२४५ रन पनि पर्याप्त भएन, पञ्जावमाथि हैदरावादको सानदार जित

काठमाडौं । अभिषेक शर्माको ऐतिहासिक शतकसँगै सनराइजर्स हैदरावादले शनिबारको आईपीएल खेलमा पञ्जाब किङ्समाथि ८ विकेटको सानदार जित दर्ता गरेको छ। २४६ रनको विशाल लक्ष्य पछ्याउँदै मैदान उत्रिएको हैदरावादका लागि अभिषेकले ५५ बलमा विस्फोटक १४१ रन बनाए। उनले १४ चौका र १० छक्का प्रहार गरे।

ट्रेभिस हेडसँग मिलेर उनले पहिलो विकेटका लागि १७१ रनको ठोस साझेदारी गरे, जुन आईपीएलमा कुनै पनि विकेटका लागि दोस्रो ठूलो साझेदारी हो। हेडले ३७ बलमा ६६ रन बनाउँदै टोलीको जितको आधार तयार गरे।

यो शतक अभिषेकको आईपीएल करियरको पहिलो हो, र आईपीएल इतिहासमै तेस्रो ठूलो व्यक्तिगत स्कोरको रुपमा दरिएको छ। यसअघि क्रिस गेलले २०१३ मा १७५* रन र ब्रेन्डन म्याककुलुमले २००८ मा १५८* रन बनाएका थिए।

खेलमा अभिषेक भाग्यमानी पनि देखिए। उनले दुईपटक जीवनदान पाए—२८ रन हुँदा नोबलको कारण आउट हुनबाट जोगिए भने, ५७ रनमा युजभेन्द्र चावलले क्याच छोडे। शतक पूरा गरेपछि उनले जर्सीको बगलीबाट “This one is for the Orange Army” लेखिएको कागज निकालेर उत्सव मनाए। उनको प्रदर्शनका लागि उनलाई प्लेयर अफ द म्याच घोषित गरियो।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाब किङ्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २४५ रन बनाएको थियो। कप्तान श्रेयास ऐयारले ३६ बलमा विस्फोटक ८२ रन बनाए, जसमा ६ चौका र ६ छक्का सामेल थिए। प्रभसिमरन सिंहले ४२ रन, प्रियांश आर्यले १३ बलमा ३६ रन, र मार्कोस स्टोनिसले ११ बलमा ३४ रन जोड्दै टोलीलाई विशाल स्कोरमा पुर्याए।

हैदरावादका लागि मोहम्मद सामीले चार विकेट लिए तापनि चार ओभरमा ७५ रन खर्चिए। आईपीएल इतिहासमा यो दोस्रो सबैभन्दा महँगो बलिङ प्रदर्शन हो।

लगातार चार हारपछि जित दर्ता गरेको हैदरावाद ४ अंकसहित आठौँ स्थानमा उक्लिएको छ भने पञ्जाब ६ अंकका साथ छैटौँ स्थानमा झरेको छ।

शनिबारको अर्को खेलमा लखनउ सुपर जाइन्ट्सले गुजरात टाइटान्सलाई पराजित गर्दै तालिकामा तेस्रो स्थानमा पुगेको छ। दिल्ली क्यापिटल्स भने अहिलेसम्म शतप्रतिशत जितसहित शीर्ष स्थानमा कायम छ। गुजरात दोस्रो, लखनउ तेस्रो, कोलकत्ता चौथो र रोयल च्यालेन्जर्स बंगलोर पाँचौँ स्थानमा छन्। छैटौँ स्थानमा पञ्जाब छ, र यी सबै टोलीको अंक संख्या ६ रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *