जडीबुटी, वन पैदावर पाइनुका साथै मृगलगायत वन्यजन्तुको बसोबास छ ।
गाई भैँसीका घुम्ती गोठ पनि देख्न सकिन्छ भने धवलागिरि र अन्नपूर्ण रेञ्जका हिमाल अवलोकन गर्दै यात्रा गर्न पाइन्छ ।
पदमार्गमा पर्ने पर्वतको फलाटे, हम्पालस्थित वाइफाइडाँडा र जलजलामा चिया पसल तथा रेष्टुरेन्ट र सामुदायिक लज सञ्चालन भएका छन् ।
पूर्व जानकारी दिई आउने पर्यटकलाई पर्वत–भुमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिले घुमाउने व्यवस्था मिलाउँदै आएको छ ।