उच्च पदस्थ नियुक्तिमा कुलिङ पिरियड आवश्यक : डा. शेखर कोइराला


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोईरालाले उच्च पदस्थ नियुक्तिमा दुई वर्षको कुलिङ पिरियड आवश्यक रहेकोमा जोड् दिएका छन् । उनले सरकारी कर्मचारीहरूलाई संवैधानिक निकाय, राजदूत वा अन्य महत्वपूर्ण पदमा नियुक्ति गर्नुअघि कम्तीमा दुई वर्षको ‘कुलिङ पिरियड’ अनिवार्य गर्नुपर्ने सुझाव दिएका हुन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. कोईरालाले यस्तो प्रावधानले पारदर्शिता कायम राख्न र हितसंघर्ष (कन्फ्लिक्ट अफ ईन्ट्रेस्ट)कम गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनका अनुसार, यस किसिमको व्यवस्था लागू भएमा सेवाबाट हालसालै अवकाश लिएका कर्मचारीले पुरानो प्रभाव प्रयोग गरी स्वार्थअनुकूल निर्णय लिन सक्ने जोखिम कम हुनेछ ।
उनले उल्ले गरेका छन्, ‘उच्च पदस्थ सरकारी कर्मचारीहरूलाई संवैधानिक निकाय, राजदूत वा अन्य पदमा नियुक्ति गर्दा कम्तीमा दुई वर्षको कुलिङ समय राख्नु पर्दछ । यसले पारदर्शिता बढाउने र कन्फिल्क्ट अफ ईन्ट्रेष्टलाई कम गर्न मद्दत गर्दछ ।’
विगत केही वर्षयता सेवाबाट निवृत्त भएसँगै तत्कालै विभिन्न महत्वपूर्ण पदहरूमा नियुक्ति पाउने क्रम बढ्दो छ । यसले सत्ता समीकरण र निकटता आधारित निर्णयहरूको आशंका जन्माउँदै आएको छ । डा. कोइरालाको यो विचारले शुद्ध प्रशासनिक प्रणालीको माग गरिरहेका आवाजलाई थप बल दिएको देखिन्छ ।
